गत हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । कार्यक्रम सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज, यिनै बिच नेपाली रजतपटको हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ, यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चर्चित गीत 'मन विनाको धन' ले बाल गायक अशोक दर्जीलाई सबैका सामु परिचित गरायो । यसै गीतले उनको नेपाली गीत सङ्गीत क्षेत्रमा उज्यालो भविष्य रहेको प्रमाणित गरिदियो । उनलाई सफलताको बाटोमा डोर्याउने गायक सङ्गीतकार टंक बुढाथोकीले गीत 'मन विनाको धन'को भाग २ लिएर आएका छन् । गीत शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ ।
यही शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'रातो टिका निधारमा' टिमले मङ्गलवार त्रिनेत्र फाउन्डेसनका दृष्टि विहीन बालबालिका सँग दसैँको शुभकामना आदानप्रदान तथा उपहार वितरण कार्यक्रम सम्पन्न गरेका थिए । टिमले त्यहाँ दसैँको टिका र जमरा लगाएर खुसीको माहौल छरेको थियो । फेसबुक ग्रुप 'डब्लु आर आर' र 'रातो टिका निधारमा'को सहकार्यमा आयोजना गरिएको कार्यक्रममा १५ जना दृष्टिबिहिनहरुलाई लुगा प्रदान गर्नुका साथै खाना पनि खुवाइएको थियो । कार्यक्रममा चलचित्रका साम्राज्ञी आरएल शाह र अंकित शर्मा लगायत टिम उपस्थित थियो ।
साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टिका निधारमा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई लिएर निर्देशक अशोक शर्मा लगायत टिम निकै आशावादी रहेको छ । चलचित्र प्रदर्शनको पहिलो दिन बिहानी सो पत्रकारलाई देखाइएको थियो जसमा चलचित्र टिमले प्रशंसा पायो । चलचित्रले उठाएको कन्टेन्टलाई सञ्चारकर्मी लगायत उपस्थित पाहुनाहरूले रुचाए ।
साङ्गीतिक रियालिटी सो ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वरमा चलचित्र ‘काले दाइ’को गीत ‘यो दुनियाँ मेरो लागि’ बोल सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा पवनवाङ लामाको सङ्गीत भरेका छन् ।
अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा रेकर्ड तोड व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्ने दर्शकको भिड दोस्रो हप्तामा प्रवेश गर्दा पनि घटेको छैन । बलियो वर्ड अफ माउथले गर्दा चलचित्रलाई दर्शकको राम्रो साथ मिलिरहेको हो । चलचित्रले पहिलो हप्तामा ७.३८ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रबारे प्रतिक्रिया लिन चलचित्रका मुख्य कलाकार हलसम्म पुगिरहेका छन् । यसैबिच प्रदर्शनको दोस्रो हप्ता सुरु हुँदा कलाकार द्वय उपासना सिंह र बुद्धि बिग मुभिज मा दर्शकको प्रतिक्रिया लिन पुगेका थिए ।
साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ले प्रदर्शनको सँघारमा हुँदा प्रचारप्रसारको लागी विभिन्न माध्यम हरू अपनायो । यसैबिच चलचित्रका मुख्य कलाकार साम्राज्ञी र अंकित सहित निर्माण टिमले कलेज स्कुल यात्रा सुरु गरेको थियो । सोमबार अंकितले पढेको काभ्रेको पनौती स्थित मल्पी इन्टरनेशनल स्कुलबाट यो यात्रा सुरु गरिएको थियो भने । यसै क्रममा टिम मङ्गलवार लिटल एन्जल्स स्कुल पुगेको टिमले विद्यार्थी र सम्पूर्ण स्कुलका सदस्यलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आह्वान गरेको थियो ।
'नेपाल आइडल सिजन ३' को वर्ल्ड टुरको आधिकारिक घोषणा सम्पन्न भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा एउटा नयाँ र फरक सुरुवात गरेको साङ्गीतिक रियालिटी सो नेपाल आइडलले सफलता पूर्व आफ्ना दुई सिजन सम्पन्न गरिसकेको छ र यति बेला तेस्रो सिजनको तयारीमा छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।