प्रदर्शनको तीन दिनअघि चलचित्र ‘अक्षरा’को स्याड सङ ‘भाग्यले होकी’ सार्वजनिक गरिएको छ। आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण टिमले गीतको भिडियो सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई भावुक शैलीमा प्रस्तुत गरिएको छ। ‘भाग्यले होकी मलाई जिन्दगीले ढाँट्यो’ भन्दै न्यान्सीलाई पीडामा देखाइएको छ भने सुशील र रिस्ताको भावुक दृश्यले पनि गीतको भावलाई थप गहिरो बनाएको छ। गीतको कथासँग चलचित्रको सम्बन्ध भने हलमा चलचित्र हेरेपछि मात्रै खुल्नेछ।

रचना रिमालको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘अक्षरा’मा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुङ्गाना छन्।

उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन्।

चलचित्रको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको चलचित्रलाई दिपेन बस्न्यातले छायांकन गरेका छन् भने सम्पादन गौतम खड्काले गरेका छन्।

नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले चलचित्रको नेपालभर वितरणको जिम्मेवारी लिएका छन्। चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।