गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ यति बेला दोस्रो सातामा रिलिज भइरहेको छ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र हेर्न सोमबार उपराष्ट्रपति नन्दबहादुर पुन काठमाडौँको बिग मुभिजमा पुगेका थिए । उनले चलचित्र हेरिसके पछि मिडियामा बोल्दै चलचित्रको कथा उत्कृष्ट रहेको बताए । उपराष्ट्रपति पुनले चलचित्रले देश र राष्ट्रियताको कथा उठान गरिएको भन्दै अभिनेता भुवन केसीलाई बधाई दिएका थिए । भुवन केसी चलचित्रका निर्माता हुन् ।

पुनले देशलाई माया गर्नेहरूले क्याप्टेन हेर्नु पर्ने बताउँदै अभिनेता अनमोल केसीलाई ‘सुपरस्टार’ भन्दै शुभकामना दिएका थिए ।  त्यस्तै अभिनेता शिव श्रेष्ठले क्याप्टेनको मेकिङको तारिफ गरेका छन् । चलचित्र हेरेपछि आफू भावुक भएको श्रेष्ठ बताउँछन् । क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोलको अलावा प्रशान्त ताम्राकार, सुनिल थापा, उपासना सिंह ठकुरी, प्रियङ्का एमभी लगायतका कलाकारको भूमिका रहेको छ ।