सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायाङ्कन सम्पन्न भएको छ । अस्त्र फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायाङ्कन ९० दिनमा पूरा गरिएको निर्माण टिमले जनाएको छ ।
चलचित्रको छायाङ्कन नेपालका सर्लाही, दाप्चा, काठमाडौँ र भक्तपुरसँगै भारतको राजस्थानमा गरिएको हो । कथावस्तु र दृश्यको आवश्यकताअनुसार निर्धारित समयभन्दा बढी समय लगाएर चलचित्रको छायाङ्कन गरिएको निर्माण टिमको भनाइ छ ।
प्रकाश कर्णको कथा तथा निर्देशन रहेको ‘जुबा’मा सौगात मल्लसँगै सोफी धरेल र सुधन पोखरेल मुख्य भूमिकामा छन् । सोफीले यही चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछिन् भने सुधन पहिलो पटक मुख्य भूमिकामा देखिँदैछन् । उनले यसअघि अभिनय गरेका दुई चलचित्र भने प्रदर्शन हुन बाँकी छन् ।
वर्षा पौडेलको लेखन रहेको चलचित्रकी निर्मात्री सजना थापा र सह निर्माता शेखर पाण्डे हुन् । निर्माण टिमले अब पोस्ट–प्रोडक्सनमा पर्याप्त समय दिँदै चलचित्रको गुणस्तरमा ध्यान दिने जनाएको छ ।
‘जुबा’को घोषणा क्रममा सार्वजनिक तीन क्यारेक्टर पोस्टरले चलचित्रप्रति कौतुहलता बढाएको थियो । पोस्टरमा सौगातको फरक लुक्स, पीसीओबाट फोन गरिरहेको दृश्य तथा सिगारसहितको सुधनको चरित्र देखाइएको थियो । सुधनको गेटअपले उनी चलचित्रमा खलपात्रको भूमिकामा हुनसक्ने संकेत गरेको छ ।
कलाकारको पहिरन, गेटअप र दृश्य परिवेशले चलचित्रको कथा करिब दुई दशकअघिको समयसँग सम्बन्धित हुनसक्ने देखिए पनि निर्माण टिमले कथावस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन । पोस्ट–प्रोडक्सनको कामसँगै उपयुक्त मिति तय गरेर छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।