भनिन्छ इतिहास जित्नेहरुको मात्र लेखिन्छ तर अपबादमा हार्नेहरुको ईतिहास पनि हाम्रालागि रोचक कहानी बनेर इतिहासको गर्भमा कतै कतै लुकेर बसेको हुन्छ। तिनै रोचक कहानीलाई पढ्दा भन्दा बढि आनन्द उनै पात्रहरुको जीवन नजिकै पुगेर आँखामा कैद गर्दा मिल्छ।

गोरखाका राजा राम शाहको जीवन र प्रेमसम्बन्धी सुनिएका, लेखिएका कुराहरुलाई नाटकिय रुप दिएर मन्चनमा उतारेका छन् निर्देशक आशान्त शर्माले। राम शाहको रानी लिलावतीसँगको प्रेम सम्बन्ध र यी दुइको मृत्यु अनि लखनको अधुरो प्रेम कहानीलाई नेपाली नाटकमा नयाँ प्रयोगका साथ यतिबेला शिल्पी थिएटरमा मन्चन भैरहेको छ । निर्देशकले नाटकमा ब्याकस्टेजको प्रयोग गरेका छैनन् ,यो नेपाली रंगमन्चमा पहिलो पटक गरिएको प्रयोग हो तर नाटक एक उचाइमा गैरहँदा मन्चमा अभिनय गरिरहेका कलाकारबाट दर्शकको ध्यान भने पछाडीपट्टि अघिल्लो भुमिकाको लागि आफुलाई तयार गर्दै गरेका कलाकार तर्फ पुग्न जान्छ। जसले गर्दा कतै कतै नाटकको शिलसिला टुटेको हो कि भन्ने आभाष हुन्छ। कलाकारको मिहिनेत र निर्देशकको बढ्याँईले नाटकले दर्शकलाई बाँधेर राख्न भने सफल भएको छ। तत्कालिन समय र परिस्थिति शासककै परिवारभित्र महिलाको स्थान अनि राम शाहले सुरु गरेको न्यायिक राज्यको स्वरुपलाई नाटकमा महत्वका साथ प्रस्तुत गरिएको छ। बिरेन्द्र मुखिया, कमल देवकोटा, अस्मिता खनाल, अज्रस ढुंगाना, विना थापा, प्रयास बान्तवा राई, नमिता घिसिङ लगाएतको अभिनय रहेको नाटक साउन ३१ सम्म मन्चन हुनेछ।