गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
'ए मेरो हजुर ३'बाट दर्शकको अपार माया पाएपछि झरनाले चलचित्र 'ए मेरो हजुर ४' को निर्माण गर्ने भएकी छिन । जसको लागी अनमोल र सुहाना फाइनल भैसकेका छन् । चलचित्रको लागि अमेरिकामा अध्ययनरत सुहाना नेपाल आइसकेकी छन् । नेपाल ओर्लिएकै दिन उनले ‘कामना अवार्ड’ को पाँचौँ संस्करणमा ‘ए मेरो हजुर ३’ बाट नव-अभिनेत्रीको अवार्ड समेत जित्न सफल भइन् ।
'मेरो डान्स कप'को चौथो संस्करण र 'मेरो भ्वाईस कप'को दोस्रो संस्करणको बुधबार उद्घाटन भएको छ । अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा दुई रियालिटी शोको उद्घाटन भएको हो । आयोजक ईन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अमेरिकाका प्रमुख कार्यकारी अधिकारी (सिइओ )डिल्ली अधिकारी, वरिष्ठ लोकगायक प्रेमराजा महत तथा नायिका केकी अधिकारीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
आसाममा डिसेम्बर २७ बाट सुरु भएको ‘डेइजिङ फेस्टिभल’ जनवरी ७ मा सकिएको छ । १२ दिन सम्म चलेको फेस्टिभलको अन्तिम दिन नेपालबाट आसाम पुगेका गायक प्रमोद खरेलले दमदार प्रस्तुति दिएका थिए । प्रमोद नेपालबाट सहभागी हुने पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको हो । उनी आफ्नै ब्यान्ड सहित आसाम पुगेका थिए । प्रमोदले आफ्नो हिट गीतदेखि पुराना गीतहरू कार्यक्रममा गाएका थिए । प्रमोदलाई गायिका मिना निरौलाले साथ दिएकी थिइन् । प्रमोदले करिब २ घण्टासम्म गीत गाएका थिए ।
विपिन कार्की स्टारर चलचित्र 'सेल्फी किंङ'को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा दुनियाँ हँसाउने हास्य कलाकारको दुखद भोगाइ प्रस्तुत गरिएको छ । माघ २४ गते रिलिज हुने सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलर इमोसनल रहेको छ । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् ।
गत मङ्सिर २८ गते बुढानीलकण्ठमा कारले ठक्कर दिँदा पैदल यात्रा गरिरहेकी गोरखा घर भएकी लीला देवकोटाको मृत्यु भएको थियो । कारमा चार जना सवार थिए जसमा अभिनेत्री परमिता राणा पनि थिइन् । तर घटना घटेको करिब एक महिनासम्म उनले कतै यस विषयमा बोलेकी थिइनन् । यो कुरा मिडियामा पनि त्यति छाएन उनको नाम कता कतै मात्रै मुछिएको थियो । तर सामाजिक सञ्जालमा उनको निकै विरोध भयो र उनी आलोचित भइन् । बुधवार बिहानको साढे दुई बजे उनले यस बारे सम्पूर्ण घटना उल्लेख गर्दै आफ्नो सामाजिक सञ्जालमा मुख खोलेकी छिन् ।
निर्माणाधीन चलचित्र ‘हिजो आजका कुरा’को एक गीतमा लगभग दुई दर्जन कलाकारलाई देख्न पाइने भएको छ । छायाङ्कन भइरहेको गीत ‘ए जदौ माया जदौ’ बोलको गीत शुक्रवार वसुन्धरा स्थित पानस बैंक्वेटमा फिल्ममा समावेश एक गीत भिडियोको छायाङ्कन भइरहेको छ ।
' प्रेम गर्ने जन्तर' बोलको गीत डिजिटल नेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर रहेको गीत को शब्द र सङ्गीतको सिर्जना किरण पहाडीले गरेका छन् । गीतको भिडियोमा नाजिरका साथ तालमा ताल मिलाई सरुसा महर्जनले कम्मर मर्काएकी छिन् । यस पटक नाजिर नव मोडल सरुसाकै पछि प्रेम पार्ने जन्तर सहित लागि परेका छन् । भिडियोको सङ्गीत र शब्दको लोक फ्लेवर र गीतको कोरियोग्राफी आकर्षक छ ।
चलचित्र ‘चिसो एस्ट्रे’ आगामी जेठ ६ गते देखि प्रदर्शनमा आउने भएको छ । गाउँबाट सहर आएको एउटा युवाको जीवनको उतार चढाव समेटिएको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । आधुनिक बन्ने होडमा आफैँलाई गुमाउनु पर्ने स्थिति कसरी सृजना हुन्छ भन्ने चलचित्रमा देखाइएको छ । निर्देशक पाल्पालीले चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने खोजेको बताए । उनी भन्छन्, ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ ।
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीत सार्वजनिक भएको छ । 'दुखको काँडा' बोल रहेको गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत रहेको छ भने देवल भण्डारीको शब्द रहेको छ । गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन शाहले मिक्सिङ गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो निकै सशक्त रहेको छ भने गीतले प्रेम र साथको भाव बोकेको छ ।
गायिका प्रिती आलेले लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट राजीनामा दिएकी छिन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति सदस्य एवं महिला संयोजक पदमा थिइन् । उनले एक विज्ञप्ति निकाल्दै संस्थाबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । केही दिन अघि सार्वजनिक भएको उनको गीत 'भुत्रो मायाजाल' यति बेला निकै चर्चामा छ । गीत मा प्रयोग भएको शब्दले नेपाली गीत सङ्गीत मा एउटा बहस सुरु गरिदिएको छ ।
मण्डला थिएटर अनामनगरमा नाटक 'झिम्के मामा' मञ्चन हुने भएको छ । प्रदीप कुमार चौधरीको निर्देशनमा बनेको नाटक यही माघ ३ गतेबाट मञ्चन हुने छ । नाटकले छुवाछुत र यससँग जोडिएको अन्धविश्वासले समाजमा ल्याउने समस्या र मानवतालाई समेटेको छ । नाटक झिम्के नाम गरेका एक पात्र वरी परी घुम्छ जसलाई समाज मा एक इमानदार र सोझो युवाको रूपमा चिनिएको हुन्छ । तर उसले समाजका लागी पुर्याएको योगदान र इमानदारीताको धज्जी उडाइन्छ जब उ कथित तल्लो जातको भएको कुरा समाजले थाहा पाउँछ ।
व्लगर सिसन बानिया लामो समय देखी नेपालका सुन्दर ठाउँ को ट्राभल व्लग बनाउँदै आएका छन् । नेपाल लाई पर्यटकीय हिसाबले प्रवर्धन गर्न सहयोग पुर्याउँदै आएका सिसनले नयाँ वर्ष २०२०को पनि ट्राभल व्लग बनाउन सुरु गरिसकेका छन् । नयाँ वर्ष २०२० नेपालले भ्रमण वर्ष मनाउँदै छ । यसैको उद्घाटन गर्दै देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिए । नेपालको पर्यटकीय नगरी पोखरामा झनै उत्साह जनक रूपमा भ्रमण वर्षको गरियो । यसमा सहभागी हुन सिसन र मिस नेपाल २०१८ शृङ्खला खतिवडा पनि पुगेका थिए । उनीहरूले हट एयर बेलुनमा सयर गरेका थिए भने सिसनले पोखरा आसपासको र बेलुनको यात्रा समेटिएको व्लग युट्युबमा राखेका छन् । सिसन र शृङ्खला लामो समय यता सँगसँगै देखिइरहेका छन् ।
सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रको सार्वजनिक टिजरमा मुख्य अभिनेता सौगात र अर्पणलाई प्राथमिकता दिइएको छ । चलचित्रमा दुबैलाई नकारात्मक भूमिकामा देखिने टिजरले बताउँछ । टिजरमा अवैध रूपमा गरिने कारोबार धन्दालाई गर्ने र यसलाई रोक्न गरिएको प्रयास देखाइएको छ । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् ।
वि सं २०६४ मा प्रदर्शनमा आएको चलचित्र ‘पर्खी बसेँ’ को दोस्रो भाग बन्ने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खी बसेँ २’ निर्माण गर्ने भएको हो । चलचित्रमा नीकिता पौडेल र विनोद सापकोटा निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह-निर्माताको रूपमा रहनेछन् । गोपीकृष्ण मुभिजकी नीकिता र हिमालयन मुभी स्टुडियोका विनोदबिच बिहीबार सहमति भएको हो । चलचित्र ‘पर्खी बसेँ’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिज ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्नेछन् ।