गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो । यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरू युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिसकिएको थियो ।

हालै उनले गाएको ‘जता जता पिरतीको बाटो’ बोलको गीतले पनि युट्युबमा १ करोड भ्यु बटुलेको छ । यो सँगै गायक ओली नेपाली आधुनिक गीत अन्तर्गत युट्युबमा लगातार तीन ओटै गीतमा करोड भ्यु पाउने पहिलो गायक भएका छन् । यसअघि कुनै पनि आधुनिक गायकहरूका तीन ओटै गीतहरूले लगातार करोड भ्यु पाएका थिएनन् । नेपाली आधुनिक गीतको क्षेत्रमा करोड क्लबमा ह्याट्रिक गरेर सरोज ओलीले नयाँ रेकर्ड बनाएका छन् । 
सरोज ओलीले गायका तिन ओटै गीतलाईसंगीतकार वसन्त सापकोटाले सङ्गीत दिएका छन् ।

साथै तीन ओटै गीत दिनेश थपलियाले लेखेका हुन् । साथै सङ्गीतकार र गीतकारको रूपमा वसन्त सापकोटा र दिनेश थपलियाले पनि आधुनिक गीतको करोड क्लबमा ह्याट्रिक गरेका छन् । गायक सरोज ओलीले आफ्नो तीनओटै गीतहरू करोड भ्यु पुगेको अवसरमा बिहीबार पत्रकार भेटघाटको आयोजना गरेका थिए । कार्यक्रममा कार्टुन्ज क्रु का सदस्यहरूको उपस्थिति रहेको थियो । ओलीका करोड पुगेका तीन ओटा गीत मध्ये दुई ओटा गीतमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको थियो । साथै सङ्गीतकार सापकोटा र गीतकार थपलियाको सहकार्यमा गायक ओलीले फेरि नयाँ गीतको घोषणा गरेका छन् । ‘पानी कुवाको’ बोलको नयाँ गीतमा पनि कार्टुन्ज क्रुले नै अभिनय गर्ने पक्का भइसकेको छ ।