बादी जातीको कथामा बनेको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । मङ्गलवार चलचित्रको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाइएको छ । टिजरमा विजय बराल र सन्ध्या केसी बादी र बदिनीको भूमिकामा देखिएका छन् । विजय मादल बनाउँछन् भने सन्ध्या जीवनयापनको लागी आफ्नो शरीर बेच्ने गर्छिन् । चलचित्रमा पण्डितको रूपमा प्रवीण खतिवडा देखिएका छन् , जसको सम्बन्ध सन्ध्या(बदिनी)सँग रहेको हुन्छ । रोल्पा रोग चलचित्र निर्देशन गरेका दीपक ओलीको निर्देशनमा बनेको चलचित्रको टिजरमा सम्पूर्ण कलाकारलाई फिचर गरिएको छ । अधृत फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रवीण,सन्ध्या र विजयको अलावा भोलाराज सापकोटा, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, लोकेन्द्र विक, विशाल पहारी, कुलदिप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई थमनकुमार भण्डारी र किशोर खड्काले निर्माण गरेका हुन् । प्युठानमा छायाङ्कन गरिएको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् भने दवाडीको नै पटकथा र संवाद रहेको छ । चलचित्रमा विदुर गिरीको छायाङ्कन, अमित श्रेष्ठ र श्रीकृष्ण बम मल्ल को सङ्गीत, मित्र डीको सम्पादन, विक्रम स्वाँर र दिपकमान सिंहको कोरियाग्राफी  रहेको छ ।