कफीशपकी बहिनी एक्लै थिइन् ।
मैले एउटा क्यापुचिनो अर्डर गरेँ ।
आज त एक्लै आउनु भो - उनले भनिन् ।
धत् म पनि ! बिचरी एक्ली तिनलाई हेरेर मुस्काइदिँदा के जान्थ्यो ? अरू कोही त थिएन बोल्नलाई पनि ।
तिमी पनि त एक्लै रैछ्यौ आज - मैले भनेँ । दुवै हाँस्यौ ।
अब म कसरी भनौं तिनलाई कि मैले उनलाई आग्रह त गरेको थिएँ तर उनले उस्तरी रुचि देखाए जस्तो लागेन, मैले कर गर्ने पनि कुरो भएन । मनमनै भनेँ कुनै अर्को दिन सोधौंला फेरि ... नभए अझ फेरि ।
चिसो स्याँठ आयो सिसाले नबारेको ठाउँबाट, मलाई पनि गफ गर्ने मुड आयो ।
यस्तो ठाउँमा कसरी लिएर आउनु अरूलाई ?- मैले भनेँ ।
हेर्नू न, एक वर्ष हुन लाग्यो बार्न भनेको । यो मिस्त्रीले पनि छेपारैको कथा बनाइसक्यो - तिनले भनिन् । अनि हाँसिन् ।
हिस्सी परेकी रहिछन् । यत्तिका दिनमा आज ख्याल गरेँ ।
पहिला म 'लात्ते' पिउने गर्थें, क्यापुचिनोको फिँजलाई के बेसी पैसा हल्नु भनेर । तर पछि ख्याल गरेँ डिजाइन त क्यापुचिनोमा राम्रो निस्कने । अनि त बस् क्यापुचिनो ।
तिनले मेरो अर्डर राखिदिइन् टेबलमा । वरिपरि मास्तिर बत्तीका गुलुबहरु रङ्गिचङ्गी भाँडाहरुमा झुण्डिएका थिए ।
अझ आज त ती बहिनीले हार्दिकता देखाएर टिलपिल फिँज बनाएर ल्याएकी थिइन्, पानका पात जस्ता बुट्टा पनि प्रस्ट र राम्रा थिए ।
एक्कासि मेरो सोचमा आयो फिंजको आवरण भित्र लुकेको कफीको सुगन्ध र न्यानोपन ।
आयो उनको याद अनायस र मन भयो उदास उदास ... अघिसम्मको फुरुङ्ग मन ।
उनको कमजोर "होस्" पन्छाएर ती आँखाभित्रको प्रेमभाव किन देख्न सकिनँ ?
"मुझसे बिछडके खुश रहते हो/ मेरी तरह तुम भी झुठे हो" गुन्जिरह्यो यो पार्श्वगीत भित्र कतै।
अब न क्यापुचिनो एक्लो थियो न म ।
फिंज माथिको बुट्टा मलाई अझ प्रस्ट, अझ सुन्दर लागेर आयो ।
टेबलको अर्को छेउको कुर्चिमा बसेकी उनीसँग म गफ्फिदैं थिएँ 'लाइफ इज बिउटिफुल' भन्दै । प्लेटको सिन्नामोन रोल हामी बाँडिचुँडी खाँदैथियौं, चकलेट क्रोइसन्टको चकलेटको भाग मैले उनकालगि छाडेको थिएँ ।
मेरो मन न्यनो पार्दै कफी टेबलमा चिसिंदै थियो ।
मनले चाह्यो पहिलो चुस्की उनले लिउन् ।