समयको अविश्रान्त लोरी सुन्दासुन्दै
एक युग छुटिसकेछ
निख्रिसकेछन् मेरा आवाजहरू
बाबु
अब गीत गाउने तेरो पालो
यी धारिला खुट्टाहरूले चिर्दाचिर्दै
यी नदीका बाढहरु
बाढका खातैखातहरू
एउटा याम आँखैअघि बाढको धमिलो पानी भएर बगिसकेछ
रित्तिसकेछ गाग्री
बाबु
अब पानी भर्ने तेरो पालो
मेरै पैतालाले छापेर बनाएका हुन् यी बाटाहरू
जहाँ
तैंले भर्खरै पाइला अड्याउन सिकेको छस्
मेरा पैतालाहरू त त्यतै छुटिगए
मेरै नलीहाडहरू ताछेर उखेलेको हुँ काला वनहरू
र थोरै हावा दिएको हुँ नानीहरूका कल्याङकुलुङलाई
मेरा खुट्टाहरु त उतै छुटिगए
बाबु
मेरो जीवन फुलेको बागमा
एउटा आफूभन्दा निकै सुन्दर फूल हुर्काएँ
र मेरा हातहरू पनि फुक्लिएर झरे
मेरो आँखाको जून निभिसक्यो
शिरमाथिको चरा उडेर कहाँ कहाँ पुगिसक्यो
बाबु
अब सियो उन्ने तेरो पालो
बाबु
तँ मेरा खुसीहरूको महान पर्व
याद छ तँलाई ?
कसरी तँ मेरो काँधमा टेक्थिस्
र हामी एकादशीको मेला भर्न जान्थ्यौँ
त्यतिखेर तेरो बा त्यो मेलाभन्दा अग्लो हुन्थ्यो
बाबु
तँ मेरा सारा उमङ्गहरूको मुहान
याद छ तँलाई ?
कसरी तँ भर्खरै किनिएको नयाँ फोनिक्स साइकलको अगाडिपट्टि
टिरिङ टिरिङ घन्टी बजाउँदै बस्थिस्
र हामी पूरा सहरको सयर गर्थ्यौं
बाबु
तँ मेरो कायामा हाँसेको वसन्त बीउ
म ओछ्यान पर्दा
तँ स्कुल जाने झोला खाटमुनि हुत्त्याएर
खाटको खुट्टा समाउँदै
आँसुले भिजेको ईश्वरमाथि
न्याना प्रार्थनाहरू चढाउँथिस्
बाबु
तँ मेरो जीवनको अजम्मरी रुख
तँ सोध्थिस् नि
'बा कसरी यो तपाईंको मुटु यति दह्रो भएको?'
तेरा जराहरू धसिएका छन् नि त यो मुटुभित्र!!
बाबु
अब मसँग छैनन् केही बाँकी
बस् तँसँगै गुडुल्किँदै आएको
पक्की राजमार्गछेउ लठ्ठी टेकेर उभिएको जीर्ण घरजस्तो मुटु छ
बाबु
मेरो जीवनको पाउदान थामिइसक्यो
मेरो जीवनको बाटो
बलौटे माटोमा डोबिएको साइकलका टायर न हुन्
डोबिँदै गयो पुरिँदै जान्छ
तँ त अर्कै नयाँ शिराबाट खन्नू तेरो बाटो
आफैँ हुनू आफ्नो जीवनको पथप्रदर्शक
र टेक्नू गन्तव्य
बाबु
अब आफ्नो युगको अक्षर लेख्ने तेरो पालो ...!!