गत साता रिलिज भएको चलचित्र ‘द ब्रेक अप’मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी नायिका हुन् शिल्पा मास्के । चलचित्र निर्माण घोषणाको आधारलाई हेर्ने हो भने ‘काजगपत्र’ शिल्पाको पहिलो चलचित्र हो । तर काजगपत्र भन्दा अघि द ब्रेक अप रिलिज भएको छ । शिल्पा अभिनीत एक चलचित्र रिलिज भइसकेको छ भने दुई चलचित्र ‘कागजपत्र’ र ‘सानो मन’ प्रदर्शनको तयारीमा रहेको छ । डेव्यु चलचित्रले अपेक्षित कमाई गर्न नसकेता पनि शिल्पाको अभिनयले भने प्रशंसा पाएको थियो । लन्डनमा बसोबास गर्दै आइरहेकी शिल्पाले हलिउड चलचित्र ‘डाक्टर स्ट्रेज’ र बलिउड चलचित्र ‘गोल्ड’मा पनि काम गरेकी छिन् । द ब्रकेअपमा नायक आशिरमान देशराजसँग देखिएकी शिल्पा बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । पहिलो चलचित्रबाट नै उनको लिप लक र बेडसिनको निकै चर्चा भएको थियो । यता शिल्पा अभिनीत दोस्रो चलचित्र ‘कागजपत्र’मा भने साधारण गाउँले केटीको भूमिकामा देखिएकी छिन् ।जसमा शिल्पा र नायक नाजिर हुसेनको केमेष्ट्रि देखाइएको छ ।  काजगपत्र यही चैत ८ गतेबाट रिलिजको तयारीमा रहेको छ । कागजपत्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् । चलचित्रमा अस्ट्रेलिया जान गरिने नक्कली विवाहलाई देखाइएको छ । त्यस्तै शिल्पाको तेस्रो चलचित्र ‘सानो मन’को हालै छायाङ्कन सकिसकेको छ । उक्त चलचित्रमा उनी एक म्युजिसियनको भूमिकामा देखिने छिन्। जसमा शिल्पाको अपोजिट आयुष्मान देशराजको मुख्य भूमिका रहेको छ । तीन चलचित्रमा काम गरिसकेकी शिल्पाको पछिल्लो समय डिमाण्ड बढ्दो छ ।