लामो समयपछि चलचित्र ‘नाई नभन्नु ल ५’बाट कम ब्याक गरेकी अभिनेत्री निरुता सिंहको छोटो भूमिका भएता पनि चर्चा निकै भयो । नाई नभन्नु ल ५ पछि उनी अभिनेता प्रदीप खड्काको नयाँ चलचित्र ‘लभ स्टेसन’मा अनुबन्धित भएकी थिइन् । निरुता आफ्नै समकालीन अभिनेता उत्तम प्रधानसँग एकसाथ जोडीको रूपमा प्रस्तुत हुने चर्चा थियो । तर अभिनेत्री सिंहले उक्त चलचित्रबाट हात झिकेकी छिन् । हाल दार्जिलिङमा छायाङ्कन भइरहेको लभ स्टेसनबाट निरुताले आफ्नो बुवाको स्वास्थ्यमा समस्या आएको कारण देखाउँदै चलचित्रबाट बाहिरिएको बताइएको छ । चलचित्र लभ स्टेसन अभिनेता प्रदीप खड्का र वितरक गोविन्द शाहीको संयुक्त लगानीमा निर्माण हुन लागेका हो। चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रमा प्रदीपको साथमा जसिता गुरुङ, सरोज खनाल, श्रद्धा क्षेत्री, प्रकाश शाह लगायतका कलाकारको अभिनय रहने छ ।