अनुपबिक्रम शाही स्टारर फिल्म 'पुरानो बुलेट' चैत्र १ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म नेपाल पहिले विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङमा फिल्मको पहिलो प्रदर्शनी हुने बताएको छ । निर्देशक भिषण राईले फिल्मको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको जनाए । प्राप्त जानकारी अनुसार आगामी फेब्रूअरी  २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुनेछ । 

'हेल्प फर ह्युमिनिटी' (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले 'पुरानो बुलेट' प्रिमियरको जिम्मा लिएका छन् ।

पुर्वेली टिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण भएको फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा छन् । उल्लेखित तीन कलाकारसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय फिल्ममा समावेश छ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

हरी घले लामाले खिचेको यो फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका राईले लामो समयको रंग पत्रकारिता र फिल्म समिक्षामा खारिएको अनुभव फिल्म निर्देशनमा खर्चिएको बताए । फिल्मको सम्पुर्णजसो छायाँकन पुर्वी नेपालमा नै गरिएको छ ।