नेपाली फिल्म उद्योगमा अहिले फिल्मभन्दा धेरै फेसबुकको पोस्ट र स्टाटसले चर्चा पाएको छ, कारण पनि स्पष्ट छ—अभिनेता दीपकराज गिरी र निर्माता सन्तोष सेनबीच चलिरहेको कुतर्क र कटाक्षको युद्ध। एकातिर दीपकराज छन्, जसले सामाजिक सञ्जालमै सन्तोषलाई लक्ष्य गर्दै व्यंग्य गर्दै लेखे–“आफ्नो हिरो बाघ, अरूको स्याल, बाघ पनि जनावर नै हो”, भने अर्कोतिर सेनले गिरीलाई ‘पापी सोच’ भएको, ‘हार मान्न नसक्ने’, ‘फेक अकाउन्ट बनाएर दर्शकको भावनासँग खेल्ने’ भन्दै झन् ठूलो प्रहार गरे। यी दुईको आरोप–प्रत्यारोप सामान्य दर्शकका नजरमा भने बालबालिकाले इट्टा हानाहान गरेको खेलभन्दा फरक छैन, तर यसले नेपालको चलचित्र क्षेत्रलाई गम्भीर चोट पुर्याइरहेको छ भन्ने वास्तविकता उनीहरूले बुझेजस्तो देखिँदैन। दीपकराजले खुलेर माइतीघरको समर्थन गर्दै बलिदानलाई व्यंग्यका गोली चलाइरहेका छन् भने सेन आफ्नो फिल्मलाई ‘बाघ’ भन्दै हरेक आलोचनालाई आक्रमणको रूपमा लिइरहेका छन्। दुबैको फेसबुक स्टाटस पढ्दा लाग्छ, यी मान्छेहरू फिल्म बनाउनभन्दा बढी सस्तो चर्चाको नशा खोजिरहेका छन्, र दर्शकलाई मनोरञ्जन दिनुभन्दा बढी तानेर, भड्काएर, एकअर्कालाई गाली गरेर आफूलाई ‘फिल्मी डन’ देखाउन खोजिरहेका छन्। तर वास्तविकता के हो भने—फिल्म हेर्ने दर्शकलाई न बाघ चाहिएको छ, न स्याल; उनीहरूलाई त राम्रो कथा, बलियो अभिनय र सफा मनोरञ्जन मात्र चाहिएको हो। तर यहाँ भने दर्शकको भावनालाई राजनीतिक गुट जस्तै खिचातानी गरेर, फिल्मलाई युद्धको मैदान बनाएर, सिर्जनालाई होइन, स्वार्थलाई प्राथमिकतामा राखिएको छ। यसरी सार्वजनिकमै अशोभनीय जुहारी गरेर दीपकराज र सन्तोष दुवैले दर्शकको विश्वासमाथि खेलबाड गरेका छन्, जुन उद्योगकै लागि घातक हो। आखिर यो सब देख्दा एउटै कुरा भन्न मन लाग्छ—बाघ र स्याल दुवै जंगलको राजा होइनन्, तर दुवैको लडाइँले जंगल जल्छ भने त्यसको खरानीमा न फिल्म अंश बन्छ, न कलाकारको इज्जत बाँकी रहन्छ।