नसोध कस्तो रिस्ता यो, यही छ प्यार, प्यार झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ !
दुनियाँ दङ्ग–दङ्ग छ, छिमेकमा रस–रङ्ग छ
यो हाम्रो मयाँ–प्रीतिको, जसै नूतन प्रसङ्ग छ
त्यो विघ्न काँडेघारीमा, देख्यौ कि पुष्प–गार्ड झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ !
छ शून्य–शून्य मिर्मिरे, छ शान्त–शान्त दिन पूरै
यो आउने रात हाम्रै हो, भनुँ– यै हो सुदिन पूरै
जसै निदाउँछ काल यो, यसै हामी फरवार्ड झैँ
तिमी छौ हाते फोन झैँ, म छु रिचार्ज कार्ड झैँ !
धडी–धोका त्यो के हो र, घडी–घडी म पर्खुंला
सुदूर दूर भइगए, मै फर्कुंला, मै पर्खुंला
नझस्कुँला, नतर्सुंला, होला कतै बमबार्ड झैँ