गत शुक्रवारबाट सिनेमा हलमा चलचित्र 'तिमीसँग' प्रदर्शनमा आएको छ । शिशिर राणाको निर्देशन र निर्माणमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । चलचित्रमा साम्राज्ञी र आकाशको जोडीको रूपमा प्रस्तुत भएका छन् । चलचित्र रिलिज अगाडी साम्राज्ञी र नाजिर मिडिया भरी नै छाए ।

मिडियामा अन्तरवार्ता होस या मोफसल यात्रामा यी दुई साथ थिए तर आकाश भने कतै देखा परेनन् । उक्त समय आकाश रामकहानीको छायाङ्कनमा व्यस्त थिए । यति बेला चलचित्र निर्देशक तथा निर्माता समेत रहेका शिशिर राणाले नायक आकाश श्रेष्ठले चलचित्रलाई धोका दिएको भन्दै अाक्राेश व्यक्त गरेका छन् । उनले मिडिया सामु चलचित्रको प्रमोसन लगायतको कुनै पनि क्रियाकलापमा आकाश नभएको भन्दै दुख पोखेका छन् । शिशिरको अनुसार आकाशलाई चलचित्रका अर्का कलाकार नाजिर हुसेन हाबी भएको कारण रुष्ट भएको बताए।

शिशिर भन्छन्  'आकाशले ट्रेलर रिलिज भएको दिन नाजिरलाई ट्रेलरमा धेरै स्थान दिइएको र हाबी भएको छ भनेका थिए । 'त्यस्तै प्रमोसनमा  नहिँड्नलाई आकाशले अरूको कुरा सुनेको समेत दाबी गरे ।' मलाई थाहा छ उसलाई अरुकसैले भड्काएको कारण उनी प्रमोसनमा आएनन् ।' राणा भन्छन् । शिशिरले आकाश प्रमोसनमा नआउनुको कारण घुमाउरो शैलीले चलचित्र रामकाहनी टिमलाई दोष दिएका छन् । यता आकाशसँग यस विषयमा बुझ्न खोज्दा सबै गलत आरोप भएको बताउँछन् । उनी भन्छन्   'ट्रेलर हेर्दा म खुसी थिए तर घरमा ममीले तिमीलाई कम देखाइएको भनेर भन्नु भएको थियो । मैले कहिले पनि चलचित्रमा नाजिर हाबी भएको भनेको छैन । मलाई लगाइएको आरोप सबै गलत हो ।'