मुद्दा जित्ने अभिलाषामा
हतारिदै अदालत तिर दौडिएको वकिल जस्तै
दौडिरहेछ तिनाउ नदी
चुपचाप छौँ बगर र म
लेखाजोखा राख्न बाँकी छ
जिन्दगीको
भोगाइको
सपनाको
खुसीको
र थोरै पीडाको पनि
एक्लो निर्जनतामा
बगरले भने जस्तो लाग्छ -
खिइदै गएपछि
सक्किने रहेछ खिईने ठाउँ,
म सोँच्छु -
दुख्दै गएपछी
दुख्नै छाड्दो रहेछ दुख्ने ठाउँ
कुनै सम्बन्ध थिएन पुरानो
जोडिएको होइन नयाँ साइनो
र पनि पुगिरहन्छु तिनाउले छाडेको बगरमा म,
पछ्याईरहन्छ सम्झना भएर उसले छाडेको मेरो जिन्दगीमा
कागजी दस्ताबेज छैन कुनै कुराको,
कति बगे मुटु जस्ता गिटीका टुक्राहरू,
कति उडे नसाका रगतका थोपा जस्ता बालुवाका कण,
बस - हेरिरहेछु चुपचाप चुपचाप
सदियौँ देखि
धेरै कुरा सिकाएको छ बगरले
जस्तो कि - मौनतामा बाँच्न, चोटहरू सहन र अरू थुप्रै थुप्रै...
भर्खर हरियो झुप्पाबाट खसेको
बुकी फूलको छेउँमा बसेर
कसैको यादमा टोलाएर हराईरहे जस्तो
यौटा मान्छेलाई देखेर
भन्दो हो बगरले -
धैर्य गर ए मनुख्खे !
संगै गरौँला बसिबियालो
थपौँला दुख्खमा दुख्ख र
बनौँला खुसी
जस्तो कि -
माइनसमा माइनस जोड्दा प्लस हुन्छ ।