असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा २’को नयाँ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक गरिएको छ। चलचित्रको प्रचारप्रसारलाई लक्षित गर्दै निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो।

डान्सिङ बिटको गीतमा पल शाह, मलिका महत र आकाश श्रेष्ठलगायतका कलाकार सामूहिक नृत्यमा रमाइरहेको देख्न सकिन्छ। सामूहिक विवाहको परिवेशमा तयार पारिएको भिडियोमा दुलाहा दुलहीदेखि अन्य कलाकारसम्म छमछमी नाचेको देखिन्छ। गीतको नृत्य निर्देशन गम्भीर बिष्टले गरेका हुन्।

रोचक कुरा त, ‘अचेल किन कान्छी’को भिडियो एक दिनअघि मात्रै छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। गीतमा शब्द तथा संगीत बाबुल गिरीको रहेको छ भने रवि ओड र गंगा सोनामले स्वर दिएका छन्। सामूहिक स्वरमा शंकर सिंह ठकुरी, प्रेम राई, अञ्जना खतिवडा र सुस्मिता दाहालको सहभागिता छ।

गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। चलचित्र ‘आ बाट आमा २’मा पल शाह र मलिका महतले पहिलोपटक सहकार्य गरेका हुन्।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका छ।

चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तको सहकार्य रहेको छ भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह प्रोडक्सन एक्जिक्युटिभ रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ।