भर छैन। भोलि सडकमै पनि हुन सक्छु। मलाई त्यो उचाइ अनि अग्ला होटेल र महङो गाडीमाथि दुई पैसाको पनि सपना छैन। 
जब उचाइ र महङीको बानी पर्छ, सडक असन्तुलित हुन्छ, अप्रिय हुन्छ। जिन्दगी अनिश्चित र अब्यबस्थीत हुन्छ। यस्तो लाग्दै छ कि अचेल नियतिको गुरुत्वले मलाई सडकतिर नै तान्दै छ निकै बेस्कन र छिट्टै धेरै मोटर र मान्छेका पदछापहरुको सिरानी हालेर सुत्नुपर्नेछ सडकमाथि। बिँउझिनुपर्नेछ त्यहीँ। हराउँनु पर्ने छ त्यहीँ। र भेटिनु पर्ने छ त्यहीँ। 
अनायास केही धमिला, केही नमिठा अनि कोही तिता, ठ्याक्कै अनुहारै खुम्च्याउने खालका अनुभुतिहरु लुसुक्क मस्तिष्कभित्र छिर्छन्। म उस्तै एकनास बिछ्यौनामाथि पल्टिएर सोचिरहेको छु आउने जीवनका केही कुरुप कालखण्ड माथि। हुनतः मान्छे सोचाइसँगै अभ्यस्त छ र सोचाइसँगै सन्त्रस्त छ। 
म सोचाइमा हराएको छु विगतका केही दिनहरू देखि। सोचाइ यति खतरनाक भएर उम्लिरहेका छन् कि म असामाजिक भएको छु। प्रेम विरोधी भएको छु। सभ्यता विरोधी भएको छु। जिन्दगी जिउने तरिकामाथि विरोधाभास पलाइरहेका छन्। छिन्न भिन्न भएका छन् बिचार। 
 
म त्यत्तिकैमा निदाउँछु। र सपना देख्छु। सपनामा कुनै अपरिचित युवती देखा पर्छिन्। चिरपरिचित जस्तै लामो गफ हुन्छ। म स्योर छैन, मेरो स्मृति कमजोर पनि हुनसक्छ। कि म बेअस्तित्वको सपनालाई अस्तित्वको आकार दिँदै छु। आखिर म केही पनि बुझ्दिन म सपनामा त्यसरी प्रस्तुत हुन्छु जसरी विगतमा त्यसरी भएकै थिइन। यो अद्भुत रहस्य हो सपनाको।  मसँगै एउटी केटी हुन्छे। अनुहार चामात्कारीक श्रृङ्गारले बलिरहेको हुन्छ धपधप्। 

हामी बानेश्वरको एउटा क्याफेमा हुन्छौँ। क्याफे दोस्रो तलामा छ। म सिगरेट पिइरहेको हुन्छु। दुंगदुंगती धुवाँ उडिँरहन्छ र बेला बखत चिरिरहन्छ मौनता। 
गफ यसरी सुरु र अन्त्य हुन्छ। 

उः यत्तिका दिन कहाँ थियौ?
मः म थिइन।
उः ह्वाट यु मीन?
मः जे बुझ्छौ त्यही?
उः फेसबुक किन डिएक्टिभेट?
मः किनकि धेरै मान्छेहरूको बिचमा मैले गुमाए आफैँलाई।
उः थाहा छ? धेरै सम्झिए तिमीलाई यो बिचमा। धेरै कोसिस गरेँ सम्पर्कको लागि। 
मः उफ्.. कसैको यादमा अड्किएछु। हुन त हराउन खोजेको हुँ। तर बिस्मात भेटिएछु। उफ्..।  
उः किन हराउन खोज्यौ?
मः म बाँडिए।
उः कसरी?
मः बिकज अफ्। सिभिलाइजेसन। व्यर्थ छ अरूको हुनुमा। म वाक्क छु याे परिवेशदेखि।
उः बुझिन?
मः समय अरूलाई बाँड्दा बाँड्दा म व्यर्थ भएको छु। उदेक लाग्दो ब्यस्थता। मेरो ध्येय, मेरो समय आफैँसँग बटुल्नु हो।
उः के गर्‍यौ त आजकाल?
मः केही गरिन?
उः अनि के अर्थ राख्यो यसरी हराउनुले?
मः म बटुल्दै छु आफूलाई। म छरिएको छु भिडहरूको बिचमा। धेरै मान्छेहरूका रुटिनमा। यावत् धेरै तिर।
उः अनि कलेज नि?
मः छोडिदिए।
उः पागल भयौ?
मः पहिले देखि हुँ।
उः हत्तेरी यो मान्छे पागल भएर चैँ के भयौ हौ?  
मः केही भइन। पागलपन सुरुवात हो। हरेक विषयवस्तु माथिको नयाँ दृष्टि हो। किनकि म छुट्टै पर्सपेक्टिभ बाट हेर्न चाहन्छु संसारलाई।
उः के पाउँछौ?
मः सन्तुष्टि।
उः कस्तो सन्तुष्टि हो यो? 
मः अत्यन्तै तिख्खर। अति सुन्दर। स्वादिलो। ( हा. हा. हा. ) 
उः साइको।
मः तिम्रो हैसियत नै त्यत्ति हो।
उः बुझिन?
मः साइको भन्नेको औकातै साइको भन्ने हो। त्याँ त्यतिमात्रै हो। हाहाहा..। 
उः माइन्ड यार ल्याङ्योज?
मः तिम्रो वाट यही हो। सत्य सहन अति अप्ठ्यारो छ।  हेहे..। 
उः सक्दिन भो तिमीसँग।
मः नसकेर के पाउँछौ?
उः केही पाउनु हैन।
मः त्यसो भय त्यो नसक्नुको के अर्थ?
उः भो हजुर हजुरको कुरामा गिभ अप दिए पुग्यो?
मः जिन्दगी त्यति व्यर्थ छैन कि सानो कुरामा गिभ अप।
उः ओ पिल्ज। स्टप यार फिलोसोफि।
मः बाँदरहरूको बिचमा ज्ञानको के अर्थ? 
उः के पायौ तिम्रो सो कल्ड ज्ञानले?
मः ज्ञान पाउनु हैन। खोतल्नु हो।
उः कसरी खोतल्छौ?
मः अहिले तिम्रो आँखा खोतल्दैछु। 
उः कसरी?
मः हुनतः तिमी आफैँ तिमीद्धारा खोतलिँदै छौ। कुनै सिनेमा जस्तो हेर्दै छु तिम्रो आँखामा। तिमी आफैँ प्रष्फुटित छौ।
उः बुझ्दिन भो यस्तो कुरा। 
मः के चैँ बुझ्न चाहान्छौ त?
उः नथिङ।
मः खेर फाल्दै छौ जिन्दगी।
उः फालेकै बेस।
मः सक्छौ भने टिप? 
उः किन?
मः ननसेन्स मस्तिष्क फाल्ने डष्टविन हैन यो पृथ्वी।
उः ओ गड? अति भो?
मः बोलाउ तिम्रो गडलाई। भेटौँ।
उः कसरी।
मः जसरी अहिले पुकार्दै छौ?
उः सक्दिन। 
मः किन बिचमा लेरायौ त?
उः बिकज आइ विलिभ इन गड। लेराउन त सक्दिन तर विश्वास हो।
मः किन विश्वास गर्छौ नदेखेको कुरामा?
उः इफेक्ट अफ फ्माली। मेरो परिवार धार्मिक छ। म त्यही परिवेशमा हुर्किएकोले हुन सक्छ।
मः के पायौ?
उः पाउनु मात्र हो र?
मः अवश्य। 
उः नहुने। नपाउने कुरामा के व्यर्थ खर्चिन्छौँ जिन्दगी? 
मः ओ प्लिज, मेरो आस्था हो।
उः थाहा पाए। मान्छेको आस्थाबाट झल्कन्छ मान्छेको स्वभाव। तिमी ढुङ्गा हुँदै छौ। रोक आफूलाई।
मः त्यसो भे, तिम्रो आस्था के?
उः नथिङ?
मः के लागि जिन्दगी त?
उः खोज्दै छु। 
मः बेस्ट अफ लक।
उः अनि घरको के छ खबर?
मः घर? कसको घर? 
उः तिम्रो।
मः म रेन्टमा बस्छु। राम्रै छ। नयाँ पेन्ट हुँदैछ क्यार।
उः तिम्रो फेमिलीको के?
मः फेमिली भ्रम हो। 
उः किन?
मः त्यसै। ......  हृदयको आकार सत्य हो। म जे छु त्यही सत्य हो। अरू भ्रम हो। प्रेमको तरिका सिबाय देख्दिन अरू केही। एउटा बन्धन हो। 
उः भैगो। अब सुन्न सक्दिन तिम्रो बकवास। यनिवे, म जान्छु अहिले। के कफि लिन्छौ फेरि। 
मः हुन्छ। एउटा सिगरेट पनि भन्देउ। 
उः ओके। बाई।

उ गई। रहस्यात्मक बार्तालाप जीन्दगीको कपिमा पुनः लेखिन्छन्। उ को थिइ र्?, किन आई? र किन गई? केही केही पनि थाहा भएन। उसले कालो पेन्ट, पँहेलो टिर्सट र खैरो जुत्ता लगाएकी थिई।  एकैछिनमा मेरो नजरबाट ओझेल परि। 

र झ्यालबाट हेर्छु बाहिर।

नयाँ बानेश्वरको सडकभर विभिन्न मोटर ओहोर दोहार गरिरहेका छन्। मान्छेहरुको भिड अचाक्ली थाम्नै नसकिने कुनै जनसभा जस्तो उपस्थित छ। मोटरको ट्याँइटुइँ, अनि मानिसहरुको हल्ला कानै पड्केला झैँ कानको जाली वरपर दगुरिरहेछ। जस्तो कि यो समयबाट म बिस्तारै बिस्तारै विलिन हुने पकृयामा छु त्यसरी नै रित्तीँदै छ कफिको परिमाण। अनि हावाभरि हल्लिरहेछ सिगरेटका रहस्यमहि धुँवा। कुनै क्यानभासबाट टपक्क टिपेर मेरो सम्मुख फिँजाए जस्तो लाग्छ। असरल्ल। र हराइरहेछ यो सभ्यताको कुनै कुनामा।

 

..... त्यसपश्चात म उठ्छु अनि हिँड्छु।

 

र बिचमा समय आफैँ हराउँछ। सबै शुन्य रहन्छ। सायद अडिएको हुनुपर्छ समय। या मानिसहरु ब्यथितिको चिर निन्द्रामा हराएको हुनुपर्छ। कसैले पनि समय यसरी अकस्मात हराउनुको पत्तो पाउँदैनन्। तर यसरी सपनाको सम्पुर्ण बार्तालाप एकैपटक कण्ठस्थ भएको कुनै घटना नै छैन। म हैरान भए। मेरो मनस्थीतिमा यसरी सपना पनि कण्ठस्थ हुन सक्छ भन्ने धारणा केहि थिएन। यस्तो लाग्यो जीन्दगी धारणा निर्माण र विघटनको लामो यात्रा दौडिरहेको छ नाङ्गो पैताला।

 

सपनाको भोलिपल्ट मैले आफुलाई पाउँछु परिक्षाहल भित्र। त्यो भन्दा अगाडी घटित कुनै घटनाहरुको स्मरण हुँदैन मलाई। सपनाहरुले यसरी घटनाहरुको स्मरणमाथि यति घातक प्रहार गर्न सक्छ मैले सोचेकै थिइन। सायद यो अजिबको सपना थियो। जहाँ मैले पहिलो पटक समय हराउनुको मजा थाहा पाउँदै थियँ। न म कतै क्रुर नशामा जोतिएको पनि हुन सक्छु। अक्सर म रक्सि पिइसकेपछी आफ्नो स्वत्व विर्सने गर्छु यो त्यसैको दुस्परिणाम पनि हुन सक्छ।

 

नचाहाँदा नचाहाँदै म परिक्षाहलमा हुन्छु। कापिभर कालो अक्षरले केरिरहेको छु। यो सम्रग शैक्षिक प्रणालीलाई कालो झण्डा हो। फेरि म कालो रंगलाई विरोधको रंगको रुपमा हेर्दै गर्दा आफ्नो पहिचानको लागि गोरा बिरुद्ध लडेका काला सम्प्रदायका आदिवाशीको अपमान गर्न चाहाँदिन। ति श्रदय छन् जसले फरक इतिहास निर्माणको लागि अदम्य भुमिका खेले।

अहिले विरोधको प्रतिकको रुपमा आफैँ अक्षर बनेको छ। फेरि म रित्तो छु। पुरै रित्तो। खिङ्रिङ्ग परेको र कुनै मृत्यु जस्तै मौन।

परिक्षा गार्ड अगिल्तिर कुर्सिमा आसिन छ। वेलावखत सबैतिर पल्याकपुलुक हेर्छ। म उसको मनोविज्ञान हेर्दैछु। उ बाट सर्तक हुनु आवश्यक छ। भर्खरै एकजनालाई उसले चिटिङको आरोपमा निकालेको छ। कडा गर्न सकेकोमा उ खुसी छ कि जीन्दगीको ठुलो सपना नै परिक्षागार्ड बन्नु थियो जो पुरा भएको छ ।

म कपि र प्रश्नपत्र छोडेर नियाल्छु बाहिर। एकहुल सारौँ झ्यालको ठ्याक्कै बाहिर पट्टी उभिरहेछन्। कोहि उँड्दै छन्। कोहि चारा बटुल्दैछन्। अति सुन्दर छ यो दृश्य। म परिक्षाहल बाट हेर्दै छु।

र यस्तो लाग्छ एउटा सारौँ मेरो समिप छ र बोल्दैछ म सँग।

उः के गर्दैछौ?

मः तिमीलाई नै हेर्दै छु अघिदेखि। एकनास।

उः कहाँ बाट आएको हौ?

मः धेरै परबाट। तिम्रो जस्तै रहरको पँखेटा फट्फटाउँदै आएको हुँ।

उः काँहि नपायर, रहरको पनि पँखेटा हुन्छ?

मः हुन्छ। म फट्फटाउँछु। उँड्छु। तर छैन तिम्रो जस्तै स्वतन्त्रताको एकलाप। तर म संत्रस्त छु अनेक दुबिधाहरु बिच।

उः मान्छे हैन। चरा संत्रस्त छन्। मान्छेले निल्दैछ चराको संसार। तिमी त स्वतन्त्र छौँ। कल्ले पत्ताउँछ कि तिमी स्वतन्त्र छैनौ? कस्तो हो त्यो स्वकल्पीत दुबिधा?

मः चराको संसार मान्छेबाट निलिँदै छ। तर मान्छे, मान्छे बाटै संत्रस्त छ। मान्छेबाटै भयग्रस्त छ। सभ्यताबाटै असुरक्षित छ। तिम्रो जस्तो स्वतन्त्र छैन रहर। सभ्यताले अनेकौँ दुबिधा निर्माण गर्दै छ। म त्यसैको चपेटामा छु। मेरो नैसर्गीकत्व गुमनाम छ। म बस् नर्तक हुँ। धेरै नाटक छिचोल्नै बाँकि छ।

उः के चाहान्छौ त? त्यसो भे।

मः स्वतन्त्रता।

उः कस्तो स्वतन्त्रता?

मः विल्कुल स्वतन्त्र स्वतन्त्रता। मान्छे, मान्छे हुनु जस्तो स्वतन्त्रता।

उः कहाँ पाउँछौ?

मः मलाई चराहरुले हिमालको बुट्टा भरेको मनपर्छ। त्यहिँ बुट्टाको छेउछाउ। आकास भर पखेँटा फैलायर उँडेको मनपर्छ। त्यहि स्वतन्त्र उडाँनको सम्भाब्य गन्तब्य तिर। मलाई मान्छे, मान्छे भएको मनपर्छ। त्यहि प्राकृतिक मान्छेको परिसर तिर।

उः त्यसो भे तिमी तिम्रो परिक्षा कापिमा, लेख्दै छौ यि सबै, हैन?

मः हैन?

उः तिम्रो अगाडी त कपि छ र हातमा कलम।

मः तर लेख्न सक्दिन।

उः के ले छेक्यो र तिम्लाई? मलाई पनि मान्छेले जस्तै कलम समाउने रहर छ।

मः प्रणाली ले छेकेको छ। मलाई के मनपर्छ? मैले के बुझेको छु। सोध्दैन। उसले के चाहान्छ म बाट। त्यहि सोध््छ जुन म सक्दिन लेख्न। तिमीले नसमाउ कलम। आजकाल कलम त्यत्ति स्वतन्त्र छैन।

उः अनि के चाहान्छौ त लेख्न?

मः तिम्रो जस्तै सुन्दर स्वर कुँद्न चाहान्छु। ठ्याक्कै कुनै बाचाल मुर्ति जस्तै। मेरा असिमित रहर पोख्न चाहान्छु। कुनै पफर््क्ट लेखकका् कुनै कथा जस्तै । तर म के चाहान्छु, त्यो ब्यर्थ छ। प्रणाली म भित्रबाट कस्तो मान्छे चाहान्छ, त्यहि लेख्न लगाउँछ, त्यसमा अर्थ छ।

उः त्यसो भय नलेख। उठ हिँड। म सँग जाऔँ।

मः कहाँ लान्छौ?

उः जहाँ पुगिन्छ त्यहिँ।

मः ठेगाना कता हो?

उः हाम्रो ठेगाना हुँदैन। हामी अनिश्चितिमा बाँच्छौँ।

मः कति बजे तिर फर्कन्छौँ?

उः हाम्रो समय हुँदैन। हामी मृत्यु प्रति त्यति आतुर छैनौँ। अनिश्चित। फेरि हामी समयलाई बाँड्ने दुस्साहस पनि गर्दनौँ। जे पनि हुनसक्छ। जहाँ पनि पुग्न सकिन्छ।

 

त्यसपश्चात म परिक्षाहल बाट बाहिर निस्कन्छु। उ सँगै उड्न। अकस्मात कान ठ्याक्कै नाङ्लो जस्तै ठुलो पाउँछु। हात र गोडामा माछाको जस्तै कत्ला उम्रिएको पाउँछु। र डँडाल्नोमा ठ्याक्कै चिलका जस्तै लामा पखेँटा देख्छु। टाउकोमा सिउर उम्रिएको। ओठ लम्बिएर चराको जस्तै चुच्चो बनेको। मैले आफुलाई बादलको समिप उँडिरहेको पाउँछु। र साथमा छ त्यहि सारौँ जसले मलाई दिशा निर्देशित गरिरहेको छ। म उसैको कमान्डमा छु। बेस्कन पखेटा फट्टाउँदै उडिमात्र रहन्छु।

 

धेरै तल छन् मान्छेहरु कुनै पत्रिकाको अक्षर जस्तै अत्यन्त सुक्ष्म लाग्छन् अनि एकआपसमा जड्कडियर बसेका घरहरु समाचारको हेडलाइन जस्तै लाग्छन्। अनियन्त्रित बनेका सडकहरु आँङ पसारेर गुजुल्टिएको गँड्यौला जस्तै लाग्छ। ठ्याक्कै टाउको छुँला छुँला गरि एरोप्लेन उँड्छन्। प्रत्येक पल आफुलाई जोगिएको महसुस गर्छु। निकै मज्जा आइरहेको छ उँड्न।

अनायस सोध्छु उसलाई,

मः यो बाटो कहाँ पुग्छ।

उः एक्चुल्लि हाम्रो बाटै हुँदैन। ठेगानै हुँदैन।

मः अनि कसरि पहिलाउँछौ त यात्रा।

उः हामी यात्राहिन बाँच्छौँ। दिशाहिन बाँच्छौँ र समयहिन बाँच्छौँ।

मः अनि कहाँ पुग्छौ त?

उः लाइफ इज फुल अफ सप्र्राइज। हामि जहाँ पुग्छौँ एक्सिडेन्टल्ली पुग्छौँ। हामि जीन्दगीमा अपेक्षाको ट्याग झुन्डायर जीन्दगी कुरुप बनाउँदैनौँ। हाम्रो आफ्नै शैली छ।

मः अनि फर्कन्छौ कि फर्कँदैनौ?

उः अफ कोर्स फर्कन्छौँ। अनिश्चितिमा फर्कन्छौँ। हामी फर्किने मानसिकता बोकेर हिँड्दैनौँ। जब फर्कन्छौँ फर्किसकेको खयाल समेत हुन्न हाम्रो हृदयमा।

 

मसँग त्यसपश्चात उत्तर रहेन। देशमा जसरी प्रेटोलियम पदार्थको सर्टेज छ त्यसैगरि म भित्र प्रश्नहरु सर्टेज हुन्छन्। मलाई यतिमात्र थाहा हुन्छ म उडिरेको छु। बस् बेस्कन पखेटा फट्फटाएको आवाज आउँछ।

 

टिनिनिनिनिनिनि......

चर्को घण्टि बज्छ। म ब्युँझन्छु गहिरो सम्मोहनबाट। उत्तर पुस्तिका बुझाउने समय भएको रैछ। सबै जना लाम लागेर बुझाउन थाल्छन्। कुनै कमिलाको बाक्लो ताँति जस्तो अक्षर सबैको कपिमा भरिभराउ छ। र हातमा प्रश्नपत्र सँगै झुण्डिएको छ। त्यो कुनै बौद्धिक मष्तिष्कको फाँसी जस्तो नियाल्छु म। हामी सिमातित भएका छौँ। अड्किएका छौँ दोधारैदोधारमा। कुनै अप्रिय संगीत जस्तो भएको छ जीन्दगी। म जान्छु र बुझाउँछु कपि। मौन रुपमा बुझ्छ परिक्षा गार्ड र म लाग्छु आफ्नै स्वतन्त्र बाटो।

फेरि संसारमा पात्रहरुको यथार्थ औचित्यपुष्टिको खोजि भैरहेको बेला मेरो कल्पनाले समिक्षकको मष्तिष्क चिलाउन सक्छ। तर मलाई लाग्छ, कल्पनामा जे पनि हुन्छ। हरेक मानिसहरुले कल्पना गर्छन् आफ्नै अबस्थाको कल्पना। उफ... लेख्न बस्दा यसरी डिस्ट्रयाक्ट हुनु राम्रो होइन। म यो कुरा बिर्सन्छु जसरी मेरो कल्पनामा तैरिएकै थिएन।

त्यसपछिको केहि दिन त्यत्तिकै बित्छन्। ब्यर्थ। ठुलो घाटा लाग्छ। न म सम्हालेर थाति राख्न सक्छु समय। अहिले ब्यक्त गर्दा गर्दै निकै अप्रिय लागेको छ मलाई। यसरी उपलब्धीहिन शैलीमा दिनहरु गुमनाम हुनु निकै कष्टगर सत्य हो। जुन अहिले महसुस गर्दैछु। परिक्षा सकिएको आज सातौँ दिन हो। स्वकल्ड सभ्यताले यो दिनको नाम आइतबार तोकेको छ।

फेसबुक डिएक्टीभेट र मोबाइलबाट सिमकार्डको पत्ता फालेपछी। म बिल्कुल सम्पर्कविहिन भएको छु। हरेक याम, सम्पर्कमा रहिरहनु मलाई बेतुक लाग्छ। म दिक्क भएको छु यसबाट। म दुःखी हैन विरक्तिएको छु। विरक्तिनु र दुःखी हुनु संमवेदनाका फरक आयामहरु हुन्।

.....

म निदाइरहन्छु। ब्युँझिरहन्छु। निदाउनु र बिउँझिनुको बिचको सिमा नै हराइसकेको छ। म एकदम अभ्यस्त छु।

जब ब्युँझन्छु फेरि तिनै सोचहरु मलाई डस्न आइपुग्छन्। सडक पुग्छु। जस्तो कि म धेरै अघिदेखि सडकमै जीवन यापन गरिरहेछु। सडकमा रहनु जीन्दगीको एकमात्र सत्य हो। सडक भन्दामाथि अरु सपै भ्रम हुन्। जब भ्रमका आधार हट्छन् मानिस सडकमै पुग्छ। हुनतः हरेक मानिस सडक कै उत्पादन हो। सडक भन्दा टाढा अस्तित्व अनिश्चित छ। र असंभव पनि।

म सम्हालिन सक्दिन। जसरी सुकेका चिर्पटहरु माथि ह्वार्रह्वार्ती आगो लाग्छन्। मेरो मष्तिष्क त्यसै गरि जलिरहन्छ। यि बिचार आगो हुन् र मेरो मष्तिष्क त्यहि कमजोर चिर्पट।

ऐँठनको लामो सिमा नाघेपछि म निस्कन्छु बाहिर। र एकैछिन्मा पुग्छु बानेश्वर चोक। ठ्याक्कै संविधान सभाको भवन अगाडी अजीबको भीडले ढाकेको छ। जसरी तुसाराको भीडले छेकिन्छ निरिह आकास त्यसैगरि सडक पुरै भीडको चापले छेकिएको छ। जब भीड भित्र अटेसमटेस गर्दै टाउको छिराएर हेर्छु। एउटी केटी मृत अबस्थामा देखिन्छे। वरपर छन् पहिरनमा पुलिसहरु।

पुलिसको इन्सपेक्टर जस्तो लाग्ने मान्छे। भीडको अघि उभिरहेको छ र घटनाको अन्वेशषणमा ब्यस्थ छ। विभत्स लास लडिरहेको छ।

इन्स्पेक्टर भीड बाट नजिकै उभिरहेका स्थानियबासीलाई प्रश्न सोध्छ।

इन्स्पेक्टरः यो घटना कतिखेर घटेको हो?

स्थानीयबासीः यो घटना एकाएक घटेको हो। घट्नुभन्दा अगाडी एकछिन समय पज भएको थियो। हिड्नेहरु ठ्याक्कै रोकिएका थिए। श्वास फोक्सोसम्म पुगेर फोक्सो नफुलिकन अड्किएको थियो। चरा बिच आकासमा मात्र पुगेका थिए। प्रहरीको साइरन र मोटरको आवाज ठ्याक्कै आदिमै रोकिएको थियो। जब समय पुनः प्ले भयो। यहानिर आकस्मिकता भन्दा धेरै अगाडी एउटा लास भेटियो। म अनन् छु। किन यस्तो भयो र किन यो लासको जन्म भयो। अझै बुझेको छैन। पत्यार नै लागेको छैन यति लामो जीन्दगीमा नभोगेको कुरा अहिले एक्कासी देख्न पर्दा। म चकित छु।

इन्सपेक्टर पुनः अर्को ब्यक्तिलाई सोध्छ।

इन्सपेक्टरः तपाँइलाई केहि जानकारी छ?

स्थानीयबासीः जानकारीको संवेदना शुन्य थियो जतिबेला यो लास भेटियो। “म” को अपनत्व माथि जानकार हुनु भन्दा अगाडी नै यो बिभत्सता प्रस्फुटित भएको थियो। ठ्याक्कै लास देखिनु अघि सुर्यले झिमिक्क निभेको थियो। हामी त एकछिन सुर्यमा पनि लोडसेडिङ भएन भनि अक्मकीयौँ। अन्धकार त्यस्तो निख्खर त कहिल्यै देखिएको थिएन कस्सम। जब फेरि सुर्य बल्यो आकासबाट एक अंजुली जस्तो पानी झर्यो यहिनेर। अनि एक्कासी लासमा परिणत भयो। एकछिन त हामी आत्तियौँ। हतास भयौँ। डरले भरियो यो बाताबरण पुरै। तर सत्य थियो यो लास नै रहेछ। म सोचिरहेको छु पानी कसरी लास बन्यो। पानीको यथार्थता लास हुने कुरा कुनै विज्ञानले पुष्टि गर्छ? यो कस्तो किसिमको पानी थियो जो लाश बन्ने दुस्साहस गर्न सक्छ? यहि हो हामीले देखेको कुरा।

इन्सपेक्टर हैरान हुन्छ र नबुजिने शैलीमा वाकीटकि मार्फत केहि स्वर फलाकी रहन्छ। त्यत्तिकैमा मेरो आँखामा रातिको सपना किरिङमिरिङ जाग्न थाल्छ। अनायास सम्झन्छु रातमा जो स्त्री मेरो सपनामा आएकी थिई र परिचितताको ब्यवहार दर्शाएकी थिई। ठ्याक्कै उसले पनि कालो पेन्ट, पँहेलो टिर्सट र खैरो जुत्ता लगाइएकी थिई जसरी मेरो आँखा अगाडीको लासमा छ। अनि तुरुन्तै टाउको पट्टी गएर हेर्छु। अनुहार पनि उस्तै छ। र खुलिरहेको मुख हेर्छु उछिट्टिएको दारा पनि उस्तै छ। आँखा हेर्छु त्यस्तै रहस्यात्मक छ। अनुहार त्यस्तै चमत्कारीक छ। म अचम्मित हुन्छु। सपनाको स्मृति बिपनामा अभिर्भत हुनु र यस्तो खतरनाक लाशको स्थितिमा सपनाको पात्र देख्नु जीन्दगीको ठुलो विस्मात हो।

मलाई मष्तिष्कमा यहि बिस्मातले पिटिरहन्छ। र अगाडी बढ्दै जान्छु। जतिखेर भि.एस निकेतन नजिकैको बागमति पुलमुनि हुँदै जाँदै गर्छु। बाटामा कमिलाको ठुलो गुजुल्टो देख्छु। ठ्याक्कै ठुलो चोकरको बोरा जस्तै तर गाढा कालो। नजिकै गएर हेर्छु जसरी पुरै पहाडै छेकिने गरि यात्रीहरु पहाड चढ्छन् त्यसैगरि मृत सारौँको शरिरमाथि काला कमिलाहरु चढेका छन्। सारौँ पुर्ण मृत अबस्थामा छ। अझ नजिक पुग्छु र नियाल्छु यो त्यहि सारौँ हो जो गत रात सपनामा हामीले आकासको धेरै माथि यात्रा गरेका थियौँ। अहिले त्यो सपना छोडेर दुइ पैताला लतार्दै म हिँडिरहेको छु र त्यहि सारौँ मृत अबस्थामा मेरो सम्मुख छ। म पुनः अत्तालिन्छु। ठ्याक्कै सपनाको चित्र म देखिरहेको छु। यो कस्तो आघात हो। म पुर्ण मात्र ऐँठनिन्छु। र हिँडिरहन्छु।

ठ्याक्कै कोटेश्वर महादेब स्थान पुग्ने पुल नेर मात्र के पुग्छु कागजका स साना टुक्राहरु यत्रतत्र छरिएको देख्छु। र त्यस मध्यको एक टुक्रा हातमा राख्छु र नियाल्छु जुन परिक्षाको प्रश्न पत्र थियो। जसलाई परिक्षाहलमा प्राप्त गरेको थियँ मैले। फेरि अर्को कागज लिग्छु र हेर्छु मैले परिक्षा दिएर खाली छोडेको पेपर थियो त्यो। जहाँ मेरो नाम मात्र थियो। जुन परिक्षाहलमा मैले पेश गरेको थियँ र परिक्षा गार्डलाई सुम्पिएर निस्किएको थियँ। यो कस्तो बिडम्बना किन प्रश्नपत्र र उत्तरपुष्तिका यसरी छरिएको छ मेरो अगाडी। फेरि किन यतिसारो अक्षर च्यातिएको। म चकित हुन्छु। म पुर्ण विचलित हुन्छु।

म ठ्याक्कै महादेब स्थान छिर्ने पुलको साइडको पर्खालमा अडेस लगायर सोचिरहेँ। आखिर त्यो कस्तो रहस्य थियो। किन सपनामा झुल्कियो?े र यथार्थमा यति विकृत अबशेष बोकेर किन चिमोट्यो मष्तिष्क? किन चेतनाले बारुलाको ठुलो गोला माथि निशाना प्रहार गर्यो र किन कुटुकुटु टोकिरह्यो बिस्मातको बारुलाले? आखिर यो जीन्दगी कुन रुटमा चल्यो? किन यस्तो भैरह्यो। यो जीन्दगीको रुट किन यथार्थ भन्दा बाहिर पाइला राख्न जुर्मुराउँदै छ। कस्तो सनक चढेको हो जीन्दगीलाई?

कि त, मलाई कुनै तन्त्र मन्त्र त लागेको हैन? आखिर किन कुमार नगरकोटिको फिक्सन जस्तो भयो यो जीन्दगी? किन उनको अक्षर सपनामा छरिएको जस्तो लागेको? यो कस्तो टुनामुना थियो? किन यस्तो आकृति धारण गर्यो जीन्दगीले? किन कुमार नगरकोटिको फिक्सन जस्तो अप्रत्याशित लय क्रममा फाल हाल्दैछ यो जीन्दगी?, म अवाक्क भए। भित्र भित्रै चकित भए।

लाग्यो यो टुनामुनाको झारफुक गर्ने क्षमता पक्कै नगरकोटिसँग छ। म मुक्त हुन चाहन्छु। यस्तो अन रियालीस्टीक संसारमा बाँचेर मेरो जीवन कुनै हालतमा सार्थक हुनै सक्दैन। पक्कै उपाय नगरकोटिसँग छ यसबाट मुक्त हुने। म लागेँ नगरकोटिको खोजीमा।

 

ठ्याक्कै बेलुकीको पाँच नाघेकाे थियो घडिले। म शंखमुलको पुल तरेर पाटन तर्फ हान्निए।

बाटैमा नग्न अबस्थामा एक युबती देखेँ। लाजले रातो रातो भए। हृदय लुग्लुग् काँप्न थाले। मैले पुर्ण रुपमा होस र सन्तुलन गुमाउन थालिसकेको थिए। आँखा अचानक उनको दायाँ हातमा पुग्यो। उनको दाँया हातमा प्रयोग भैसकेको कण्डम थियो। र बायाँ हातमा थियो एउटा पम्पलेट। जहाँ लेखिएको थियो, “ वान्टेड नगरकोटि”

मैले अचानक सोधेँ, “ किन नगरकोटिलाई खोज्नु भएको, यि को नगरकोटि हुन् कतै लेखक कुमार नगरकोटि त हैनन्?

ति नग्न युबती बोलिन्, “ हो, म त्यहि लेखक सो कल्ड कुमार नगरकोटिको खोजिमा छु।”

म पुनः सोध्छु, “ के तिनी हराएका हुन् र?”

ति नग्न युबती बोल्छिन्, “ हो, अन्तिम रातबाट एकनास नगरकोटि हराएका हुन्। अन्तिम पटक उनले यहि कण्डम प्रयोग गरेका थिए तर नगरकोटि अहिले गुमनाम छन्। म उनलाई खोजिरहेको छु”

म पुनः सोध्छु, “ कहाँ गएका हुन् र किन एक्कासि हराएका?”

उनी बोल्छिन्, “ थाहा छैन। उनी एक्कासी हराए। अन्तिम पटक मेरै बेडमा मैसँग थिए। तिनका पहिरन, मोबाइल र कुन्नी बिरालोले आँखा तरिराखेको सो कल्ड मिस्टिका भन्ने किताब त्यँहि छ तर मात्र नगरकोटि छैनन्। देख्नु भयो भने पठाइदिनु होला।”

मैले ति नग्न युबती ्सँग अरु गफ गरिराख्न जरुरी ठानिन र हान्निए अगाडी।

ठ्याक्कै पाटन कटेर के बालकुमारी मन्दिर मात्र के पुगेको थिए। मन्दिर अगाडिको पसलमा यस्तो लेखिएको देखेँ, “नगरकोटि भेट्नेलाई केहि इनाम पुरस्कार।” म चकित भए र पसलेलाई सोधेँ।

मः दाई यि लेखक नगरकोटि भन्नु भएको हो?

पसलेः हो, किन तपाँइले भेट्नु भयो र?

मः हैन सोधेको।

पसलेः यहाँ अनावश्यक सोध्न मनाहि छ।

मः किन यसरी खोजिराख्नु भएको नगरकोटि लाई। उनी कहाँ गए र?

पसलेः यिनले यस टोलकी महिलालाई मोहनी लगाएका छन् र उक्त युबती हरेक रात नगरकोटिलाई सपनामा देख्छे। केहि दिन अघि नगरकोटिले विवाह गर्न मन्जुरी पनि जनाएका थिए तर अकस्मात हराए।

मः कहिले हराए नगरकोटि?

पसलेः अस्ति मात्र आएका थिए। उनी के पसल अगाडी आएर के थुचुक्क बसेर चिया मात्रै पिउँदै थिय, धर्ति बेस्कन फाट्यो। र निस्कियो बडेमाको हात्ति र हावाको बेगले नगरकोटिलाई उडाएर हात्तिमाथि चढायो त्यसपछि त्यो हात्ती कता पो हान्नियो हामीलाई पत्तै भएन। र नगरकोटि अझै फर्किएका छैनन्। उ त्यो सिसाको गिलाँस, उनले त्यहि गिलाँसबाट चिया पिउँदै थिए अन्तिमपटक यहाँ उपस्थित हुँदा। तर उनि फर्केनन्। बरु देख्नु भो भने खबर गरिदिनु होला।

म फेरि त्यस सानो चिया पसल बाट निस्किए र लागेँ नगरकोटीको निबास। नगरकोटीको निबास अगाडी गुरु रिम्पोचे कालो बिरालोसँग खेलिरहेको थियो। र ढोकामै थिइन् नगरकोटिकी पत्नि। निकै निराश मुद्रामा घोत्लिएर बसिराखेका थिइन्। अनायास उनलाई नगरकोटीको बारेमा सोधेँ।

मः “ म्याडम, कुमार नगरकोटि हुनुहुन्छ?”

नगरकोटि पत्निः हुनुहुन्न।

मः कहाँ हुनुहुन्छ त, खबर पाउँन?

नगरकोटि पत्निः म स्वयं बेखबर छु। उनी हराए। थाहा छैन, किन, कसरी र केका लागि हराए?

मः कहिले हराए र हराउनु अघि के थियो अबस्था?

नगरकोटि पत्निः तिन दिन मात्र अगाडी। उनी केहि लेख्दै थिए।सायद नयाँ उपन्यास घाटमान्डौ हुनुपर्छ। कापी र कलम थियो साथमा। अनि टेबलमाथि कुइनोलाई बिम बनाएर टाउको धानिरहेका थिए। अकस्मात, बेस्कन चिच्याए। आँखाभरी आँशु नै आँशु थियो। त्यस अगाढी जीन्दगीमा त्यसरी रोएको कहिल्यै देखेकै थिइन।

उनी चिच्याउन थाले, “उपन्यासको शब्द छोडेर कुन्डिलिनी कुहिरो बाहिर निस्कियो, बचाउ बचाउ।”

त्यसपश्चात कुहिरोको गुजुल्टाेले छुक्यो पुरै धर्ति र जब कुहिरो बिलीन भयो नगरकोटि थिएनन् बस् टेबलको कलम र कापि उस्तै छ तर उनी फर्किएका छैनन्। तपाँइले देख्नु भो भने खबर गर्नु होला।

म निराश भयर फर्किए। यो टुनामुता। यो अन्तरजन्तर अनि यो तन्त्र मन्त्र म पुर्ण रुपमा मिल्काउन चाहान्थेँ। तर नगरकोटि भेटिएनन्। कुमार नगरकोटिको फिक्सन जस्तो यो अनरियालिस्टिक जीन्दगी रोक्न चाहान्थेँ। म मुक्त हुन चाहान्थेँ तर यो हुन सकेन।

म हिँडिरहेँ। बस् हिँडिरहेँ। नगरकोटिको खोजिमा। तर कतै भेटिन। यदि तपाँइले कतै देख्नु भयो भने निमेष सापकोटा लाई संपर्क गर्नु होला। उनी अझै खोजिरहेका छन्।

-निमेषराज सापकोटा