चलचित्र ‘म त तिम्रै हु’बाट सिने नगरीमा डेव्यु गरेका नायक हुन् –आकाश श्रेष्ठ । अभिनेत्री सुस्मिता केसीको निर्माण रहेको यो चलचित्रबाट आकाश डेव्यु गर्ने समयमा उनको चर्चा निकै भयो । चकलेटी अनुहार भएका आकाशलाई धेरैले अनमोल केसीसँग तुलना गर्न थालेका थिए । अनमोलको ब्यानरको चलचित्र भएर पनि अनमोलले आकाशको तारिफ गरेका थिए । तर पहिलो गाँसमै ढुङा भनेजस्तै पहिलो डेव्यु चलचित्र फ्लप भइदियो । त्यस्तै आकाशको अभिनयले पनि खासै दर्शकको मन जित्न सकेन । पहिलो चलचित्र फ्लप भए पनि उनको हातमा चलचित्रको कुनै कमी आएन । गत वर्ष आकाश अभिनीत ‘तिमी सँग’ रिलिज भयो ।

साम्राज्ञी राज्यलक्ष्मी शाहको अपोजिट देखिएका आकाशलाई उक्त चलचित्रले पनि राहत भने दिएनन् । शिशिर राणाको निर्देशन र निर्माण रहेको चलचित्रले न त अपेक्षित व्यापार गर्‍यो न त आकाशको अभिनयले तारिफ पायो । यो वर्षको भदौमा आकाश अभिनीत दुई चलचित्र ‘ब्ल्याक’ र ‘रामकहानी’ प्रदर्शनमा आए । दुई साताको अन्तरमा रिलिज भएका यी दुई चलचित्रमा ब्ल्याकले कमाल गर्न सकेन । तर रामकहानीले भने आकाशलाई एकाएक चर्चामा ल्याउन सफल भयो । चलचित्र छायाङ्कनमा जानु अघिले रामकहानीसँग जोडिएका आकाशको चर्चा सुरु हुन थालेको थियो । अझ विशेष नायिका पूजा शर्मासँग जोडिएपछि आकाशको चर्चा चुलिन् थाल्यो । रामकहानीका निर्देशक सुदर्शन थापा हुन् । यसअघि आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह जस्ता नायकहरू सुदर्शनका ब्यानरमा जोडिएर हिट छन् । यति बेला आकाशको तुलना यही नायकहरूसँग गरिन थालेको छ । रामकहानीमा आकाशले दर्शकको मन जित्न सफल भएका छन् । आकाश आफुपनि रामकहानीसँग जोडिएपछि आफ्नो करियरलाई फाइदा भएको मान्ने गर्छन् ।