चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका हुन् –पूजा शर्मा । गत वर्ष उनी अभिनीत ‘ म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो । चलचित्र सुपरहिट बन्यो । म यस्तो गीत गाँउछुलाई पूजाले लगानी गरेकी थिइन् । यो वर्ष उनको अभिनय र निर्माण रहेको ‘रामकाहनी’ प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्र घोषणा हुँदै रामकाहनी टिमले भदौ २२ गते आफ्नो रिलिज मिति तय गरेको थियो । सोही मितिमा बुझिए अनुसार ‘सुश्री सम्पत्ति’ र ‘रोजी’ आउने भएको छ । सुश्री सम्पत्तिले करिब एक महिना अघि भदौ २२ गते चलचित्र रिलिज घोषणा गरेको थियो भने रोजीले हालै मिति तय गरेको हो । अझ रोचक कुरा त रोजीमा नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको छ । प्रेमगीतमा रुचाइएका प्रदीप र पूजाको जोडीको पछिल्लो केही बर्षयता सम्बन्ध राम्रो छैन । यी दुईको एकअर्काको मुख हेर्न समेत रुचाउँदैनन् । पूजाको रामकहानीसँग प्रदीपको रोजी आएपछि पूजाले व्यङग्यात्मक तरिकाले फेसबुकमा स्टाटस लेखेकी छिन् ।

उनले हाल भइरहेको र्वल्डकपमा सहभागी भएको अर्जेन्टिनाका खेलाडी मेसी र आफू एउटै भएको भन्दै स्टाटस लेखेकी छिन् । उनी लेख्छिन् ‘ मेसी र म एकै जस्ता हौ । जब खेल्न प्रयास गर्छु तब धेरै परिस्थतीले घेरिदिएको हुन्छ । त्यस्तै भएको छ रामकाहनी रिलिज मितिको । केही चलचित्र मलाई तल पार्न सोही मितिमा आउन लागेका छन् तर ठिकै छ । मेसीलाई घृणा गर्ने धेरै छन् तर केही कुराले उनलाई डाउन पार्न सकिन्न ।किनभने उनीलाई माया गर्ने आफ्नो फ्यान र शुभचिन्तक धेरै छ । म पनि एक खेलाडी हो जोसँग फ्यानको माया र साथ छ । मैले चलचित्र बनाएको प्रतिस्प्रर्धाको लागी होइन मलाई माया गर्ने फ्यान र शुभचिन्तकको लागी बनाएको हो । जय रामकाहनी , भदौ २२ । ’ 
 

‘रामकाहानी’सँग जुध्ने फिल्ममाथि पूजाको आक्रोश कि व्यंग ?