नेपाली लोक भाका र लोक संस्कृती झल्कने गीत 'चिरी च्याट्टै' सार्वजनिक भएको छ । चलचित्र ''दयारानी'' मा समावेश उक्त गीतमा राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ । राजनराज कै शब्द र संगीत रहेको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । 'सुर्के थैली खै ?', 'चेप्टे चेप्टे पेरुङ्गो', 'गोजीमा दाम छैन' लगायत गीतबाट परिचित राजनराजको यो गीत पनि आफ्नै शैलीको मन छुने खालको बनेको छ । लोक लयमा आधारित रहेर बनाइएको गीतले हाम्रै गाउँ पाखा र विशुद्ध मौलिकता बोकेको छ । 

माओत्से गुरुङको पहिलो निर्देशनमा बनेको चलचित्र जेठ १० गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चलचित्रले श्रीमान र श्रीमतीको सम्बन्धको कथा बस्तु बोकेको निर्माता माओत्से गुरुङको भनाइ छ । सिनेमा आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक स्वयम्ले लेखेका छन् । फिल्ममा दया र दीयाका साथै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि.  कार्कीले छायाङ्कन गरेका हुन् । झट्ट सुन्दा चलचित्रको नाम नायक दयाहाङ राईसँग मिल्दो देखिए पनि  'गुरुङ समुदायमा दयालु यूवतीलाई दयारानी भनिने र चलचित्रको कथा दयालु श्रीमती वरिपरी घुमेको निर्देशक माओत्से गुरुङले जानकारी दिए । लगभग सत्र घन्टाअघी युट्युबमा रिलिज भएको गीतलाई कारीब डेढ लाखले हेरिसकेका छन् भने गीतलाई अधिकांशले मन पराएका छन् ।