चलचित्र ‘ए मेरो हजुर २’का डेव्यु नायक सनिलमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा’को छायाङ्कन सुरु भएको छ । केही समय अघि काठमाडौँमा आयोजित एक कार्यक्रममा अफिसियल निर्माण घोषणा गरिएको चलचित्रको मङ्गलवार छायाङ्कन सुरु भएको छ । काठमाडौँको कमलादीमा रहेको गणेस्थान मन्दिरमा पूजा गर्दै चलचित्रको सुटिङ सुरु भएको छ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले निर्माण गरेका हुन् भने सम्राट शाक्यले निर्देशन गर्दै छन् । चलचित्रमा सलिनमानको अलावा सलोन बस्नेत, जान्बी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा यात्रा र प्रेमको कथा उठाइएको छ । कोटकी कालीका देवी फिल्मस् र हरि ओम सिने मेकर्सको ब्यानरबाट निर्माण भएको चलचित्रमा सङ्गीत शम्भुजित बास्कोटा, प्रतीक पौडेल र कोविद बज्रको रहेको छ भने कोरियोग्राफी कविराज गहतराज र प्रवीण सिंहको रहेको छ । चलचित्रलाई केशव र सुशीलसँगै मुक्ति तिल्सिना र धर्मराज अधिकारीले लगानी गरेका छन् । चलचित्र असोज ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।