यदि यो गाढा अन्धकारमा
छरिएको चुक जस्तो गाढापन
तिम्रो माया भैदिएको भए
म दिउसो पनि सूर्यको स्वीच अफ गरिदिन्थेँ
बरु झ्याल ढोकाहरु बन्द गर्थेँ
र संगाल्थेँ एक एक थोपा अन्धकारलाई

जब मेरै छायाँ अल्छी मान्छ मलाई पछ्याउन 
जब निदाउँछ ऐना निश्वास नघुरिकनै
तब म उन्मुक्त महशुस गर्थेँ आफैलाई
र जाग्थेँ यौटा कुम्भकर्ण निद्राबाट
अनि रुखको प्वालबाट आकाशतिर निक्लेको चरा झैँ
फैलाउँथे आफैलाई तिम्रो मायाको आकाशमा

यदि यो गाढा अन्धकारमा
छरिएको चुक जस्तो गाढापन
साँच्चै नै सर्वाङ्ग तिम्रो माया भैदिएको भए
म पट्टी बाँधेरै हेर्थेँ संसार
चुम्थेँ एक एक अनुभूतिहरुलाई
जो समुद्री लहर झैँ जागृत हुन्छन् मेरो हृदयमा

प्रियतमा !
यदि यो कपासजस्तो हलुका अनि मुलायम अन्धकार
भैदिएको भए तिम्रो माया
म यि उज्यालो देख्ने आँखाहरुलाई नै
छुट्याईदिन्थेँ मेरो अंशबाट
र अंगाल्थे चीर अन्धकारलाई
अनि पौडन्थेँ त्यही अन्धकारको अनन्त फैलावटमा  ।