गल्तीहरु खासमा मेरो आफ्नै मस्तिष्क,मेरा सोचाइ अनि मेरा सपना! होईन अनिदोंमा देखेका धुमिल, कहिल्यै यथार्थमा परिवर्तन नहुने बिपनाहरुको हो ।
मैले तोकेका मेरा रहरका सिमानाहरु भात्किनु पर्ने हो,मैले सपनाका चराहरुका पखेँटा उड्न खोज्नु अघी नै काटिदिनु पर्थ्यो, मैले कसैको घरको आँगनदेखी भान्सा अनि संघारसम्म मात्र आफ्ना पैतालाहरुलाई स्वतन्त्र छडिदिनु पर्थ्यो ।समयले यसरी आफ्नो रुप परिवर्तन गर्नु,हेर्दाहेर्दैका आँखाहरु फरक्क अर्को दिशातर्फ फर्किनु, आफ्नोलागी बोल्ने आवाज हरु नबुझिने भाषामा परिवर्तित हुनु अनि संवेदनाले बाटो मोड्नु यि सब मात्र मेरो उपस्थिति, मैले सहजताको आभाषको लागी गरेका पुर्वाग्रहका कारण हुन सक्छन् । सायद मैले हरेकपटक पाइला चाल्दा कसको इसारा ममा हावी हुन्छ त्यो बुझ्नु जरुरी थियो ।हैन नबुझ्नु पर्थ्यो कहिल्यै पनि - गलत यहिँ भयो ।
कुनै पनि विगत नभएको मान्छे,बा' आमा थिए पक्कै तर कुनै भाग्य नभएको मान्छे ।आफ्नै सोचाइ, काँचो विचार, अनि आफ्नै सपनाका आला घाउहरुले हुँदै नभएको भाग्य पनि लत्याएर हिँडेको केहि दशकपछी आफु आफैँभित्र भेटिनु पर्छ कि भनेर डराउँदै भाग्ने असफल कोसिस गर्नु गल्तिको अर्को प्रतिरुप हो । मलाई याद छ, थोरै होईन पुरै- स्पष्ट जसरी म हरेक दिन आफ्नै आँखाले कहिल्यै रुप नफेरिने यो मक्किएको झ्यालको पर्दालाई नविन स्पर्ष गर्छु उसै गरी सम्झ्नछु मैले आफ्नो आफैले बनाएको माटोको खेलौना घर जहाँ न म आफु अटाउँथे न कसैलाई पस्ने अनुमती दिन्थेँ ।बिडम्बना आज कसैले बनाइदिएको महलभित्र न म पस्न सक्छु न त्यो भिमकाय भित्ताहरुको सामना गर्न नै ।खुशी त म उतिबेला नै थिएँ सायद कमसेकम आफु न अटाउनुको पिडा कसैलाई सुनाउन त सक्थेँ । अहँ कुरा खुशी हुनु र नहुनु पनि होइन क्यारे यदी हो थिएछ भने त आज सम्झनाले मात्र भए पनि थोरै आँशुको मुल फुटाइदिन्थ्यो यि वर्षौँदेखी खडेरी लागेको आँखाहरुमा ।
लेख -भवना