चलचित्र ‘प्रेमगीत’बाट एकाएक चर्चामा आएका नायक प्रदीप खड्काको चर्चा पछिल्लो समय निकै चुलिएको छ । हालै प्रदर्शनमा आएको ‘प्रेमगीत २’ले अझ प्रदिपलाई व्यस्तको साथै अभल बढी लाइमलाइटमा ल्यायो । केही दिन अघि मात्र उनले चलचित्र ‘लिलिबिली’मा २२ लाख पारिश्रमिक लिएर प्रदीप नेपालका सबै भन्दा महँगा नायक बनेका छन् । कहिले बडिगार्ड लिएर कार्यक्रममा पुग्ने त कहिले पारिश्रमिकले चर्चामा आउने प्रदीपलाई प्रेमगीत २ निर्माता सन्तोष सेनले ५३ लाख पर्ने गाडी उपहार दिएका छन् । साउन १३ गते प्रदर्शन भएको चलचित्र ‘प्रेमगीत २’ले सफलताको साथ ५१ औँ दिनमा प्रवेश गरेको छ । ५१ औँ दिनको खुसी साट्नलाई आइतबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा निर्माता कम्पनी आशुसेन फिल्मस्ले नायक प्रदीप खड्कालाई  ५३ लाख पर्ने रातो रङ्गको कार उपहारस्वरुप हस्तान्तरण गरेको हो । निर्माता सेन र नायक खड्काले एकसाथ दुई चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत’मा काम गरिसकेका छन् । ‘प्रदीपले चलचित्रमा धेरै योगदान गरेको छ । हाम्रो दुखलाई पनि आफ्नो दुख सम्झेर मेहनत गरेको छ । उसको कामलाई सम्मान मात्र गरेका हौ । ’ निर्माता सन्तोष सेन बताउछन् । प्रदीपको कामको कारण आफ्नो मन जितेको सेनले बताए । झन्डै आधा करोडको गाडी आफ्नो व्यक्तिगत खाताबाट नभई चलचित्रबाट उठेको रकमबाट उपहार दिएको निर्माता सेनले दाबी गरे । निर्माता सन्तोष सेनले नायक प्रदीप खड्कालाई लिएर नयाँ चलचित्र ‘दीपेन्द्र सरकार’ बनाउने घोषणा गरिसकेका छन् ।