गत हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । कार्यक्रम सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको हप्ता गुज्रियो । गत हप्ता नेपाली रजतपटमा तरङ्ग ल्याएको एउटा मुख्य विषय हो प्रतीक्षित चलचित्र 'कबड्डी कबड्डी कबड्डी' को रिलिज । चलचित्रले बम्पर ओपनिङ गर्दै बक्स अफिसलाई तताइरहेको छ । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ, यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठको रियल लाइफ जोडी अभिनीत चलचित्र 'पोइ पर्यो काले' कार्तिक ८ बाट प्रदर्शनमा आउँदै छ । शिशिर राणाको निर्देशनमा बनेको चलचित्र को प्रचारप्रसारमा लागी परेका छन् । चलचित्रका मुख्य कलाकार सौगात मल्ल र श्रृष्टि श्रेष्ठ कार्यक्रमहरूमा देखिइरहेका छन् । चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षाका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् ।
यस वर्षको प्रतीक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शन अगावै प्रचारप्रसारको क्रममा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र विल्सन विक्रम राई र उपासना सिंह ठकुरी लागी परेका थिए । प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रले सामाजिक काममा समेत हात हालेको थियो । चितवनको भरतपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ तीन लाख सहयोग गरेको थियो ।
अभिनेत्री निता ढुङ्गानाले आइतबार राती आफ्नो जन्मदिन मनाइन् । चलचित्र क्षेत्रका परिचित अनुहार, निताका परिवार, साथी तथा उनी निकट व्यक्तित्वहरूको उपस्थितिमा आइतबार मध्य रातमा भव्यताका साथ केक काटेर जन्मदिन मनाइन् । निर्मल शर्मा, कुन्जना घिमिरे, हरिहर अधिकारी, प्रशान्त ताम्राकार, नीराजन प्रधान लगायत नितालाई जन्मदिनको शुभकामना दिन पार्टीमा सहभागी भएका थिए ।
अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत शुक्रवार रिलिज गरिएको छ । असोज १० मा दशैको अवसर पारेर प्रदर्शनमा आउने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका रहेको छ । सार्वजनिक गीत मा प्रमोद खरेल र मेलिना राईले स्वर दिएका छन् । गीत रिलिज कार्यक्रममा गायक द्वय निकै रमाइलो मुडमा भेटिए ।
बानेश्वर स्थित नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । ‘वान सिनेमाज’ नाम दिइएको उक्त हल बिहीबार पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । फोके प्रविधिमा चलचित्र देखाइने हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी' असोज ३ बाट अल नेपाल प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार राजधानीको जय नेपाल हलमा चलचित्रको ग्राण्ड प्रिमियर सम्पन्न गरिएको थियो । आयोजित प्रिमियरमा सिनेकर्मी र पत्रकारको घुइँचो लागेको थियो भने चलचित्र हेरेपछि सबैले तारिफ गरे ।
असोज ३ गते संविधान दिवसको दिन पारेर रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र मल्टीप्लेक्स र सिंगल थिएटर स्क्रिनमा आक्रामक देखियो । चलचित्रका कलाकार लगायत निर्माण पक्ष शनिवार बिहानदेखी नै विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए । चलचित्रकी नायिका उपासना सिंह ठकुरीको शनिवार जन्मदिन समेत परेको थियो । उनले चाबहिल स्थित गोपीकृष्ण हलमा चलचित्र युनिट र दर्शकको साथमा केक काटेर जन्मदिन मनाएकी थिइन् ।
अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनको सँघारमा छ । पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी साम्राज्ञीले यस चलचित्रलाई लिएर ठुलो आशा बोकेकी छिन् । अभिनेत्री साम्राज्ञीले शनिवार विभिन्न सहरबाट आएका आफ्ना तीस ‘डाइहार्ट फ्यान’ सँग भेट गरेकी छिन् । ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ?’ भन्ने एउटा कन्टेस्ट गरेको थियो, जसमा १० हजारले उनलाई भेट्ने इच्छा देखाएका थिए । त्यसमध्ये छानिएका तीस जनाले शनिवार राजधानीको कमलपोखरीमा रहेको डिसिएनको कार्यालयमा साम्राज्ञीसँग भेट गरे । साम्राज्ञीले आफ्ना प्यानहरूलाई आफू मात्र भेटिनन् आफूसँगै काम गरेका ‘रातो टीका निधारमा’ का अभिनेता अंकित शर्मालाई पनि आफ्ना ‘डाइहार्ट फ्यान’ माझ चिनाइन् । उनले आफूलाई जस्तै अंकितलाई पनि माया र सपोर्ट गर्न फ्यानलाई आग्रह गरिन् ।
क्यानडाको टोरन्टोमा आयोजना हुने गरी ‘सिने स्टार अवार्ड २०२०’ घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच आयोजकले आगामी जनवरीको अन्तिम साता हुने अवार्डको घोषणा गर्यो । हिल्सा इन्टरटेनमेन्ट प्रा । लि । नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी .टी .ए . लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।