सत्ययुग देखि कलिउग सम्म आउँदा शक्ति, अधिकार र नैतिकताको बिचमा एक गहिरो सङ्घर्ष चलिरहेको छ। इतिहासले हामीलाई देखाउँछ कि जहाँ शक्ति केन्द्रित हुन्छ, त्यहाँ अधिकारको दुरुपयोग हुने सम्भावना बढ्छ, र त्यही स्थान नै नैतिकताको परीक्षा स्थल बन्न जान्छ। तर आजको सन्दर्भमा हेर्दा, धेरै ठाउँमा शक्ति प्राप्त गर्न र जोगाई राख्नका लागि नैतिकता बिर्सिने गरिएको छ। नेतृत्वमा रहेका व्यक्तिहरूले आफ्नो पदको दुरुपयोग गर्दा नागरिकका अधिकार कुण्ठित हुन्छन्। यस्तो अवस्थामा समाजमा अविश्वास फैलिन्छ, र लामो समयसम्म त्यो समाजमा स्थायित्व आउन सक्दैन। अहिलेको अवस्थालाई उजागर गर्दै र चोटिलो व्यंग्य प्रहार गर्दै थापा गाउ स्थित मण्डला नाटक घरमा यतीबेला नाटक ‘अर्को एउटा द्रोणाचार्य’मन्चन भैरहेको छ । चर्चित भारतीय लेखक डा. शङ्कर शेषको नाटक ‘एक और द्रोणाचार्य’मा आधारित यो नाटकलाई सम्राट भुजेल र श्रीशेष श्रेष्ठले नेपालीमा रुपान्तरण गरेका हुन् ।महाभारतको कथा अनेकौं पात्रहरूद्वारा निर्देशित छ, तर तिनमध्ये द्रोणाचार्यको भूमिका विशेष छ। उनी केवल गुरु मात्र होइनन्, शक्ति, कर्तव्य र नैतिकताको गहिरो सङ्घर्षमा होमिएका व्यक्तित्व हुन्।द्रोणाचार्यको जीवनमा सबैभन्दा गहिरो द्वन्द्व तब देखिन्छ जब उनी कुरुक्षेत्र युद्धमा कौरव पक्षमा सहभागी हुन्छन्। उनी धर्मको पक्ष पाण्डवमा देख्थे, तर दायित्व र निष्ठाको नाममा कौरवहरूको पक्ष लिएका थिए। उनका यस्ता कार्यहरूले उनी एक गुरुका रूपमा विवादास्पद बन्न पुगे। यसैले आवश्यक छ—शक्तिमा रहेका व्यक्ति र संस्था नैतिक मूल्यहरूमा आधारित निर्णय लिन सकून्। अधिकारको संरक्षणलाई पहिलो प्राथमिकतामा राखियोस्, र शक्ति केवल सेवाका लागि प्रयोग गरियोस्। जबसम्म यिनै तीन आयामहरू बीच समन्वय र सन्तुलन कायम गरिन्न, तबसम्म कुनै पनि राष्ट्र वा समाजले समुन्नतिको मार्ग तय गर्न सक्दैन।नाटकमा उमेश सुनाम, कृतिका बस्नेत, आवाश भट्टराई, अर्जुन दुलाल, सनम श्रेष्ठ, भूपि, रोशन, श्रीशेष श्रेष्ठ, दीपेश गजुरेल, प्रेमदेव विश्वकर्मा, स्वर्णिम चापागाईं र सम्राट भुजेलको अभिनय रहेको छ ।उमेश तामाङको निर्देशनमा प्रस्तुत यो नाटक वैशाख ७ गतेसम्म मण्डला थिएटरमा सोमबारबाहेक हरेक दिन बेलुका ५ः१५ बजे र शनिबार अतिरिक्त शो दिउँसो १ः१५ बजे मञ्चन हुनेछ ।