नायिका उषा रजकले रङ्गकर्मी तथा फिल्म निर्देशक अनुप बराल माथि आरोप लगाएकी छिन् । राम्रो रोल र स्क्रिप्टमा अभिनेत्री दिया मास्के (श्रीमती)लाई अनुबन्धित गराउने गरेको आरोप उनले लगाएकी हुन् । सामाजिक सञ्जाल मार्फत उषाले उक्त कुराको खुलासा गराएकी हुन् । उनी लेख्छिन् :Actors Studio को पहिलो ब्याचको विद्यार्थी म । १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो, अहिले पनि त्यही कुरीति कायम नै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको पारी भाषा यस्तो छैन । २००६: actors studio को ट्रेनिङ बज्र होटेलमा हुन्थ्यो । त्यहाँ भूषण दाहाल र टिम कास्टिङको लागि आएका थिए, पूजा गुरुङ, शिवानी सिंह थारु, दिया मास्के, म, आशा मङ्राती थियौँ अडिसनमा । कुरा “कागबेनी”, नेपालको पहिलो डिजिटल फिल्मको । त्यो फिल्ममा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे । (यो कुरा फिल्मको २ प्रमुख पाटोले भन्नु भएको मलाई) तर राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रूप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ । यो कुराको न त मसँग प्रुफ छ, न त आज भूषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे । किन अहिले मात्र बोलिएको त उषा? : त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भएको सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी शायद मैले बुझिन, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त कातर नै हो । कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर…एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा ”nepotism”, “favoristim” किन? मैले Actors स्टुडियो का धेरै विद्यार्थीले पछाडि-पछाडि यो कुरा भनेको सुनेको छु । तर बिरालोको घाँटीमा कसले धन्टी बान्ने? अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आस लिएर, आँखा नखोलुन्जेल । यति भन्दा भन्दै, मलाई कसै प्रति रिस छैन । अनुप सरबाट धेरै राम्रो कुरा पनि सिकेकी छु, दिया आफैमा सक्षम अभिनेत्री हुन्, र यो संसार यस्तै हो, अनि मै होला: कला आध्यत्म हो, यसलाई चोखो राख्नुपर्छ भन्ने बुद्धु । यति भन्दा भन्दै, मैले कसै माथि कुनै बेला जानी-नजानी अन्याय, धोका, अपमान गरेकी छु भनी भन्नुहोला । सच्याउने मौका सबैले पाउनुपर्छ । शायद यो सबै भन्ने म गलत पनि होला । अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदूषित? नो, हैन । धेरै राम्रा गुरुहरू भेटेँ, निस्पक्षिय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु । कुरा प्रकाश फिल्मको : चलचित्र अवार्ड प्रति मेरो आस्था छ । एक दिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु । हिजो आर्टिकल पढें: वेस्ट फिल्म अवार्ड हराएको रहेछ । फिल्म एकदम राम्रो छ, अवार्ड लायक । यसरी पुरस्कार गायब गरिएको बारे घोर निन्दा गर्दछु । चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु । परेमा अझै साथ दिइनेछ । किनकि अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दुःख हुन्छ भनेर । सबैको भलो होस्! जय नेपाली सिनेमा!