चलचित्र पूर्णबहादुरको सारङ्गीलाई उपन्यास सङ्ग्रामपुरबाट कथावस्तु चोरेको आरोप लागेको छ ।उपन्यासका लेखक डा. शिवशंकर बस्याल लेख्छन्,"पूर्णबहादुरको सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो । यसै बीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथा सङ मिलेको कुरा बताए । यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगेँ । पूर्णबहादुरको सारङ्गी लाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ ।
१. पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२. पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।
३. छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमानसँग मिल्दा छन्।
३. आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।
४. जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
५. पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु ।
६. त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदैँ पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७. संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८. बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९. रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।
यी त कथाका मूल प्रसङ्गहरू हुन् । यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ । पूर्णबहादुरले नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन् । केही प्रसङ्गहरू बिल्कुल विपरित रुपमा प्रयोग गरिएका छन् ।पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ । पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ ।माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो । मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे । यो भन्दा अरु कथामा नौलो भेटिन ।तसर्थ यो संयोग होइन, यो नियोजित हो । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च । कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौँला, तर इतिहासमा यो कोलाहाल रहिरहनेछ ।मन जितिरहेको यो चलचित्रले अरु मान्छेहरुको मन जितिरहोस । मेरो यही शुभकामना !!!"