आज शुक्रबार कुनै चलचित्र हेर्ने योजनामा हुनुहुन्छ भने आजबाट तीन चलचित्र रिलिज भएका छन् । जसमा नेपालमा बनेको प्रसाद रहेको छ भने बलिउडमा बनेको नेपाली भाषी चलचित्र ‘पाहुना’ र हिन्दी चलचित्र ‘केदारनाथ’ रहेको छ । 
 

चलचित्र ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । संचारकर्मी सुशिल पौडेलको लेखन रहेको चलचित्रमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेताद्धय निश्चल बस्नेत र बिपिन कार्कीको मुख्य भूमिका रहेको छ । चलचित्रमा निसन्तान दाम्पत्ती हुदाँको पिडा, त्यसले उत्पन्न गर्ने सामाजिक र मानसिक द्धन्द्धलाई प्रस्तुत गरिएको छ । सुभाष थापाको निर्माण रहेको चलचित्रले केही दिन अघि राजधानीमा प्रिमियर सो आयोजना गरेको थियो । जसबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । 

यता बलिउड अभिनेत्री प्रियंका चोपडाको होम प्रोडक्सनबाट बनेको चलचित्र ‘पाहुना’ आजबाट प्रदर्शनमा आएको । चलचित्रमा इशिखा गुरुङ, अनमोल लिम्बु, मन्जु केसी, शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुन लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नेपालको माओवादी द्धन्द्धको समयमा नेपालबाट भागेर सिक्किम पुगेका दुई बालबालिकाको कथालाई उठाइएको छ ।
त्यस्तै आजबाट बलिउडमा प्रतिक्षित मानिएको चलचित्र ‘केदारनाथ’ रिलिज भएको छ । अभिनेता सैफअलि खानकी छोरी सारा अलि खान यहि चलचित्रबाट डेव्यु गर्दैछिन् । यो चलचित्रमा साराको अलावा सुसान्त सिंह राजपुतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अभिषेक कपुरले निर्देशन गरेका हुन् ।