जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुम्भ’को पहिलो गीत 'स्वर्ग की परी' सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना रन्धिर श्रेष्ठकै रहेको छ। गीतमा सङ्गीत अनुप तिवारीको रहेको छ।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गरिने जनाइएको छ। चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ।
निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। चलचित्रको छायाङ्कन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो, जहाँ दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय रहेको छ।
चलचित्रको छायाङ्कन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशन संजय थापाले गरेका छन् भने निर्माणमा रन्धिर श्रेष्ठ र राजेश साह संलग्न छन्। चलचित्रका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।
चलचित्रको गीत आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।