कहिलेकाँही मृत्युु पनि एक सपना बनिदिन सक्छ। 
आफूले रोजेको बाटो हिँड्न नपाउँदा र आफूले देखेको सपना बाँच्न नपाउँदा मानिसले हरेक रात निन्द्रामा अर्को चिर निन्द्राको सपना देख्न सक्छ। 
मानिसका आँखा वास्तवमै भ्रामक हुन्छन् यसो भनौँ हामीले सोचे अनुसार नै हाम्रा आँखाले दृश्यहरू सृजना गर्छन्। आफूले बनाएको परिवेशले हामी आफैलाई कुन जन्जालोमा धकेलिदिन्छ पत्तो नै हुँदैन । अलिअलि जानेरै र अलिअलि अन्जानमा भएका गल्तीहरु कहिलेकाँही जीवनको रफ्तार नै परिवर्तन गरिदिने तत्त्व बन्न पुग्छन् अनि हामी नलेखिएको भाग्य कुरेर आँसु झार्नुपर्ने स्थितिमा पुग्छौँ।
पिडाभित्र पनि हाँस्न जानेकाहरु मन खोलेर बालन गाइदिन्छन् र धान नाचिदिन्छन् विडम्बना अहम् र खुसी लुट्नेहरु आँखामा पट्टि बाँधेर आफ्नै खुसीको कोखामा छुरा रोप्छन् । 
चर्चित उपन्यास 'अटोन्मेन्ट' (इयान म्याक्विन ) को नेपाली करण नाटक 'चिसो भञ्ज्याङ्' बाल मनोविज्ञान, सामाजिक उच-निचता, वर्ग र वर्गिय द्वन्द्ले निम्त्याएको हामी र हाम्रा पुस्ता बाँचेको युगको कथा हो। अठारौँ शताब्दिको इङ्ल्यान्ड, दोस्रो विश्व युद्धको बेलाको इङ्ल्यान्ड र वर्तमान इङ्ल्यान्डको परिवेशमा तीन भिन्न समयाबदिको सेरोफेरोमा रचिएको यस उपन्यासले बिसौँ शताब्दिको नेपाल, दश वर्षे जनयुद्धको बेलाको नेपाल र वर्तमान नेपालको झल्को दिन्छ । 


पूर्वी पहाडमा बसोबास गर्ने मगर जाती र उनीहरूको जिवनशैली, सोझा र निमुखा उनिहरुमाथी कथित सामन्ती बाबु साहेबहरुको दमन, यही दमन विरुद्ध बलेको आगो र एउटा अधुरो प्रेम कथा नै नाटक ''चिसो भञ्ज्याङ्'' हो।
आलोकको प्रेममा मग्न मुना अनि आफूले गहिराइमा पाएकी मुनाको चित्र बनाइरहेको आलोक, आफ्ना छोरीहरुलाई प्राणभन्दा बढी माया गर्ने बाबु साहेब,मेलामा रक्सीको नशासँगै बालन र धान नाचिरहेका गाँउले यो परिवेश हेर्दा लाग्छ नाटक एउटा सामान्य सामाजिक प्रेम कथा हो तर नियतीको दासी भएको आलोक आफ्नै जीवनले नकोरेको बाटोमा बन्दुकको नालसँग सम्झौता गर्न पुग्छ तब न्यानो भन्ज्याङ क्रमशः चिसिदैँ जान्छ र अन्तत : एउटा सपनाको अन्त्य हुन्छ ।

युद्धले छाडेको चिसो भन्ज्याङमा आज पनि ओसिला आँखाहरू आला घाउ बोकेर उहिल्यै मरिसकेको सपनाको मलामी जान तर्त्पर देखिन्छ्न्। वास्तवमा चिसो भञ्ज्याङ् युद्धले पूरा गर्न नसकेको सपनाको एउटा अमुर्त छाँया हो जहाँ पुग्ने जो कोही एकफेर आज हामीले गर्व गर्ने परिवर्तनको मलामी गएर फर्कन्छ । चिसा आँखा लिएर।
नाटक वास्तवमा मलाई अलि अनौठो विधा लाग्ने गर्छ । कहिलेकाही हेर्दै जाँदा बिचमा कलाकारले अलि बिस्तार बोलिदिए जस्तो लाग्ने अनि आफ्ना कानले पनि अलि ठुलो आवाजको माग गरिदिने तर नाटकमा उक्त पात्रको मौनाता र बोल्दा बोल्दैको आवाजको भोलुम घट्नुले छुट्टै स्थितिको सृजना गरिसकेको हुन्छ । त्यसैले त नाटक बारे बोल्नुभन्दा पहिले आफ्नो दिमागले कतिसम्म बुझ्न भ्याएको रहेछ भन्दै हजार पल्ट सोच्न बाध्य बनाउँछ ।
पहिलो पटक नाटक निर्देशनमा हात हालेका सन्दिप श्रेष्ठले आफूलाई सक्षम र शिल्प भएको निर्देशकका रूपमा उभ्याएका छन् । मुनाको भूमिकामा देखिएकी सबिना र आलोकको भूमिकामा देखिएका अनुप न्यौपानेले चरित्रलाई न्याय गरेका छन् । नाटक कि अर्की मुख्य पात्र गरिमा (पूजा लामा)ले बाल्यकाल, बयाबस्था र वृद्धाबस्थाको भूमिका निभाउने भरपुर प्रयास गरेकी छिन् तर लेखकको रूपमा प्रस्तुत हुँदाको स्थिति भने कता कता असामान्य जस्तो आभास हुन्छ । नाटकमा अन्य कलाकरले भने आफूलाई औसत रूपमा नै प्रस्तुत गरेका छन् जुन उनीहरूले बोल्ने संवाद र प्रस्तुतिमा स्पष्ट देखिन्छ । 
पौष ७ देखी मण्डला नाटक घरमा सोमबार बाहेक नियमित मन्चन भइरहेको नाटक चिसो भन्ज्याङ् पौष ३०सम्म मन्चन हुनेछ ।