“के बादल सुनौला हुन सक्छन् ?

..........यी नाथे, तुच्छ बादल सुनौला हुन सक्छन ?”

.......

‘सुनौला बादल’

गएका केही महिना यता युट्युबमा यी शब्दहरु हामीले हजारौँ पटक सुनेका छौ । कविताका प्रत्येक हरफ जोडिने सङ्गीत को प्यालाले हुदयमा मादकताको तरंग पैदा गर्छ । कफीको तितो झोलमा, क्याफेको एकोहोरो बसाईमा हामीले यो संगितमय कविता धेरैपटक पान गरेका छौँ । 

२५ बर्षे आयुमा यात्रारत पुष्पा पलाञ्चोके कवितालाई सङ्गीतमा मिसाउछिन् । पुष्पा पलाञ्चोके, माथि उल्लेखित कविता प्लस गितकी लेखिका र गायीका दुवै हुन् । काठमाडौँ विश्वविद्यालयमा सङ्गीत अध्ययन गरिरहेकी पलाञ्चोके आजभोली सङ्गीतमा कविता भर्छिन् । अथवा कवितामा सङ्गीत पो भर्छिन की ? उनको त्यो मिश्रणबाट निस्कन्छ "आत्मिक अनुभूति" ।

बितेका चार बर्ष यता उनि सङ्गीतको औपचारीक अध्ययनमा तल्लिन छिन् । सङ्गीतमा मिसाउनका लागि उनि कविता पनि कोर्छिन् । कविताका धर्साहरुलाई सङ्गीतको रागले वषिभुत तुल्याउँछिन् ।

सङ्गीत विद्यालयमा जोडिनु अगाडीका दुई बर्ष उनि कानुनको विद्यार्थी थिईन् । बनेपाकी रैथाने पलाञ्चोकेलाई कानुनका धारा, उपधाराले लोभ्याउनै सकेनन् । कानुनका दाउ पेचहरुलाई कतै त्याग्दै उनि सङ्गीतमा शरणागत भईन् । दश जोड दुई पढ्दै गर्दा उनले आफ्नी प्रिय आमालाई आफु सिए (लेखा परिक्षक) बन्ने बताएकी थिईन् । लेखा परिक्षक बन्नकै लागि उनले दश जोड दुईमा व्यवस्थापन पढिन् । दश जोड दुई सकिएपछि उनले नजिकै रहेको काठ्माडौ विश्व विद्यालयको मिडिया अध्ययन विभागमा पढ्ने निधो गरेकी थिईन् तर, विश्व विद्यालयले मिडिया अध्ययनको विभाग ललितपुर सारेपछि उनमा वकिल बन्ने रहर पलायो । न्यायका खातिरदारीमा लाग्नुपर्छ भन्ने लाग्यो र त्यसपछि भर्ना भईन् कानुन विद्यालयमा ।

तर यी सबैभन्दा पर कविता थियो ,सङ्गीत थियो । जसले न्याय, समानता, मानवता जस्ता सबैकुरालाई सुन्दर ढंगले चित्रण गर्ने क्षमता राख्थ्यो । अनि उनले त्यही बाटो रोजिन् । कानुन त्यागेर सङ्गीतमा आएकी पलाञ्चोके आफु जस्तै सुन्दर कविता कोर्छिन् अनि उनको समहुले उस्तै सुन्दर र मिठो सङ्गीत सिर्जना गर्छ । त्यही भएरै उनको सङ्गीत समुहको नाम पनि ‘ मिकु’ रह्यो । अर्थात मिठाे कुरा । उनको यो साङ्गीतिक समुहमा उनकै सहपाठीको बाहुल्यता धेरै छ । उनको समहुले पहिलोपटक बसन्तपुरमा प्रस्तुति दिएको थियो । तर योजनाबद्ध भने होईन । उनका अरु सहपाठिहरुको साङ्गीतिक प्रस्तुति थियो । त्यही प्रस्तुतिमा उनले कविता मिसाईन् । उपस्थित श्रोताहरुले रुचाए कविता र संगितको संयोजन । सहपाठिहरुकै आग्रहमा उनले पहिलोपटक कविता गाएकी थिईन् ।

यस अघि पनि नेपालमा कविता गाईएका हुन् । तर गितको शैलिमा । मिकुको विशेषता हो कवितालाई कविता जस्तै रहन दिन र सङ्गीतलाई सङ्गीत जस्तै रहन दिनु । अर्थात मिकुका प्रस्तुतिमा कविता र सङ्गीत एक अर्काका परिपुरक हुन् । श्रोताले एकै पटक सङ्गीत र कविताको आनन्दभोग गर्न सक्छन् । कविताले सङ्गीतलाई बोध्य बनाउँछ, सङ्गीतले कवितालाई सुरम्य बनाउँछ ।

मिकु समुहका सबै सदस्यहरु युवा वयका छन् । नगरा, सारंगि, गितार, झ्याली, बिन जस्ता बाजाहरु मिकु समुहको पहिलो रोजाई हुन् । यीनै बाजाहरुबाट समुहले कविताका लागि सङ्गीत सिर्जना गर्छ ।

पलाञ्चोकेसंग कानुन स्कुल त्याग्दै गर्दा अब के गर्ने भन्ने प्रश्नको जवाफ थिएन् । तर जसरी पनि कानुनको त्यो लामो हातको बन्धनबाट भने मुक्त हुनु थियो । कयौँ रातहरु उनले रोएर व्यतित गरिन् । दुई बर्षको समय र लगानी खेर जाँदै थियो, अर्कोतर्फ नयाँ मार्ग अझै भेटिएको थिएन । आफैभित्रको द्वन्द्व र अन्यौलतालाई किनारा लगाउँदै उनले सङ्गीत पढ्ने निधो गरिन् । यस अघि नै उनले दश जोड दुई पढ्दा एक महिना सङ्गीतको प्रशिक्षण लिएकी थिईन । प्रभु राज ढकालसंग । ढकाल धेरै युवा संगितकर्मीका गुरु हुन् । ढकालले नै उनलाई सुनाएका थिए विश्व विद्यालयमा सङ्गीत पढाई हुन्छ् । त्यही वाणिलाई पच्छ्याउँदै उनि काठमाडौँ विश्व विद्यालयमा जोडिईन् ।

रुपान्तरणको यही कालखण्डले उनले कविता कोरिन् । तिनै कविताले उनलाई जीवनका सुनौला पक्षहरुसंग परिचित गरायो । कविताभित्र लुकेको मिठास महसुस गरायो । यही समयमा उनले धेरै कविता पनि कोरिन् । (कविताको रचनागर्भ तल कतै लेखिने छ ।)

उनलाई लाग्छ । कलाले जीवनका कुरुप पक्षहरुलाई पनि सुन्दरताको आवरणमा मिठो तरिकाले प्रस्तुत गर्छ । आजभोली उनको समुहले सङ्गीत थेरापीको पनि काम गर्छ । तर व्यवसायीक तवरमा होईन । बद्लिदो परिवेशसंगै सहरमा डिप्रेसनका रोगिको संख्या पनि बढेको छ । त्यस्तै डिप्रेसनको चपेटामा परेकाहरुलाई मिकु संगितका धुनहरु सुनाउँछ, कविताका मिठा शब्दहरुले पवित्र बनाउँछ ।

मिकु समहुहले लस्ट की (हराएको साँचो), लक्षमुनिया, मःम, काली, डिजिनेस (चक्कर आउनु), सुनौला बादल, मिकु, ब्लु, आमु, लाईन लगायतका कविताहरुलाई सङ्गीतमा प्रस्तुति दिईसकेको छ । यी सबै कविताहरुले समाजका विविध आयामहरुलाई सङ्गीतको सुरम्यताबाट महसुस गराउने जमर्को गरेका छन् । आमु कविताको प्रमुख बिम्ब पिपलले ममतत्वको गहिराईमा लैजान्छ । मःम लाईन र कवितलोध क्रमश युवा पुस्ताको मःम मोह हामीले भोगेको लाईनको प्रतिबम्ब उतार्छ । जीवन, समाज जस्ता जटिल आयामहरुलाई मिकुले सरल शब्द र मिठो सङ्गीतमा तपाईलाई बुझाउन सक्छ ।

..............

मैले इशारै इशारामा कविता उने

मनका इश्तिहारहरु कहाँ कहाँ कहाँ उडे

......... ‘मिकु’

इशारै इशारामा कविता बुन्ने पलाञ्चोके, कवितालाई सङ्गीत र गायनको रुप दिदा कविता मात्रै होइन सङ्गीत पनि शक्तिशालि हुने ठान्छिन् । “कविताले सङ्गीत प्राण भर्छ, सङ्गीतले कवितामा प्राण भर्छ ।” पलाञ्चोके थप्छिन् “ तर अझै पनि कविता सुन्ने श्रोता र दर्शक थोरै छन्...कविता बजारको लागि हुँदैन् ।.... ।”

कविता सायद जीवनका लागि पो हो की ? “ हुन सक्छ, मेरो लागि भन्ने हो भने त कविता आफ्नै गहिराईमा डुब्नको लागि हो, आफैसंग परिचित हुनका लागि हो जस्तो लाग्छ ।” यो पुष्पाको जवाफ थियो ।

“साँझ रातो तातो हुँदै अस्ताए पनि

हरेक विहान मसंगै सुनौलो हुँदै उदाउँछन मेरा बादल ।”

‘सुनौला बादल’

जवाफ बनेर आयो सुनौला बादल । पहिलोपटक यो कविता बिना कुनै पुर्व तयारी काठमाडौँ आर्ट ट्रिनालेको लागि किर्तिपुरमा प्रस्तुत गरियो । पछि किर्तिपुरको उमा महेश्वरमै यसको फाईनल रेर्कडिगं पनि गरियो ।

कविताले जहिले पनि कन्सर्टेसन खोज्छ । तर मान्छेहरुलाई सतहमै आफुलाई भुलाउँछन् । नित्सेले कतै भनेका छन् “संसार सामान्य मान्छेहरुको झुण्ड हो ।”

सामान्य मान्छेहरु आफुलाई निर्देर्शीत गराउन चाहान्छन् अरुको माध्यमबाट । तिनलाई निर्देशन गर्नेहरु यस्तै पृथकतामा भेटिन्छन् ।ती भिड मध्येको एउटा नवीन एप्रोचको रुपमा पलाञ्चोके थपिएकी छिन्।

त्यस्तै काली भन्ने कविता नेपालको ग्रामिण भेगको एउटा सानी नानिको कविता हो।काली सन्तुस्टिको पराकाष्ठाको रुपमा विम्बित छिन् ।पलाञ्चोके यसमै के पनि थप्छिन् भने,आर्टिस्टको काम ठ्याक्कै यो गर भनेर पटक्कै भन्न नमिल्ने तरै पनि मेरो कविताबाट कसै न कसैमा केहि पोजेटिभ मेसेज जाओस् भन्ने चाहिँ हुन्छ।

सेलिबृटी भन्ने आइडियासँग बिल्कुलै असहमत पलान्चोके कथित सेलिबृटीहरु मात्रै आइडियलाइज्ड पर्सनालिटी हुन् भन्ने ठान्छिन् र त्यो पर्सनालिटीलाई सार्है मसिनो रुपमा देख्छिन् जब स्टेज जानु अघिको आफ्नै डरले उनलाई प्रश्न गर्छ।पलान्चोके थप्छिन् , "समाजमा जति पनि भिडहरु एउटै दिशामा लागेका छन् सबैले सतहि कलामा बढी जोड दिएको देखिन्छ तर गहिराइमा रहेका कलाका अरु भित्री पक्षहरुलाई सधै नकारि नै रहेको पाइन्छ....होला त्यसैले सार्बजनिक यातायातमा "मुन्नी बदनाम हुइ" बढ्ता बजेको।"पाठक र स्रोताको मागले भोलिको दिनमा के तपाईँका रचनाहरु त्यही भिडको बाटोमा निर्देशित त हुँदैनन् नि भन्दा उनी सुनाउँछिन् ,"विश्वविद्यालयमा हामीले पढेको नै र बुझेको नै यति हो कि हरेक समाजको आ-आफ्नो सङ्गीत हुन्छ र हरेक क्षेत्रको आ-आफ्नो अडियन्स हुन्छ...अब यसो भनिराख्दा बजारमा के बिक्छ भनेर हिड्नु यतिका वर्षसम्मको तपस्या माथी के कति जायज कदम होला र?"

कविताको बजार जे जस्तो भए पनि ,सङ्गीतले जुनसुकै बाटो समाए पनि यि दुबै क्षेत्रको लागि काम गरिरहेकी पलान्चोके जस्ता कलाप्रेमिहरुलाई अबको युगले कसरि हेर्ने हो त्यो समयलाई नै छाडिदिदा हुन्छ।कविताको नयां प्रारुपले पक्कै पनि नयाँ पुस्तालाई रोमान्चकता दिने नै छ।अबको बहस कविता र सङ्गीतको सङ्गममा सायद निर्भर रहने छ।र हामीले घण्टौ यी कविताहरुको मादकतामा डुबिरहेको स्थिति तपाईंहरुको पनि हुन नसक्ला भन्न सकिन्न।