विपिन कार्की स्टारर चलचित्र 'सेल्फी किंङ'को बुधवार प्रिमियर गरिएको छ । राजधानीको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कला कर्मी र मिडिया कर्मीको बाक्लो उपस्थिति रहेको थियो । एक चर्चित टेलिभिजन हास्य कलाकारको कथा रहेकोको चलचित्रमा अभिनेता विपिन कार्की ‘सेल्फी किङ’ को उपनामले परिचित हास्य कलाकारको भूमिकामा छन् । आफ्नो प्रस्तुति दिन जाने क्रममा ‘सेल्फी किङ’को जीवनमा आउने उतार-चढावको कथा चलचित्रले बोकेको छ । एउटा कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई समेटिएको चलचित्र हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जितु नेपाल, केदार घिमिरे, निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा , विनय श्रेष्ठ, आर्यन सिग्देल, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, दिपेन्द्र के खनाल, सुनिलकुमार थापा, भोलाराज सापकोटा, शोभित बस्नेत, रीमा विश्वकर्मा, सुवास गिरी, सुरेन्द्र पौडेल लगायतका फिल्म कर्मीको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेका सबैले चलचित्र निकै राम्रो बनेको बताएका छन् । उपस्थित सबैले चलचित्रले उठान गरेको विषयसँगै कलाकारको भावनालाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको बताएका छन् । चलचित्र हेरेपछि नायक आर्यन सिग्देल भन्छन्, 'यो फिल्मले सबैलाई छुन्छ जस्तो लाग्छ । फिल्म हेर्दा निकै भावुक पनि भएँ । फिल्म हाँसो र रोदनको मिश्रण छ । हामीलाई कहीँ त्यो पात्रले हसाउछ त कहीँ रुन बाध्य बनाउँछ । नेपाली फिल्म हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु म फिल्मलाई' । यसै गरी नायिका नम्रता श्रेष्ठले पनि चलचित्र राम्रो बनेको र आफूलाई चलचित्र मन परेको बताइन् । यसै गरी अभिनेता कर्मा भन्छन्, 'फिल्म हेर्दा धेरैपछि नै रोए म । आर्टिस्टलाई हेर्ने दृष्टिकोण र बेहोर्नु पर्ने कुरालाई यसमा राम्रोसँग देखाइएको छ' । निर्देशक दीपेन्द्र के खनालको शब्दमा, 'एउटा नयाँ निर्देशकले बनाएको फिल्म जस्तो लागेन । फिल्म यस्तै किसिमको म रुचाउँछु त्यसैले गर्दा मेरो मन छोयो । एउटा राम्रो र सरल नेपाली फिल्म हेर्न चाहनुहुन भने फिल्म हेर्न आउनुस् । यो हाम्रो मौलिक कथाको मन छुने फिल्म हो' ।

चलचित्र यही माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने छ । चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।