सिनेमा समाजको प्रतिबिम्ब हो भन्छन् । हरेक समाजसंग उसले विरासत स्वरूप प्राप्त गरेका केही मूल्य र मान्यता हुन्छन् जसको आडमा समाज आफूलाई निर्देशित गर्छ । विश्व समुदायले प्राप्त गरेको विरासत हो लैगिंक विभेद ।  यो सनातन विरासतबाट सिनेमा क्षेत्र पनि अछुतो छैन । विश्वभर मौलाएको र फैलिएको सिनेमाको पहुँचमा हरेक समाज छ । अनि यसको प्रभाव पनि समाजको हरेक तह सम्म पुग्ने गर्छ । गएका केही दशकयता यता संञ्चारको सशक्त माध्यमको रूपमा सिनेमाले आफूलाई स्थापित गरेको छ । विश्वभरका विविध समुदाय तथा तिनको विचार, भावना र इतिहासलाई एक अर्कामा परिचित गराउने ठुलो माध्यम पनि बनेको छ, सिनेमा ।
सिनेमा सधैँ आफ्नो विभेदकारी कार्यका कारण आलोचित हुने गर्छ । यस्ता विभेद देश काल र परिस्थती अनुसार फरक फरक हुन सक्छन् । तर मूलभुत रूपमा सिनेमाले महिलाप्रति देखाउने रवैयाका कारण सिनेमाले विश्वव्यापी आलोचनाको सिकार बन्नु परेको छ । सिनेमाको पर्दामा मात्रै होइन । सिनेमाको पर्दा पछाडिबाटै महिलामाथि विभेद प्रारम्भ हुन्छ त्यो विभेदको छायाँ सिनेमाको पर्दामा पनि प्रस्टै देख्न पाइन्छ । अमेरिकाको सेन डियागो स्टेट युनिर्भसिटीले गरेको अध्ययनलाई आधार मान्ने हो भने सन् २०१४मा सार्वजनिक भएका हलिउड सिनेमाहरुमा प्रयोग भएका कुल संवाद मध्ये जम्मा जम्मी २८.७ प्रतिशत मात्रै महिला कलाकारको भागमा थिए । 
महिलाहरुमाथिको विभेदको यो सनातन प्रचलन हलिउडमा मात्रै होइन विश्वभर प्रचलित छ । सन् २०१५मा सार्वजनिक भएका १ सय वटा प्रमुख हलिउड सिनेमाहरुमा निर्देशक, लेखक, उत्पादक, कार्याकारी उत्पादक, सम्पादक, सिनेम्याटोग्राफरको सूचि हेर्ने हो भने त्यसमा १६ प्रतिशत मात्रै महिलाको नाम देख्न पाइन्छ । सेन डियागो स्टेट युनिर्भसिटीको टेलिभिजन एन्ड फिल्म विभाग अन्र्तगतको महिला अध्ययन केन्द्रकी कार्यकारी निर्देशक मार्था एम लाउजेनको भनाई अनुसार पछिल्ला १६ वर्षमा अमेरिकी सिनेमा उद्योगमा महिलाहरूको रोजागरिको मात्रा बढेको छ भन्ने आधारहरुको कुनै प्रमाण छैन । मार्थाको यो भनाईसंग पूर्ण सहमत हुन नसकिने आधारहरु पनि थुप्रै छन् । सिनेमा उद्योगले पुरुषहरुको हाराहारीमा महिलाहरूलाई रोजगारी प्रदान नगरेपनि महिलालाई रोजागरि भने प्रदान गरिरहेकै छ । तर सिनेमा उद्योगमा प्रवेश गर्ने महिलाहरू कति समय यो उद्योगमा रहन्छन र कति सहजै प्रवेश गर्छन् भन्ने विषय अर्को महत्त्वपूर्ण विषय हो । 
तुलसि घिमिरेले २०७३ माघ १३ गते अन्नपूर्ण टुडेमा लेखेको एक आलेखमा २०२२ सालमा निर्माण भएको आमा सिनेमाकी अभिनेत्री भुवन चन्दको सिनेमा प्रवेशलाई क्रान्तिको संज्ञा दिएका छन् । त्यही क्रान्तिको मार्ग पच्छ्याउँदै धेरै अभिनेत्रिहरु सिनेमा उद्योगमा प्रवेश गरे । सिनेमाले महिलालाई अभिनय भन्दा धेर रूप र शरीरको बनौटको आधारमा प्रस्तुत गर्ने गरिएको यथार्थ तपाईँ हामी सबैले सिनेमाको पर्दामा देखेकै छौ । सिनेमा व्यवसायीकताको नौलो मापदण्ड मानिएको महिलाको रूप र देहको बनौट अनि प्रर्दशनले सिनेमामा महिलाको भूमिका निर्धारण गर्छ । सिनेमामा महिलाको पहिरन बाहेक अरू केही बद्लिएको छैन भन्दा हुन्छ । गुन्यु चोलीमा सजिएर आसुँ बगाउने महिलाको भूमिका बिकनी पहिरेर बियर र चुरोटको धुवाँ उडाउने कलामा रूपान्तरण मात्रै भएको हो । सन् २०१६मा प्रकाशित अमेरिको सिनेमा अध्ययन संस्थानको प्रतिवेदन अनुसार सन् २००७ देखि २०१६ सम्मका व्यावसायिक तथा कलात्मक दृष्टिले उत्कृष्ट ठानिएका ८ हजार सिनेमा मध्ये २९ प्रतिशत भन्दा धेरै सिनेमामा महिलालाई नग्न प्रस्तुत गरिएको थियो जब की तिनै सिनेमामा नग्न प्रस्तुत गरिएका पुरुषको सङ्ख्या ९.५ प्रतिशत मात्र थियो ।
गत कार्तिक १८ गतेको अन्नपूर्ण पोस्टको फुर्सद परिष्टाकंमा लेखक तथा प्रत्रकार अभय श्रेष्ठले महिला हिरोका चर्चित १० फिल्मको सूचि तयार पारेका छन् । उक्त सूचिमा सन् १९६२ देखि २०१५ सम्मका सिनेमाहरु छन् । करिब एक शताब्दीको यो अवधिमा महिलालाई केन्द्रबिन्दुमा राखेर सम्झन योग्य सिनेमा कति थोरै निर्माण हुँदा रहेछन् भन्ने उदाहरण हो यो । र ती सिनेमाले पनि महिलालाई कसरी प्रस्तुत गरेका छन् । यो अर्को विषय हो नारीवादीहरुका लागि । सिनेमा ब्लेन्डका अनुसार विश्वभर निर्माण हुने सिनेमामा जम्मा २३ प्रतिशत सिनेमा मात्रै महिलालाई प्रमुख पात्र बनाएर राखेर निर्माण गर्ने गरिन्छ । 
सिनेमाले महिला पात्रलाई सधैँ सिनेमाको व्यापार बढाउने सूत्रका रूपमा प्रयोग गरेको छ । सिनेमाले महिला पात्रलाई मात्रै अवमूल्यन गरेको छैन, समग्र महिलालाई नै अवमूल्यन गरेको छ, भन्नेहरु पनि छन् । भन्नलाई उनीहरूलाई हिरोईन वा नायिका भनिए पनि कथावस्तुलाई गति दिन महिला पात्रको भूमिका खासै हुँदैन् । उनीहरू त पुरुष पात्रको सहायक पात्रको रूपमा हुन्छन्  । बरु त्यस्तै प¥यो भने सिनेमा हेरिरहेका पुरुष दर्शकलाई शौचालयतर्फ डो¥याउन सक्छन् । 
सिनेमामा उपभोत्तावादी संस्कृतिको विकास भएसंगै सिनेमाको मार्ग मनोरञ्जन र मुनातर्फ मोडियो ।  विश्वव्यापीकरणको दौरमा सिनेमा संसार यसबाट जोगिने त कुरै छैन । यसको विपरीत सिनेमाले उपभोक्तावादी संस्कारको विकासमा सहयोग गरेको छ । परोक्ष या प्रत्यक्ष रूपमा । २१ औँ शताब्दीको प्रारम्भसंगै सूचनाले निम्त्याएको परिवर्तनले यो दर्शाउँछ की परिवर्तन संञ्चारमा मात्रै भएको होइन । संञ्चारसंग जोडिएका सामाजिक व्यवस्था तथा मानोविज्ञानमा पनि परिवर्तन भएको हो । कला र सामाजिक चेतनाका लागि सक्रिय रहेको  सिनेमा उद्योगपतिहरुको रुचिको नौलो क्षेत्र बन्यो । उद्योगपतिको सिनेमा प्रवेशले सिनेमालाई व्यावसायिक पनि बनायो । अर्कोतर्फ सिनेमा निर्माणका लािग ठुला ठुला उत्पादन गृह संञ्चालनमा आउँदा सिनेमा निर्माता, कलाकारले मात्रै नभई समग्र सिनेमा उद्योगले आर्थिक समृद्धि पनि हाँसिल गरेको छ । उपभोक्तावादको मौलाउँदो स्वरूपमा सिनेमा पनि मिसियो । अनि सिनेमाले नारीलाई कथाको ग्रह्यता भन्दा धेर बजारीकरण गरेर प्रस्तुत गर्ने जमर्को गरेको छ । सिनेमाले नारीलाई बजार वृद्धि गर्ने एक नयाँ तौर तरिकाको रूपमा प्रस्तुत गर्दै छ । सिनेमाका विविध रुपहरुमा महिलाको उपस्थिति अनिवार्य भएको छ । तर त्यो चरित्र बजार निर्माण र विस्तारमा मात्र केन्द्रित छ । संख्यात्मक रूपमा सिनेमा जगतमा महिलाको उपस्थिति बाक्लो देखिएपनि यसको गुणवत्तता र त्यसका प्रभावका विषय भने कमजोर बन्दै गरेका छन् ।  
विभिन्न बहुउदेश्यि कम्पनीहरूले सिनेमा स्पोन्सर गर्न थालेका छन् । सिनेमाको आर्थिक पक्षको लागि यो उत्कृष्ट सुरुवात भए पनि ती कम्पनीहरूले सिनेमाको प्रयोजन आफ्नो नाफाका लागि गर्ने गर्छन् । जसको प्रभाव सिनेमाको विषयवस्तु र प्रस्तुतिमा पनि पर्ने गर्छ । कलाका अन्य विधाको तुलनामा सिनेमाको बजार ठुलो र फराकीलो भएको सबैले बुझेका छन् । त्यस कारण पनि सिनेमाको बजारमा महिलाको प्रयोग अपरिहार्य भएको छ । तर एक बस्तुको रूपमा वा विक्रेताको रूपमा मात्र । सिनेमाको माध्यमबाट सिनेमा मात्रै बेचिदैन् अन्य उत्पादनहरू पनि सिनेमाको प्रयोगले बेच्ने परिपाटी विकास भएको छ । यसले सिनेमाको बहुप्रयोगलाई दर्शाउँछ । 
पुँजीवादी युगको मागलाई सम्बोधन गर्न पनि सिनेमाले महिलाको भरपुर प्रयोग गरेको पाइन्छ । सिनेमाले सुरुवातीका कालखडमा महिलालाई आफ्ना पति, परिवार र बच्चाको लागि आफूलाई सर्मपित गर्ने पर निर्भर महिलाका रूपमा प्रस्तुत गर्ने कार्यलाई नै जोड दियो । जुन कार्य गर्न हाम्रो धर्मशाश्त्र वा सामािजक आर्दश कुनै कसर बाँकी राखेको थिएन् । अर्कातर्फ जो महिलाहरू समाजिका मूल्य र मान्यताको स्विकार्यतामाथि प्रश्न उठाउने हिम्मत गर्छन् तिनलाई खलनायीकाको रूपमा प्रस्तुत गरियो । तर के समाजमा यी र यस्तै प्रकारका महिला मात्र छन् त ? अथवा यसरी प्रस्तुत गरिने नारीको चरित्रले वर्तमान नारीहरूको कति प्रनिधित्व गर्छ  ? 
समाजका निर्मित आदर्शभन्दा बाहिर महिलाका पाइला पुगिसकेका छन् । विश्वव्यापी रूपमा महिलाको सामाजिक दायरा विस्तारित हुँदो छ । सिनेमामा नारीको प्रवेशस र विस्तारिकणसंगै  समाजमा पनि धेरै परिवर्तन आएको देख्न सकिन्छ । पूर्वीय समाजले स्वीकार गरेका सामाजिक मूल्य र मान्यतामा नारीको स्थानमा केही फेरबदल भएको छ । कलाका अन्य विधाको तुलनामा सिनेमा सहज र ग्राह्य छ । त्यसैको प्रभाव स्वरूप आज समाजका धेरै वैचारीकीमा परिवर्तन आएको छ । आज महिलाहरू पनि निर्देशक, सिनेमाटोग्राफर, डिजाईनर स्क्रिप्ट लेखक जस्ता विविध भूमिकामा देखा पर्न थालेका छन् । (बेला बेला महिलाले निर्देशन गरेको सिनेमाले नै महिलाहरू लञ्जित बन्नुपरेको धारणा पनि बाहिर आउने गर्छन् । यो बेग्लै कुरा हो ।)  
सिनेमा समयको चित्रण हो । सिनेमाले समयको आवाज पनि ओकल्छ । सिनेमाको प्रयोजन जे जस्ता भनिएपनि मूलभूत रूपमा सिनेमाले जीवनको प्रतिबिम्ब उतार्न सक्नुपर्छ । यदि यो भनाईसंग सहमत हुने हो भने सिनेमाले महिलामाथि गरेको विभेद स्वीकार्य हुन्छ ? केही वर्ष अगाडी सम्म नेपाली सिनेमाले नारीको चरित्रलाई सामाजिक आर्दशको बनिबनाउ खोलमा प्रस्तुत गर्ने गरेको थियो । त्यो आर्दश पछिल्ला दिनमा केही कम देखिएपनि महिलाहरूले यथार्थमा निर्वाह गरेको सामाजिक भूमिका भने सिनेमाले भूलेको छ । र त  अझै पनि लाग्छ सिनेमाले नारी जीवनलाई मात्र एक ऐनाबाट हेर्ने प्रयास गरेको छ । समग्रतामा अझै पनि सिनेमाले नारी जीवनलाई प्रस्तुत गर्न कञ्जुस्याई गरिरहेको छ ।  

समानता र समताको दुहाई दिने संसारकै ठुलो सिनेमा उद्योग हलिउड पनि महिला हिंसामा अग्रस्थान मै छ । हलिउडमा सिनेमाका पर्दामा ७८ प्रतिशत पुरुषहरुको दवदबा रहेको हुन्छ । तर गएका ४ दशकमा विश्वव्यापी रूपमा सबैभन्दा धेरै प्रभाव र पकड जमाएको कुनै एक क्षेत्रको नाम लिनु पर्दा सिनेमा पहिलो नम्बरमा आउन सक्छ । यति मात्रै होइन सबैभन्दा छिटो मौलाएको र  विस्तार भएको उद्योग पनि सिनेमा उद्योग हो । (यदि यसलाई उद्योगको रूपमा लिने हो भने) भारतमा सन् १९३१ ताका भारतीय नारीले बाँचिरहेको जीवनका विविध आयमाहरु समेटर सिनेमा निर्माणको लहर चलीरहँदा त्यसको ठिक २० वर्ष पछि नेपाली भासको पहिलो सिनेमा बनेको थियो ।
सिनेमा कलाकै एक स्वरूप मान्ने हो भने कलाले कतै न कतै मानिसमा रहेको सुषुप्त विद्रोही चेतनाको उजागर गर्ने गर्छ । पछिल्ला केही वर्षको सिनेमालाई नियाल्ने हो भने सिनेमा उद्योगमा महिलाहरूको अवस्थामा सुधार आएको छ । सिनेमाहरुमा महिलाको उपस्थिति पनि बाक्लीएको छ । केही वर्ष मात्रै पछाडि फर्केर हेर्ने हो भने महिलाहरूले परिवार भित्रै र सामाजिक रूपमा भोग्नु परेको प्रातडनाहरुको हाली मुहाली रहेका कथाहरूमा सिनेमा निर्माण गर्ने प्रचलन थियो । तर आजभोली  सिनेमासंग यी विषयहरूको लागि त्यति धेरै सयम छैन । यसो भनिरहँदा पारिवारिक र सामाजिक प्रातडनाको सिकार महिला बनिरहेका छैनन् भन्ने होइन ।  
कृष्ण धरावासीको झोलामाथि बनेको सिनेमा पनि एक सशक्त सिनेमाको रूपमा लिन सकिन्छ । भलै यो अलिक पछि निर्माण भयो । तर पनि यसले समाजको कुनै कालखण्डलाई दृश्यमा रूपान्तरण गरेको छ  । जसले निश्चय नै इतिहासको क्रुरता केलाउन सघाउन पुग्छ  ।
सिनेमा कतै न कतै जीवन सँग जोडिन आईपुग्छ । वा हुन सक्छ जीवन सिनेमासंग जोडिन जाओस । सिनेमा समाजका विविध पक्षहरुमाथि निर्माण गरिनुपर्छ न कि कुनै व्यावसायिक उत्पादनको प्रयोगको लागि । आज पनि समाजको गहिराईमा महिलालाई लिएर विभिन्न कुरितिहरु विद्यमान छन् । समाजका वैचारीकीहरु जड छन् । सिनेमाको विकासक्रमलाई हेर्दा महिलाका समस्या र कथाको मार्ग हँुदै हिडेको त छ । तर तिनमाथि बहस गराउन भने असमर्थ भएको छ । 
बढिरहेको शहरिकरणको जिन्दगीले महिला पुरुषबीच खासै ठुलो अन्तर सिर्जना नगरेपनि भित्र निकै मतभेद पनि विद्यमान छन् । विलासी जीवनले टुक्रीदै गरेका परिवार र तिनका बाछिटाबारे हाम्रो सिनेमा जगत नजरअन्दाज गरिरहेको हो  ? नायिका केकी अधिकारले २०७३ माघमा इलामेली खबरलाई दिएको एक अन्र्तवार्तामा नयाीकाहरु सिनेमाको लागि पाहुना जस्तै मात्र हुन्छन् भनेकी थिइन् । उनको यो अभिव्यत्तिले पनि सिनेमामा महिलाको अवस्थाको पुष्टि गर्छ । अझै पनि सिनेमाले नारीलाई एक भोग्य वस्तुको रूपमा उपभोग गरिरहेको छ । सिनेमाका नारीको उपपिस्थीती कालात्मक भन्दा पनि ग्लयामरस धेरै हो । सिनेमाले मात्रै होइन सिनेमा निर्माता र निर्देशकले पनि महिलालाई यौन सामाग्रीका रूपमा लिने गरेका धेरै उदाहरणहरू समचार पत्रका गसिप कोलममा तपाईँले पढ्नु भएकै होला । केही समय अगाडी मात्रै दुई नायिकाले सिनेमा निर्माताले आफूमाथि गरेको र्दुव्यवहारको बारेमा सामाजिक संञ्जालमा आक्रोश पोखेकी थिइन् । यी प्रतिनिधि घटनामा मात्रै हुन् । सिनेमा र तिनका पर्दापछाडी नियाल्दै जाने हो भने डरलाग्दो तथ्य फेला पार्न सकिन्छ । 
सिनेमाले परंम्परालाई त्याग्दै÷विस्थापित गर्र्र्र्दै नयाँ परम्परा आत्मसाथ गर्न अप्रत्यक्ष तवरमा उक्साईरहन्छ । तर स्थापित परम्परा त्याग्दा भोग्नुपर्ने सामाजिक तथा मानसिक कठिनाइका विषमा भने सिनेमा मौन बसिदिन्छ । सिनेमा व्यवासायीक प्रयोजनका लागि निर्माण हुने भए पनि यसका केही सामाजिक दायित्व पनि रहन्छन् । हामीले निर्माण गर्ने गरेका सिनेमाले हाम्रै प्रतिनिधित्व कति हद सम्म गर्छन् ? यो प्रश्न आजको मुख्य प्रश्न हो ।  
त्यसो त नेपालमा सिनेमाको सुरुवाती चरण नै महिला केन्द्रित सिनेमाबाट भएको मान्न सकिन्छ । सरकारी लगानीमा बनेका आमा । निजी क्षेत्रको लागनीमा बनेको माइतीघर, जस्ता सिनेमाको शीर्षक नै महिला केन्द्रित थियो । यी सिनेमाका कथा बस्तु पनि महिलाकै वरिपरि रहेर बुनिएको थियो । सिनेमा समिक्षक प्रकाश सायमीको लेखेको एक ब्लग अनुसार सिनेमाका शीर्षक र ब्यानरमा महिलाको नाम राख्नु नेपाली सिनेमा क्षेत्रको प्रचलन भए पनि सिनेमाको सिर्जनात्मक पक्षमा महिलाको उपस्थिति अझै कमजोर रहेको छ ।
सिनेमाको विषबस्तु र सिनेमा निर्माणकै चरणमा महिला पछाडि पर्नु सिनेमा उद्योगका लागि पक्कै पनि लाभदायी नहोला । अर्कोतर्फ सिर्जनातम्क क्षेत्रमा महिलाको उपस्थिति शून्य प्राय देखिनुले पनि सिनेमाको साख कमजोर बनाउन सक्छ । सिनेमा क्षेत्रमा हुने विभेदमा पुरुष आईडीयोलोजीको मात्रै भूमिका छ ? यो प्रश्न एक पटक महिला आफैले आफैलाई सोध्नुपर्ने हुन्छ । बाध्यात्मकताको नाममा आउने जवाफ सबैका लागि कालान्तरमा कठोर प्रश्न बन्न सक्छ ।