स्कुल पढ्दा म पढाइमा ल्वाँठ थिएँ । मलाई पढ्नै मन लाग्दैनथ्यो । मास्टरहरु मलाई भेट्ने बित्तिकै भन्ने गर्थे, “यसले पढेर खाँदैन । यसले जीवनको सक्रिय याम विद्यालयमा वेस्ट गरिरहेको छ । बरु यसले हलो जोत्न थालेको भए यो खुङ्खार हलि भैसक्थ्यो ।” मलाई झनक्क रिस उठ्थ्यो र मनमनै सोच्थेँ, “मादरचोद ! कति कराउन सक्छ ? यसलाई मार्दिन पाए पनि हुन्थ्यो ।” जहिल्यै गर्ने डोमिनेशनले म रनन हुन्थेँ । मलाई अन्डरस्टिमेट नगरी मास्टरको भात पनि रुच्दैनथ्यो । कक्षा सुरु हुने त कुरै भएन । लाग्थ्यो, “यो मुजिको रिन खाको छु र यतिविघ्न गर्न ?” 
कहिलेकाहीँ त अन्डरओल्र्ड डन बनेको र मास्टरको कन्चेटीमा पेस्तोल ताकेको सम्म सपना देख्थेँ । 
मलाई त्यो स्कुल÷कलेज अनि त्यहाँको नियोजित र नियमित पठन व्यबस्था कहिल्यै पनि मनपरेन । त्यो मेरो लागि डम्पिङ साइड भन्दा बर्ता कहिल्यै भएन । म खुब फेल भैरहेँ । जीवनको हर परिक्षामा म कि फेल भएँ कि सिमाना भन्दा माथि उठ्न सकिन । सिमानाकै सेरोफेरोमा रम्दारम्दै स्कुल र कलेज का ति वाइयात दिनहरु बिते । त्यहि भएर होला मलाई सिमाना खुब मनपर्छ । किनकी म सिमानाकै उत्पादन थिएँ । 
मलाई त्यसताका लाग्थ्यो, “यो पढाई सढाई मेरो लागि बनेकै होइन । म कुछऔर उद्देश्यको लागि जन्मिएको हुँ ।” विद्यालयको हाता मलाई निर्जिव नियमको सिरिञ्ज रोप्ने कठघरा जस्तो लाग्थ्यो । अनि कक्षाकोठा मेरो लागि इरिटेटिङ स्पटहरुमा पथ्र्यो । त्यसताका सरले पढाउँदै गर्दा म वलपेनले एकोहोरो बेञ्च कोरिरहने गर्थेँ र सोच्थेँ “प्रेम हो मेरो लागि संसारको उच्चतम पाठशाला र अद्यात्मको एडभेन्चरस् यात्रा ।” सायद म प्रेमको दख्खल खेलाडी बन्न चाहान्थेँ । किन मलाई त्यस्तो लाग्थ्यो मलाई त्यसप्रति एकरत्ति ज्ञान छैन । तर सँधै लागिरहन्थ्यो । 
प्लस टु पढुन्जेल म सँग प्रेमको त्यस्तो अनुभव थिएन । किनकी म अलरेडि मास्टरवेशन र त्यसको रङ्गिन किल्लाहरुमा चाहार्न थालिसकेको थिएँ । सायद मेरो टिनएजको विरासत थाम्न सक्ने त्यस्तो वजनदार एैचिभमेन्ट नै मास्टरवेशन थियो । र मसँग त्यसका मादक गल्लिहरुमा विताएको स्वप्नरषि अनुभूतिहरु थिए । मैले चरम दुःखका वक्तहरुमा मास्टरवेशन गरेँ । खुसीका यामहरु मस्टरवेशन सँगै साटेँ । म चरम अनिन्द्राबाट गुज्रिरहेको समयमा मेरो लागि मास्टरवेशननै तुरुपको एक्का सावित भयो । खैर जे होस् मेरो ति सक्रिय जीवनमा मास्टरवेशन अपरिहार्य साथी बन्यो, आफ्नै छाँया जस्तो । 
पछि प्लस टु सक्किएपछि म अष्ट्रेलिएको सपना बोकेर ब्लाक होल जस्तो काठमाडौं छिरेँ । परिस्थिति कुछ और बाधक बनिदियो । पहिलेदेखि नै पढाइसँग त्यस्तो अनुकरणीय केमेस्ट्रि नमिलिरहेको मैले फेरि अष्ट्रेलियाको सपनाबाट पनि ब्याक हट्नुपर्यो । केहि समय हेटौंडा फर्किएँ र ब्यापारी भएँ । लाग्यो, यो ब्यापार स्यापार मेरो लागि बनेको होइन । त्यसको चक्कर पनि छाडिदिएँ र फेरि झिटी बोकेर लागेँ त्यहि उदास काठमाडौं । ब्याचलर पढ्न थालेँ । 
त्यसताका मैले ओशो र जे कृष्णमुर्तिले सिकाएको मार्गमा दत्तचित्त भएर लागिरहेको थिएँ । सिर्फ मेरो लागि सत्य भन्दा ठुलो खोज र उद्देश्य केहि बाँकी नभएको भान हुन लाग्यो । म मेडिटेशन को उचित साधनाको लागि ब्याकुल दौडिरहेको थिएँ । सिर्फ मेरो पर्सनालिटी कुनै साधुको जस्तो होस् भन्ने म चाहान्थेँ । किनकी म भित्रबाट भौतिक संसार प्रतिको मोह बिस्तारै घट्दै गइरहेको थियो । प्रेम त मेरो कल्पनाभन्दा पनि बाहिरको कुरा थियो । काठमाडौंको त्यो महङ्गीमा कुनै दिन गर्लफेन्ड बनाउन सकिएला मैले सोच्न पनि सकेको थिइनँ । 
फेरि हेटौंडा फर्किन पनि मन लाग्न छाड्यो । काठमाडौंको लत नै त्यहि हो । नवप्रेविशकाहरु भित्र एउटा अजीवको अहंकार भरिदिन्छ काठमाडौंले । संसारमा ठुला सहरहरुको दम्भ नै अनौठो हुन्छ । मोफसलको अस्तित्व स्विकार्नै चाँहादैन । त्यहि आडम्बरको बिच मान्छेको जीवन सक्किन्छ । केहि बन्न नसकेपनि उ सँग ठुलो सहरको घमण्ड भने सँधै रहिरहन्छ । त्यसैले मान्छे ठुलो सहरको हुलभित्र नजानिँदो रुपमा हराइदिन्छ । मेरो हालतमा पनि त्यहि भयो । म घर फर्किन सकिनँ । 
एकदिन म काठकाडौमा अवस्थित आफ्नो व्यक्तिगत कोठामा लखतरान बसिरहेको थिएँ । नजिकै छिमेकीको बिहे थियो । म्युजिकल इन्स्ट्रमेन्टको आवाज जताततै ब्याप्त थियो । नेपथ्यमा हिन्दी गित खुब मादकता सहित घन्किरहेको थियो । त्यतिकैमा मैले एउटा अनुहार देखें । जो मेरै कोठामा नक गरिरहेकि थिई । म झनन्न भएँ । तपाँई आफैं सोच्नोस् न मेडिटेटिभ मुद्रामा रमाइरहेको बेला कसैको अप्रत्याशित आगमनले वातावरण कस्तो हुन्छ ? उसले घरबेटीको कोठा सोधी, मैले माथितिर इसारा गरेँ । सायद उ घरबेटी सँगै बिहेमा जान चाहान्थी । त्यसभन्दा अघि मैले उसलाई त्यति उल्लेखनिय रुपमा देखेको याद छैन । तर जब त्यसबेला देखें मलाई मेरो जन्मौंको प्यास एकसाथ मेटिए जस्तो लाग्यो । 
आखिर उसलाई नै देखिसकेपछि म भित्र बिहेमा नगई बस्ने हिम्मत नै जुरेन । म उसैलाई देख्ने आतुरतामा बिहेमा गएँ । मन तृप्त नहुनेजेलसम्म म उसलाई हेरिरहेँ । 
दार्शनिक भन्छन्, “मनको चञ्चलतामा नफस्नोस् । मन त्यस्तो विचलति पदार्थ हो जसले मानिसलाई विचलन र डिस्ट्राक्सन तिर लैजान्छ । मन कर्कलोको पातमा हल्लिरहने पानी जस्तो हो, जसको ठेगान छैन, उ बस् इन्द्रिय तृप्तिको निमित्त मात्रै अनेक बाहाना खोजिबस्छ ।” कुरा पनि हो । मनलाई कम्प्लिट न्युट्रल बनाउन सक्ने बाटोको खोजिमा दगुरीरहेको थिएँ । तर जब उसलाई देखें मेरो रुटिन र मैले गरिरहेको आध्यात्मिक साधाना सप ओझेलमा परे । मैले उसलाई नसम्झि÷नहेरी बाँच्नै सकिन । म फ्लम आध्यात्मिक भएँ । 
केहि दिन पछि मैले उसको नाम थाहा पाएँ । म भन्दा उ त्यहि चार/पाँच ब्याच जुनियर थिई । मलाई त्यससँग खासै कन्सर्न पनि थिएन । सिर्फ मलाई म भित्र उब्जिरहेको प्रेमिल तरङ्गहरुमाथि प्रवाह थियो । र सिधै फेसबुकमा रिक्वेस्ट ठेलिदिएँ । हप्तौं बित्यो तर उसको नोटिफिकेसनको अत्तोपत्तै आएन । मैले रिक्वेस्ट क्यान्सल ठोकिदिएँ । जीवन आफ्नै बाटै बाटो दगुर्न थाल्यो । केहि सिमित वक्त वाहेक मैले उसलाई सम्झन पनि छाडें । यात्रामा भेटिएका कयौं सुन्दर अनुहार जस्तै उ पनि मेरो विस्मरणको शिकारमा परि । 
करिव ६/७ महिना पछि मैले उसलाई तिजमा देखें । घरबेटी र छिमेकी आइमाईहरुको भिँडमा उ थिई । त्यहि गल्लिमा जहाँ म निराश भाकामा जीन्दगीको प्याडल धकेलीरहेको हुन्थेँ । उसलाई देखेपछि मलाई त्यो गल्लीपनि लाग्नथाल्यो, किङ्स वे । मलाई त्यो गल्ली लाग्न थाल्यो, तिर्थयात्री हिँड्ने पवित्र मार्ग जस्तो । म भित्रको उसको पुरानो याद पुनः जीवित भयो । मलाई रातमा निन्द्रा लाग्न छोड्यो । मनमनै गुन्गुनाउन थालेँ, “तुम् आए तो आए मुझे याद गलिमा आज चाँद निक्ला, आज इत्ने दिनोके बाद गलिमा आज चाँद निक्ला ।” 
मलाई फेरि उसको सम्झनाले सताउन थाल्यो । म ब्याकुल देखिन थालेँ । त्यो हुन्छ नि एउटा जोस जब मान्छे प्रेममा नमज्जाले चोबलिन्छ । हो मभित्रै त्यस्तै जोस जागिरहेको थियो र त्यस जोसले अङ्कुरणको बाटो खोजिरहेको थियो । र फेरि मैले उसलाई फेसबुकमा रिक्वेस्ट पठाइदिएँ । केहि पलमै रिक्वेस्ट एसेप्ट भएको नोफिकेसन आयो । म खुसीले बौलाउन थालेँ । 
त्यसको ३/४ दिन पछि एकदिन मैले उसको सबै फेसबुकका र इन्सटाग्रामका फोटोहरुमा लाइक ठोकिदिएँ । र सुतें । बिहान उठ्दा उसले पनि मेरा सबै फोटोहरुमा लाइक गरेको नोटिफिकेसन आयो । त्यसदिन खुसीको उत्तेजनामा म दिनभर बेठेगान हिँडिरहेँ । त्यसपछिका केहि दिन सामान्य रुपमा गफ हुन थाल्यो । गफको शिलसिलाले इन्टेमेसिको खुड्कला उक्लँदै गयो । 
एकदिन साथीसँग पशुपति डुलिरहेको थिएँ । एक्कासी हाम्रो सम्मुख एक ज्योतिष देखापरे । साथी सिधै हात हेराउने चक्रमा फस्यो । मलाई कता कता हात देखाउने रहर लुप्त रुपमा थियो मनभित्र । तर त्यसरी देखाइहालेको थिइनँ । भन्नेहरु भन्थे, “आफ्नो हात नदेखाउनु, देखायो भने अरुलाई भाग्य सर्छ ।” मनमा डर त थियो तर साथीको प्रस्ताव नकार्नै सकिन । निरिह जनावर जस्तो ज्योतिष सामु मैलेपनि पनि हात तेर्साइदिएँ । ज्योतिष फलाक्न थाल्यो । किनकिन मलाई ननसेन्स लाग्यो । रद्धी लाग्यो । मुलाले अनावश्यक प्रसङ्ग निकाल्दै मेरो भेजा खाना थाल्यो । मलाई ह्याङ लाग्यो । के के भन्यो मलाई खासै याद पनि भयन । तर ज्योतिषको एक वाक्यले मेरो हृदय हल्लियो, “भाई जिन्दगीमा यो साल नयाँ स्त्री आउँदैछे, त्यो पनि सिर्फ केहिदिन भित्र । जिन्दगीभर तपाँईको प्रेम चल्नेछ । विवाह पनि यहि केटी सँग हुन्छ” हैट ! उसको त्यो वाणी मलाई हरे कृष्ण.. महामन्त्र भन्दा पनि दामी लाग्यो । दुईसय खसाल्दिएँ पोल्टामा । 
नभन्दै त्यस्को केहि दिन भित्र हामी औपचारिक प्रेममा फस्यौं । मलाई स्पष्ट थाहा छ त्यो दशैंको याम थियो । हामीले दशैंको रोमाञ्चकता सँगै प्रेमको रोमाञ्चक आकाशमा सँगसँगै पँखेटा फैलाएर उड्ने कसम खायौं । प्रेमील संगीतको लयवद्ध मधुरतामा जीन्दगी अघि बढ्न थालेको थियो । त्यविचमा दशैंतिहार/छठ सबै पर्वहरु सकिए । 
काठमाडौंका गल्लीहरु सुन्दर लाग्न थालेको थियो । रोडमा हामी हात समाउँदै हिँड्दै गर्दा संसारकै सबैभन्दा सुन्दर यात्रामा हिँडिरहेझैं लाग्थ्यो । उ सँगसँगै हात समाएर हिँड्दा मलाई जीवनकै ब्लिसफुल याम बाँचरिहेको भान हुन्थ्यो । त्यो छ नि के के फेमस कथाहरु संसारमा ! त्यसैका सुन्दर दृश्यहरु मेरो जीवनको आकाशबाट तपतप् चुहिरहे जस्तो लाग्यो । त्यो आकाश पनि पानको पात जस्तो । त्यो बादल पनि गुलाफको पत्र जस्तो । त्यो जुन र तारापनि उसको फुलि र टप जस्तो । हामीले सँगसँगै काठमाडौंका गल्लीहरु चाहार्यौं, क्याफेहरु चाहार्यौं र सार्वजनिक स्थलहरु चहार्यौं । 
यात्रा सुमधुर चल्दै नै थियो । एकदिन घरबाट अप्रत्याशित रुपमा मोबाइल खोस्नु भयो भन्ने खबर आयो । र फेसबुकको पासवर्ड पनि लिग्नुभयो म सबै सामाजिक सञ्जालबाट प्रतिबन्ध भएँ भन्ने पनि खबर आयो । त्यसले मलाइे केहिदिन निराशाभित्र चोबलिरह्यो । त्यसपश्चात उसको खबर आउन पनि छोड्यो । कहिलेकाहीँ अरुकै मोबाइलबाट बेल्का एकछिन भाइबरमा गफ हुन्थ्यो । त्यो पनि बिस्तारै हराउन थाल्यो । समन्ध साबुनको फिँज जस्तो पातलिन थाल्यो । चुँडिएको गितारको स्ट्रिङजस्तो झोक्राउन थाल्यो । रंग खुईलिएको घरको भित्ताजस्तो सिर्फ उदासिन र मौन मात्र भइरह्यो । 
सम्बन्धको चार/पाँच महिना पछि यो मोड अप्रत्याशित रुपमा देखापर्यो । लाग्थ्यो, उसले कुनैदिन बाहिरको पि.सि.यो अथवा ल्यान्ड लाइनबाट अवश्य फोन गर्नेछे । तर त्यो मेरो सपना माथि यथार्थका कोर्राहरु बर्सिरहन थाले । न उसको खबर आयो न न फोन न म्यासेज । मलाई खुब पिडा हुन थाल्यो । किनकी बजारभरि प्रसस्त फोनहरु हुन्थे । यतिसम्म लाग्थ्यो कुनै दिन कुनै साथीको फोनबाट कल गरेर भनेपनि उसले आफ्नो स्थितिको विषयमा कुरा गर्नेछे । तर परिणाम मेरो विपक्षमा आयो । उ त्यसैगरी गुमनाम भइरही । म पिडाका चोटिल वर्षातहरु खेप्तै जीन्दगीको यात्रामा निरीह यात्री जस्तो हिँडिरहेँ । 
मलाई खुब नमज्जा लाग्यो । मेरो स्थिति हुबहुः मार्खेजियन पात्र फ्लोरेन्टिनो एरिजाको जस्तो भएको थियो । ठ्याक्कै जहाजको यात्रा गर्नुपुर्वको फ्लोरेन्टिनो एरिजाको जस्तो । जो सँग सिर्फ प्रेम थियो । र प्रियसीले प्रेमको नाममा दिएको थन्डरस् चोटहरु । उ अभिशप्त थियो पिडाका हर कोर्राहरु सहन । हुबहुः मेरो स्थिति पनि त्यस्तै थियो । यति सम्म कि म मेरा स्पेसल नोटहरुमा समेत आफ्नो नाम फ्लोरेन्टिनो एरिजा लेखिबस्थेँ । 
तपाईं जब यौवनको पट्यारलाग्दो पिडाहरुबाट गुज्रनुहुन्छ । कुनै किताबका ननसेन्स गल्लिहरु चाहार्नोस् । यस्तो एउटा पात्र आउनेछ । स्वयं आफुजस्तै लागिदिन्छ । र उसको मानक र पहिचानमा आफु हुर्किरहेको अजीवको भान हुन्छ । मार्खेजियन पात्र ठ्याक्कै यस्तै बनिदियो । 
धेरैपछिको कुरा होला, करिब दुई/तिन महिनापछि उसको फ्रेन्ड रिक्वेस्ट फेसबुकमा देखापर्यो । उसको कक्षा १२ को परीक्षा पनि सक्किसकेको थियो । सक्केको केहि महिना पछि उसले फेसबुक चलाउन थालि सकेकी थिई । मोबाइल पनि थियो तर त्यसबिच उसले मसँग कन्ट्याक्टमा म रहन चाहिन । उसले मसँग गरेको हरकुरा सिर्फ बाहाना थियो भन्ने कुरा मैले करिब करिब पत्ता लगाइसकेको थिएँ । फेसबुक पुनः एड भसकेपछि सम्बन्धमा तिक्तताहरु देखिन थाले । झगडाहरु सुरु हुन थाल्यो । म स्पष्टिकरण माग्न थालेँ उ ढाँटिरहन थालि । चित्त नबुझेपछि फेरि महिनौं गायब हुन्थि र फेरि त्यहि झुटको खेति गर्नतिर लाग्थि । यो चक्कर चलिरह्यो । 
प्रेम दाशर्निकहरु भन्छन्, “झुट र रहस्यमा केटीहरु पि.एच.डी होल्डर नै हुन्, जति बुझ्दै जानुहुन्छ त्यति असमञ्जस्यताको खाडलमा घुस्नुहुन्छ । यिनीहरुको अवतारनै धेरै । रुप नै धेरै । रंग नै धेरै । स्वाङ नै धेरै ।” यस्सो सोचिहेर्दा मलाई पनि हो कि जस्तो लाग्यो । 
राजनीतिज्ञले इतिहासको कुनै कालखण्डमा भन्ने गरेको सुधारिएको पञ्चायत जस्तो म “सुध्रिएकी उ” नै चाहान्थें । जवानी को त्यो मोड फेरी त्यति गहिरो प्रेम गरेको मान्छे यसरी जीवनबाट हर निशान मेटेर गायब होस् भन्ने पक्षमा म एकरत्ति पनि थिइन । मलाई उसँग गहिरो प्रेम थियो । म हर कन्फ्युजनहरु मत्थर पार्दै सम्बन्धलाई सृदृढ पार्नेतिर लाग्न चाहान्थेँ । उ अनेकौं कन्फ्युजन लेराइरहन्थी र चित्त नबुझेपछि फेरि गायब भैदिन्थी । फेरि महिनौं उसको अत्तोपत्तो हुँदैन थ्यो । चलचित्रको सस्पेन्स सिन जस्तो फेरि अनौठो रुपमा जीवनमा देखा पर्र्थी । 
यो क्रम चलिरह्यो । म तनाबको क्लाइमेक्समा पुग्न थालेँ । यति सम्म लाग्न थाल्यो मेरो उ प्रतिको समपर्ण र निष्ठालाई उसले मेरो कमजोरी बनाइरहेकी छे । जब पन्ध्रौं दिन/महिनौ उ हराउने र आउने शिलशिला चलिरहन्थ्यो, तब म झन झन तनाबको चपेटामा पर्नथाल्थेँ । तनाबै तनाबको बिचमा मेरो हातबाट परिक्षा पनि फुत्किगयो । उ त त्यसै पनि म बाट टाढा हुने पर्फेट टाइमिङ कुरीरहेकी थिई । कुरा के गर्नु, प्रेमको मामलामा बौलाइहिँडेको दार्शनिकहरुको लिस्टै लामो छ । किन बौलाउँछन्, मलाई त्यस रहस्य र त्यसभित्रको सत्यको धेरथोर ज्ञान हुनथाल्यो । 
एकदिन बाचा गरेँ, “अब म प्रेम गर्दिन ।” किनकी उसले मलाई आजित बनाइसकेकि थिई । उसँग हुन सक्ने हर कन्ट्याक्ट बाट मलाई टाढा रहन मन लाग्यो । मैले फेसबुक परमानेन्टली डिलिट ठोकिदिएँ । मैले इन्सटाग्राम डिलिट ठोकिदिएँ । भाइबर र वाट्सऐप पनि चलाउन छोडिदिएँ । उसले मभित्र उब्जाएको बितृष्णा र पिडाले मलाई भित्रैबाट सताइरहेको थियो । त्यतिमात्र होइन मैले जीवनमा चुरोट पिउन पनि सिकेँ । रक्सि खान थालें । भट्टि चाहार्न थालेँ । किनकी मभित्र प्रेमले उब्जाएको त्यतिविघ्न वितृष्णा र पिडा पहिलो पटक घटिरहेको थियो । मैले बुझ्नै छोडिसकेको थिएँ । 
जीवन ट्रयाजेडि गल्लिहरुमा पेसिमेस्टिक भएर बितिरकेको थियो । चार पाँच महिना पछाडितिरको कुरा हो । ठ्याक्कै त्यो अर्को वर्षको याम तीजकै याम थियो । त्यसदिन अनायास उसको म्यासेज आयो, “मलाई पनि तपाईंको याद आउन थाल्यो ।’ केहिदिन वेवास्ता गरें तर भित्रभित्रै मेरो वेवास्ताको अभिनयबाट म आफैं भङ्ग भैरहेको थिएँ । अन्त्यतः म नबोली बस्न सकिन । हाम्रो वार्तालापले गति लिन थाल्यो र हामी एक क्याफेमा भेटियौं । 
पुन सम्बन्धले परिधि हात पार्यो । विगतका हर कन्फ्युजनहरु मत्थर पार्दै हामी नयाँ बाटो पक्डिन थाल्यौं । मलाई लाग्यो, “अब यो प्रेम जीवनभरी बाँच्नेछ । म त्यसको लागि हर किमात गुमाउन तयार छु ।’ त्यहि बाचाका साथ एक/डेढ महिना हामी एकअर्काको आलिङ्गनमा हरायौं । काठमाडौंका ति चोकहरुमा एकअर्काको अङ्गालोमा हामीले सिङ्गै सहर विर्सियौं । लाग्यो “यो प्रेम मलाई मेरो इश्वरले दिएको उपहार हो । म यसलाई सदा जतन र सम्मान गर्नेछु ।”
पछि उ जागिरे भई । अलि ब्यस्त हुन थालि । मैले काठमाडौ छाडेँ । दुरी पनि बढ्यो । गफको डिउरेशन घट्यो । थोरै हलचल आउन थाल्यो जीवनमा । सम्बन्धभित्रको अलेलि मिठास गायब हुन थाल्यो । उसलाई अलि परिवर्तित मुद्रामा देख्न थालेँ । ति सपनाहरु पनि गायव भए । पातहरुसपै खसेर निथ्रिएको शिशिरको उदास वृक्ष जस्तो भयौं हामी । 
समय बदलिएर दशैंको कोमल बास्नाहरुले भरिन थाल्यौ सिङ्गै परिवेश । तर म खिङ्ग्रिङ्ग हुँदै गएँ । म भित्र उल्लास इत्ति पनि पाइन मैले । उ फेरि रहस्यात्मक आँधी जस्तै प्रेमको शिलशिलै भङ्ग हुनेगरी हराएकी थिई । म पुनः विस्मातमा परें । एकदिन लामो कसरत पछि उ सँग गफ पनि भयो । तर उसलाई सम्बन्धमा बस्न मन नलागेको र हरहालतमा म सँग कुनै हिसाबले गफै नगर्ने उसको धारणा थियो । मैले कयौं कोशिश गरें उसलाई सम्झाउन तर हर कोशिशमा म अनुर्तिण साबित भएँ । 
मैले उसलाई दैनिक सयौं जस्तो म्यासेज गरें तर कुनै पनि म्यासेजको कहिल्यै रिप्लाई आएन । मैले महिनौं सम्म फलो गरें । तर कहिल्यै उसको रेसपोन्स आएन । उ फेरि धेरै जिज्ञासाहरुलाई नाजावफ बनाउँदै मेरो संसारबाट सदाको लागि गायब भई । उ त्यति विघ्न कठोर केटी हो मलाई विश्वास गर्न पनि गाह्रो भयो । तर परिस्थिति र उसको मनस्थिति नै प्रतिकुल बनिसकेपछि म हर स्थितिको लागि तयार भएरै छोड्नु पर्यो । 
उसले भनेको त्यो शब्द, “मलाई तपाईं सँग गफ गर्नु छैन । सम्बन्धमा बस्नु पनि छैन । मलाई म्यासेज नगर्नुस् ।” म रनननन भएको थिएँ । खुर्सानीका पिरोले कानै रातो पारे जस्तो । अझ छाँगा बाट खसेको भन्छन् नि मान्छे, हो ठ्याक्कै त्यस्तै । जे होस् म छाँगा जस्तै कतैबाट निकै नमज्जाले पछारिएँ । 
मैले त सोच्न पनि सकेको थिइन त्यसबेला । अघिल्लो दिन राति सम्म मादक “आइ लभ यु” भन्ने केटि विहानसम्म एक्कासी चेन्ज । ह्वाट अ फकिङ सरप्राइज ! 
सोचेँ पनि एकछिन्, “यो केटिलाई कसैले उचाल्यो ।” उसले विगतका कन्भरसेन्हरुमा भन्ने क्यारियर शब्द मनमा खेलाउँदै ल्यापटपको पोइन्टर खेलाइरहेँ । जुन कुरा मेरो सपनामा पनि होला भन्ने सोचेको थिइन, त्यो एक्कासी ति...तो यथार्थ बनेर मेरो सम्मुख छायो । 
धेरैले भन्थे, “केटीको पछि नलाग्, यिनले पछि खोज्ने सेल्फ ल्यान्डिङ नै हो । यिनरुलाई हामीसँग मतलब छैन । आज तँ सँग प्रेमको ठुलो नाटक गर्छे । भोलि पैसावाला आउँछ तलाई चुट्किको भरमा छोडिदिन्छे । केटिहरुलाई हाम्रो प्रेम सँग मतलब छैन । हाम्रो संबेदना सँग मतलब छैन । हाम्रो पिडा सँग मतलब छैन । बस् यिनीहरुलाई पैसा चाहिन्छ पै..सा !” मलाई सयआना हो जस्तो लाग्यो । 
कसैले यो पनि सुनाए, “एउटा अष्ट्रेलियामा बस्ने केटासँग हिमचिम थियो । त्यतै लागि । उ जागिरे भैसकी, तँ सँग के छ ? न जागिर न पैसा ? अष्ट्रेलियन छाडेर भुत्राको तँसग बस्छे ?” यो कुरा कताकता सत्य लाग्यो मलाई । विगतमा उसले अष्ट्रेलियामा बस्ने कुनै केटाले ज्यानै दिन्छ भन्दै गर्भले मलाई उसँगका संवादहरु सुनाइरहन्थी । कोल्टेनी भेरेँ, निन्द्रा लागेन । झ्यालबाट उदास रात नियाँल्दै सोचिरहेँ, “यि विदेशी लाहुरेहरु किन अर्काको प्रेममाथि खेल्न यतिसारो लालायित र माहिर हुन्छन् ?”
म भित्र अनौठो सन्नाटा छायो । मेरो अगाडीको हर वस्तुहरु कुरुप प्रतित हुन थाल्यो । 
उ यसरी कसैलाई ब्याकपमा राख्न सक्छे र मलाई यति सस्तो बलिको बोका बनाउन सक्छे, मैले कहिल्यै सोचिन । उसले धेरै रहस्यहरु गुमनाम राखि । भन्छन् नि त्यो नेपाली गुमराह होकि बुमराह, समथिङ त्यस्तै छ नि ! नेपाली एउटा शब्द, हो मलाई त्यहिँ राखी उसले । 
केटिहरु स्वार्थी नै हुन् । मलाई गुनासो रहेन । आत्मिक स्वतन्त्रतामाथि दखल पुर्याउने मेरो त्यस्तो केहि सुनियोजित दुस्साहस पनि होइन । 
बिचमा पनि गाइब नभइरहेको त होइन । अनेक दिन निराशामा बिति जान्थ्यो । यति सम्म कि मैले आफ्नो प्रेम सम्बन्ध माथि कहिल्यै खुलेर दाबि गर्न पाइन । त्यो अधिकार मबाट छेद भयो । किनकी धेरै सर्तहरु टेकेर उभिएको थियो प्रेम । विद्धानहरु भन्न त भन्छन् “प्रेम सर्त भन्दा माथि छ ।” मलाई पनि हो जस्तै लाग्थ्यो लाग्न त ! तर वास्तविकता अर्कै थियो । 
दार्शनिहरु अझ भन्थे, “हर अति हरु गलत हुन् । हर अति हरुको एकातिर झुकाब रहन्छ । जबसम्म झुकाब रहन्छ, त्यहाँ सत्य हुँदैन ।” उ पनि मेरो लागि एउटा अति नै त थिई । सायद त्यहि भएर हुदोँ हो त्यो असत्य लामो समय टिकेन । 
उसलाई मैले जीवनमै धेरै मनपराएकै हो । मेरो निम्ति उ शाश्वत ‘कोहीनुर’ थिई । म कुनै पनि बाहानामा कहिल्यै पनि त्यसरी उसलाई गुमाउन चाहान्नथेँ । म उसका हर बाहानाहरु चुपचाप पत्याइरहन्थेँ । मानिरहन्थेँ । उसको बाहानाबाझि र उसले निर्माण गर्ने झुट उसको लागि स्वाभाविक प्रकृया थियो । तर म चैं भने प्रेममा अधिकतम इमान्दारिताको अभ्यास गर्थेँ । अहिले सम्झन्छु, ब्लन्डर मिस्टेक नै त्यहि थियो । 
मेरो लागि उ प्रेम मात्र पनि थिइन । सामाजिक मान्यताको मेरुदण्ड पनि थिई । जीवनको सक्रिय उमेरमा प्रेमिका नहुनेहरुलाई बजारिया प्रेम–दार्शनिकहरुले हेयको दृष्टिले हेर्ने गर्दथे । म मेरो असमर्थतालाई बजारिया समाचार बनाउन चाहान्नथेँ । फेरि जीवनको लामो तथ्याङ्क पल्टाएर हेर्ने हो भने कुनै केटीको नाम निशान पनि थिएन । जीवनमा कोही केटिले मायाले हेरेको इत्ति अनुभव पनि थिएन । केटीले प्रपोज त ! सपना सम्ममा पनि गरेको थाहा छैन । फेरी जीवनमा प्रेम गर्ने अभिप्सा नभएको पनि होइन । त्यसैले त म उसका हर बाहानाहरु स्विकार्नको लागि अभिसप्त थिएँ । 
आज उसले छोडेर गएको महिनौं बितिसकेको छ । पिडाको क्लाइमेक्समा दर्दभरी गीतहरु सुनिरहेको छु । फेरि साँच्चै भन्ने हो भने मलाई जीवनको उत्तरार्धमा पिडाका गीतहरु मन पर्दैन थियो । मलाई लाग्ने गथ्र्यो, “किन मान्छे जीवनमा आनन्दको एउटा आयाम नै बिर्सिएर पिडाको गीतमा रमाउँछ ?” तर जब म पिडाको त्यस विदारक स्थितिबाट गुज्रनु पर्यो तब मलाई संसारभरिकै पिडाका गीतहरु सिर्फ मेरो आफ्नै जस्तो लाग्न थाल्यो । म यो समयकै पिडीत गीतहरु गाउँदै सडक/चोक चाहारिरहन थालेँ । 
स्कुल पढ्दा जब मास्टरले हकार्थ्यो म सोच्थेँ, “पढाइको लागि होइन सायद म प्रेमको लागि योग्य छु ।” तर जब प्रेमले यो देबदासी रातहरुको सन्नाटाहरुमा पछार्यो । अहिले म सोच्दै छु, “सायद यो प्रेम पनि मेरो लागि बनेकै होइन ।”
बस् मलाई अहिले लेख्दै गर्दा त्यहि ज्योतिषको याद आइरहेको छ । उसलाई त सायद बिर्सिसकेको हुँदो हुँ ।