चलचित्र ‘ए मेरो हजुर ३’बाट सिने नगरीमा डेव्यु गर्ने तयारीमा छिन् नायिका सुहाना थापा । सुहाना अभिनेत्री झरना थापाकी छोरी हुन् । झरनाकै निर्देशनमा डेव्यु गर्न लागेकी सुहानाको अभिनेता अनमोल केसीको अपोजिट भएर देखिन्दैछन् । आउँदो चैत्र २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’को दुई गीत र ट्रेलर रिलिज भइसकेको छ । ट्रेलर रिलिज पश्चात् अनमोल र सुहानाको जोडीलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

 म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् । चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा अनमोल, सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा कथा झरना र सुमन पौडेल मिलेर लेखेका हुन् । सञ्जय लामाको छायाङ्कन रहेको चलचित्रमा द्धन्द्ध रोशन श्रेष्ठको रहेको छ भने सम्पादन दिर्घ खड्काको रहेको छ । चलचित्र चैत्र २९ गते देशभर एकसाथ प्रदर्शन हुँदै छ ।