अभिनेत्री वर्षा शिवाकोटी चलचित्र ‘गंगा रानी’मा अनुबन्धित भएकी छन् । अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ ।
आहा फिल्मस्को प्रस्तुतिमा बन्ने यो चलचित्रको छायांकन भदौ दोस्रो हप्ताबाट सुरु गरिने निर्देशन साने बताउँछन् । चलचित्रमा लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ । यो सँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ । एक पोस्टरमार्फत टिमले मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो ।
पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ ।
निर्माण टिमका अनुसार इच्छुक कलाकारहरूले आफ्नो परिचय भिडियो वा पोर्टफोलियो सहित दिइएको इमेल aahafilmspvtltd@gmail.com मा आवेदन पठाउन सक्नेछन् । आवेदन अवधि जेठ २० सम्म रहनेछ ।