यही साउन १३ गतेबाट देशभर प्रदर्शन आउन लागेको चलचित्र ‘प्रेमगीत २’को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रका टिममा प्रमोसनको दौडधुप बढ्दो छ । २०७२ मा प्रदर्शन भएको चलचित्र ’प्रेमगीत’को सिक्वेल रहेको ’प्रेमगीत २’ मा पुराना नायक प्रदीप खड्का छन् भने यसै चलचित्रबाट नव–नायिका अश्लेषा ठकुरीले डेव्यु गर्दै छिन् ।
केही समय चलचित्रको गीतहरू र ट्रेलर सार्वजनिक भइसकेको छ । जसबाट निर्माण पक्षले राम्रो प्रतिक्रिया पाएको बताएका छन् । ’प्रेमगीत २’ मा म्यानमारबाट नेपाल घुम्न आएकी अश्लेषा र नेपालका प्रदीपबीचको प्रेमलाई देखाइएको छ ।
सुदर्शन थापाको निर्देशन र सन्तोष सेनको निर्माण रहेको चलचित्र ‘प्रेमगीत’मा प्रदीप खड्का र पूजा शर्माको जोडीलाई धेरैले रुचाएका थिए । सोही चलचित्रको सिक्वेल ‘प्रेमगीत २’लाई रामशरण पाठकले निर्देशन गरेका हुन् भने सन्तोष सेनले निर्माण गरेका हुन् ।
चलचित्र ‘प्रेमगीत २’का प्रेम र गीतलाई दर्शकले कतिको साथ दिने हुन् त्यो भने साउन १३ मा थाहा हुने छ ।