फ्रान्सको पेरिसमा भइरहेको विश्वकै सम्मानजनक 'कान्स फिल्म फेस्टिभल'मा नेपालको तर्फबाट सहभागिता जनाएका मीन बहादुर भामले आफ्नो चलचित्र 'द इयर अफ कोल्ड' (चिसो वर्ष)लागि नर्वेजियन पुरस्कार जितेका छन् । विश्वभरका ५२ फिल्ममेकर्सले आवेदन दिएकोमा ति सबै परियोजनालाई उछिन्दै मीनले ६० हजार अमेरिकी डलर (६६ लाख ८४ हजार रुपैयाँ)राशिको पुरस्कार जितेका हुन् । यसअघि उनले निर्देशन गरेको चलचित्र 'कालो पोथी' ले निकै प्रोत्साहन, सम्मान र पुरस्कार हात पारेको थियो ।
चलचित्र 'चिसो वर्ष'को कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् र यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ । यिनै सामान्य कथाबस्तु रोजेका भामले यस चलचित्रको स्क्रीप्टको लागी एसियन सिनेमा फन्ड जितेका थिए । उक्त फन्डको राशी १० हजार अमेरिकी डलर थियो । यस्तै चिसो वर्षले यसअघि स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार यूरो करिब ८ लाख रुपैयाँ जितेको थियो । सोसल ड्रामा जनराको चिसो वर्ष निर्माणाधीन अवस्थामा छ ।
कान्समा अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्रीले पनि अवार्ड जितेको छ।