अभिनेता नाजिर हुसेनको परिकल्पना, निर्देशन र अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ । वैशाख २८ गतेदेखि काठमाडौँको मण्डला थिएटरमा मञ्चन भएको नाटक अब पोखरामा मञ्चन हुने भएको हो । हाल नाटकका सम्पूर्ण टिम पोखरामा छन् । नाटकमा सेता हाँसहरूसँगै जन्मने कालो हाँसलाई आमा हाँस, दाइ दिदी र यात्राका क्रममा भेटिनेहरुले गर्नेअपहेलना र विभेद देखाइएको छ। घरबाट गाउँ हुँदै सुन्दर तलाउको किनारमा पुगेर कालो रङमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नका लागि निर्देशकले कन्टेम्पररी डान्स फर्मको प्रयोग गरेका छन्। नाटकमा संवादको प्रयोग छैन।कुरुप हाँसका बारेमा नाजिर भन्छन्,’यो एउटा बिम्वात्मक कथा र प्रस्तुति हो। कथाको केन्द्रमा हाँस भएपनिहाम्रो समाजमा मान्छेले मान्छेलाई नै रूप, रङ् वा जात, धर्म, लिङ्गका आधारमा गरिने विभेद सङ्केत गर्छ।‘उनले नाटकको कथामा आफू र आफ्ना भोगाइहरू महसुस गरेको बताए। ’छालाको रङ, शारीरिक सुगठन, धर्म, जात आदिका कारणले धेरैपटक फरक महसुस गर्नु पर्योर। अरूले कुरुप महसुस गराएको त्यही अनुभूतिलाई सुन्दर बनाएर नाटकमार्फत प्रस्तुत गरेको छु। 

यो नाटक महेन्द्रपुल गैह्रापाटनस्थित पोखरा थिएटरको गन्दर्भ नाटकघरमा मञ्चन हुनेछ।साङ्गीतिक नाटकमा कलाकारहरू नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ। अनुप न्यौपानेको मञ्च व्यवस्थापन रहेको नाटकमा  प्रकाश सुदिप खतिवडाले र सङ्गीत मिलन कार्कीले व्यवस्थापन गर्नेछन्।नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५ः३० बजे नियमित मञ्चन हुनेछ। नाटक हेर्नकालागि टिकट दर विद्यार्थीका लागि २००, जेनेरल ५०० र १००० रुपैयाँ रहेको ।