बैशाख ११ गतेबाट प्रदर्शन हुने चलचित्र ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युट्युब च्यानलमार्फत रिलिज गरेको हो।
सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा सङ्गीत सत्य र स्वरुप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतको म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङले गरेका हुन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन्। उनीहरूको केमेस्ट्री मिलेको देखिन्छ। ग्रामीण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यसअघि चलचित्रको ‘उडि जाउँ भने,म पंक्षी होइन’बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाई रहेको छ। लोकलयमा आधारित यस गीतलाई दर्शकले युट्युबमा अपलोड भएसँगै चर्चा सुरु हुन थालेको छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेलको लगानी रहेको यस भने चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।