चलचित्र ‘लिलिबिली’बाट सिने नगरीमा डेव्यु गरेकी नायिका हुन् जसिता गुरुङ । युके निवासी जसिताको पहिलो चलचित्रबाट नै काम र सुन्दरताको निकै चर्चा भएको थियो । उनी अभिनीत दोस्रो चलचित्र ‘लभ स्टेसन’को छायाङ्कन सकिसकेको छ भने हालै नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ । अब जसिता निर्देशक रेनशा वान्तवा राईको नयाँ चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्न लागेकी हुन् । यो चलचित्रम जसिता नायक धिरज मगरको अपोजिट हुने छिन् । धिरज रेनशाको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट सिने नगरीमा डेव्यु गरेका नायक हुन् । पहिलो चलचित्रबाट नै धिरजले लोभ लाग्दो क्रेज बनाएका छन् । धिरज पनि युके निवासी हुन् । यतिबेला रेनशा धिजर र जसिताको जोडी मिलाउन लागि परेकी छिन् । बुधबार राजधानीमा आयोजना भएको प्रसादको प्रिमियर शोमा रेनशालाई जसिता र धिरजको बारेमा प्रश्न गरिएको थियो ।

उनी भन्छिन् ‘दर्शक जसिता र धिरजको जोडीलाई हेर्ने आतुर हुनुहुन्छ । जसितासँगै कुरा भइसक्यो तर कागजी संझौता हुन बाँकी छ । कागजी संझौता भइसके पछि मात्र हामी चलचित्रको अफिसियल घोषणा गछौँ । ’ चलचित्रमा दुई नायिका हुनेछन् । जसिता तय भए पनि अर्को नायिकाको खोजी यतिबेला भइरहेको छ ।  लभ स्टोरी जनरामा बन्ने आइ एम ट्वान्टी वानको यतिबेला कथाको काम भइरहेको छ । अर्को महिना भित्र छायाङ्कन सुरु हुने रेनशाले बताइन् ।