गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा झनै बढेको छ । दोस्रो साताको शुक्रबार र शनिवार पहिलो साताको तुलनामा व्यापार पनि बढेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।

उनले भने, ‘दोस्रो सातामा प्रवेश गरेपछि हामीसँग सो सङ्ख्यासँगै दर्शकको उपस्थिति पनि बढी छ । पहिलो साता भन्दा दोस्रो सातामा दर्शकको उपस्थिति बढ्नुले हाम्रो चलचित्रलाई दर्शक सन्तुष्ट छन् र आफैँले प्रचार गरिरहेका छन् भन्ने प्रमाणित गर्छ । दर्शकले चलचित्रमा देखाईएको आमाको सङ्घर्षलाई रिलेट गरेका छन्, धेरै दर्शक रोएको पाएका छौँ ।'

उनले बादी समुदायकै अभियन्ताले समेत फिल्म हेरेपछि तारिफ गरिरहेको बताए । उनका अनुसार आज नेपालभर फिल्मले २ सय २७ शो पाएको छ । यो अघिल्लो साताको तुलनामा बढी हो ।  

चलचित्रमा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीको कामको तारिफ भइरहेको छ । चलचित्र हेरेर निस्किने दर्शकले दुवैको कामलाई निकै तारिफ गरेका छन् । चलचित्रले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले चलचित्रको बारेमा गरिएको अड्कलबाजी चलचित्र हेरेपछि स्पष्ट हुने बताए । उचलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्र ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । 

चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलरिस्ट रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउन्ड म्युजिक तथा मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट), मिडिया संयोजक सिपी जैशी, कस्ट्युम डिजाइनर तथा स्टाइलिस्ट जानकी कडायत, मेकअप आर्टिस्ट काव्या थापा तथा सङ्गीतकार प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको योगदान रहेको छ ।