पछिल्लो समय बलिउड कलाकार नेपालमा आउनेक्रम बढ्दो छ । केही साता अघिमात्र बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो । यति बेला बलिउड अभिनेता इरफान खान र अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएका छन् । यी दुई एक महिनापछि छायाङ्कन हुने चलचित्रको लागी नेपाल आउने भएका हुन् । यसअघि एकसाथ ‘पिकु’मा काम गरेका इरफान र दीपिकाको यो दोस्रो चलचित्र हो । चलचित्रलाई विशाल भारद्धाजले निर्देशन गर्दै छन् । यो चलचित्रको छायाङ्कन मार्च ५ बाट नेपालमा सुरु हुँदैछ । भारतको एक लिडिङ मिडियासँग चलचित्रका निर्माताले कुरा गर्दै मार्च ५ बाट नेपालमा छायाङ्कन हुने बताएका हुन्। चलचित्रलाई विशाल भारद्धाज पिक्चर्स, क्रियर्ज इन्टरटेन्मेन्ट र टी सिरिजले मिलेर बनाउन लागेका हुन् । अंडरवर्ल्ड डन रहिमा खान उर्फ सपना दिदीको जीवनीमा बन्न लागेको चलचित्रमा दीपिका मुख्य भूमिकामा देखिने छिन् ।