आज शुक्रवार सिनेमाघरमा तीन नेपाली चलचित्र ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ र बलिउडमा अनुष्का शर्माको ‘परी’ रिलिज भएको छ ।

मोटिभेसनल स्पिकर एवं सामाजिक अभियन्ता सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ब्लाइन्ड रक्स बेनिशा हमालले सृष्टिको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रमा अर्पण थापा, अनिल केशरी शाह, गौरी मल्ल लगायतको मुख्य भूमिका रहेको छ। चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने निकेश लिम्बुले निर्माण गरेका हुन् । बुधवार चलचित्रको प्रिमियर सो गरिएकोे थियो । जसमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

त्यस्तै यो साता बिपिन कार्की अभिनित चलचित्र नाका पनि प्रदर्शनमा आएको छ। चलचित्रले नाका क्षेत्रमा हुने तस्करी र जोडिएको गुण्डागिरीको कथा भन्छ। तातोपानी नाका र सिन्धुपाल्चोकमा छायाङ्कन भएको चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गरेका हुन्। नाकामा विपिन कार्कीको साथमा थिन्ले लह्मो, रोविन तामाङ, सजन थापामगर, शिव मुखिया, प्रकाश गन्दर्भ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। निर्देशक श्रेष्ठको कथामा अभिषेक सुवेदीले पटकथा लेखेका छन्। चलचित्रले पनि मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएको छ।

आजबाट बिना कुनै प्रचार प्रसार ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ सिंगल स्क्रिनमा रिलिज भएको छ । हास्य जनराको चलचित्रलाई जय किशन बस्नेतको मुख्य अभिनय रहेको छ । चलचित्रमा कथा तथा निर्देशन सुरेश असीमको रहेको छ ।

बलिउडतर्फ भने अभिनेत्री अनुष्का शर्मा स्टारर चलचित्र ’परी’ सार्वजनिक भयो । हरर जनराको चलचित्र अनुष्काले नै निर्माण गरेकी हुन्। परीमा प्रोषित रोएको निर्देशन रहेको छ । उनको यो डेब्यु निर्देशन हो । चलचित्रमा बंगाली स्टार परम्ब्रत चतर्जीको पनि अभिनय रहनेछ ।