नायिका शिल्पा पोखरेलको पहिलो निर्माण बनेको चलचित्र ‘मंगलम’ हाल दोस्रो सातामा प्रदर्शन भइरहेको छ । नवल नेपालको निर्देशनमा बनेको चलचित्रमा नायिका शिल्पा पोखरेल, पुष्प खड्का र पृथ्वी प्रसाईँको मुख्य भूमिका रहेको छ । पारिवारिक कथामा बनेको चलचित्रबाट नायक पुष्प खड्काले धेरैले तारिफ पाएका छन् । शाररिक अपङ्गता भएको युवकको भूमिकामा पुष्प प्रस्तुत भएका छन् । पुष्प भन्छन् ‘मैले सोचेको थिइन्, यतिधेरै माया पाउँछु भनेर । पहिलो चलचित्रको असफलताले म माथि चुनौती थपिएको थियो । आज सबैको मुखबाट तारिफ सुन्दा आफ्नो भूमिकालाई न्याय गर्ने सकेको जस्तो लागेको छ ।’ पुष्प पहिलो पटक  लिड रोलमा चलचित्र ‘दर्पणछायाँ २’मा देखिएका थिए ।तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्रमा पुष्पले आफ्नो नाम परिवर्तन गरेर पुष्पल राखेका थिए । तर दर्पणछायाँ २ फ्लप भयो । ‘डर थियो थोरै मनमा, तर हिटको स्वाद चाख्ने मौका पाए ।’ यता पुष्पको अपोजिट रहेकी शिल्पालाई ‘पुष्प स्टार बनेका हुन् त ?’ भनेर सोधिएको प्रश्नमा उनी भन्छिन् ‘पुष्प एउटा असल कलाकार हो भनेर प्रमाण गरिसकेको छ । अहिले नै स्टार नभनौँ तर उसले अब एउटा चलचित्र हिट भयो भने पक्कै स्टार भन्न मिल्छ । ’