गत वर्षको सफल चलचित्र ‘वीर विक्रम’को सिक्वेलमा नायिका वर्षा सिवाकोटी फाइनल भएकी छिन् । हाल चलचित्र ‘जय शम्भु’को छायाङ्कनमा व्यस्त वर्षा सिनेपाटीसँग कुरा गर्दै आफू ‘वीर विक्रम २’मा अनुबन्धित भएको जानकारी दिइन् । मिलन चाम्सको निर्देशन रहेको ‘वीर विक्रम’मा दयाहाङ राई, दिया पुन र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको थियो । चलचित्रको सिक्वेललाई चाम्सले नै निर्देशन गर्नेछन् भने वर्षाको साथमा बाँकी कलाकारको खोजी भइरहेको छ । चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने दोहिरिनेछन् ।चलचित्रको छायाङ्कन जेठबाट सुरु हुने बताइएको छ ।