गुन्युँचोलीमा पहिलोपटक आमाले मलाई हातमा रातो चुरा,आमा आफुले लगाएजस्तै बुट्टे फरिया, रातो ढाकाको चोली अनि टाउकोमा मेरो कपालभन्दा लामो रातै धागो लगाइदिएदेखि हो मलाई रातो रङ्ग खुब मन पर्न थालेको । रातोमाटोले लिपिएको सानो खोपाभित्र राखिएको बुवाले दारी काट्दा हेर्ने सानो गोलो ऐना लुकेर हेर्दा मलाई लागेको थियो निधारमा लगाएको सिङ्गो चन्द्रमा जत्रो मखमलको टिकाले मेरो पुरै अनुहारमै रातो रङ्ग पोखिदिएको छ ।अलिअलि समझना छ उतिबेला बुवाले टिका लगाएर मेरो हातमा थमाएको पाँच रुपैँयाको नोट पनि मेरो गाला जत्तिकै रातो थियो । कहिलेकाँही खेल्दाखेल्दै आँगनको अलिकती चुच्चो परेको ढुङ्गामा ठेस लागेर लड्दा घुँडाबाट निस्किने थोरै रगत देख्दा सोच्थेँ आबुइ!! मेरा गालाहरु, धेरै रुँदा रङ्ग परिवर्तन हुने आँखाहरु, आमाले हातैले बुनिदिएको उनीको स्विटर टाउकोमा हरेक दिन बाँधिने रिवन मात्र नभएर मभित्र पनि रातो केहि छ जसलाई म दुखाईहरुमा सुम्सुम्याउन सक्छु ।
हरेक बिहान घामले डाँडाबाट नचिहाउँदै मलाई उठाउनु हुन्थ्यो र सुन्तलाको फेदमा उम्रेकाेको दुबो टिप्न पठाउनुहुन्थ्यो, आफु चैं हातमा रातोमाटोको पोतारी बोकेर पुजा कोठा पस्नुहुन्थ्यो ।म भने कसैले नदेख्ने गरी मुसुक्क हाँस्दै ठुला सुन्तला फल्ने आशमा साँझ सुटुक्क पिसाब फेरेको ठाउँमा टेकिन्छ कि भन्दै दुबोका मुन्टाहरु चुड्न थाल्थेँ ।यसै बखत आफ्नो घुम्टो उघार्न तयार परेको घामको लाली हेर्दै सोच्थेँ कहिल्यै रातो हुन नजानेका मेरो कपालमा हाम्रो कैली गाईको रङ्ग जस्तो बिहानाको घामको रङ्ग थपक्क आएर बसिदिए हुन्थो नि ।
सम्झन्छु एकदिन कपाल बाँधेको रिबन फुस्किएर आमासङ्ग गनगन गरिरहँदा त्योभन्दा अघि कहिल्यै नदेखेका नराम्रा लामो अनि कालो दारी भएको एक जना र रातो डर लाग्दो आँखा भएको अग्लो अर्को मान्छे हाम्रो गोठको सुरदेखी नै बा'लाई नमस्ते गर्दै आएका थिए । ति मान्छे मलाई उसै नराम्रा भने लागेका हैनन्। मलाई मेरा बा पनि उति सारो राम्रा लाग्दैनन् आमा जति तर ति मान्छेहरु बाभन्दा नराम्रै हुन् ।मेरा बा हरेक बिहान पुजा गरेर निधारमा रातो टिका लगाउँछन् ,मलाई पनि लगाइदिन्छन् ।पोहोर साल फुपु दिदिले तिहारमा ल्याइदिनुभएको गुलाबी ढाकाको टोपी कहिल्यै छुटाउँदैनन् ।तर पहिलो पटक मेरा बा राम्रा लागे ति मान्छेका अगाडी ।
केहि दिनपछी घरमा छुट्टै रमिता लागेको थियो ।तल्लोघरे भाउजु , ठुली दिदि, कान्छी काकी अनि थुप्रो जना टिका लगाएर डोको बोकी बिहानै हिँडेका थिए साँझ सालघारिबाट टपरी गाँस्ने पातका भारी लिएर आए ।बा अनि काकाहरु केके नबुझिने कुरा गर्दै बजार गए र भारी का भारी सामान लिएर आए । गाउँभरिका ठुलोबा, काका, दाइहरु मिलेर घरपाखाको बडेमाको सालको रुख ठाले अनि दाउराको चाँङ लगाए ।म भने एकदम फुक्का भएको थेँ तर आमाले एकछिन घरबाट टाढा जान दिनुहुन्नथ्यो ।म भनेँ बाले बजारबाट ल्याउनुभएको ठुलो बोराको एक छेउमा औँलाले सानो प्वाल बनाएर भित्र देखिने रङ्गिचङ्गी राता बास्ना आउने लुगाहरु अनि आमाले लाउने जस्ता खै केके हो सामान हेरी बस्थेँ ।
केहि दिनपछिको एकदिन घरमा बिहानैदेखी मान्छेहरु आउजाउ गर्न थालेका थिए मन कम्ता फुरुङ्ग परेको होइन ।आहा!!घरभरी मान्छे मलाई आमाले सबेरै नुहाइधुवाइ गराएर जिउभरि कहिल्यै नलगाएका लुगाहरु,कानमा घाँटिमा आमाका पुराना तर चम्किने गहना लगाइदिनुभाे दिदिले आँखामा गाजल, टिका, अनि ओठमा रातो लिपिस्टिक पनि लगाइदिइन् । उतिबेला नै आँगनमा बाजासङ्गै नाच्दै एक हुल मान्छे आइपुगे । झ्यालको चेपबाट मैले हेर्दा अस्ती आफुलाई पटक्कै मन नपरेको जुँगावाला मान्छे त चिटिक्क सजिएर हाम्रा बाको जस्तै ढाकाको टोपी अनि केके केके लगाएर कार्पेसमा बसेका थिए ।यसरी लुकेर हेर्दा दिदिले मलाई गाली गरेकी थिइन् ।मलाई भने त्यो मान्छे राम्रो लागेको थियो ठ्याक्कै हाम्रो ठुलो भिनाजु जस्तै ।उहि मान्छेले त्यो दिन मेरो निधारभन्दा अलिक माथी ठ्याक्कै अामाले लगाउने जस्तै रातो सिन्दुर लगाइदिएको थियो, त्यतिबेला मलाई डरसङ्गै खुशी लागेको थियो ।पछी थाहा पाएँ उसै दिन मेरो बिहे भएको थियो । त्यसपछिका दिनहरुमा हरेक रात राता सपना देख्ने मेरो जिवन साँच्चै नै राताम्मे भएको थियो । जिन्दगीले रातो रङ्गको अर्को नाम पाएको केहि वर्ष पछी एक बिहान आफ्नो कम्मरमुनी रातो रङ्गले आफुलाई नुहाइदिएको भेटेकी थिएँ । यो सब देखेकी मेरी सासुले तानेर तुरुन्तै गोठमा पुर्याइदिएकी थिइन् ।हो त्यसै दिनबाट मलाई रातो रङ्गदेखी डर लाग्न थालेको ।पहिले हरेक बिहान बाले लगाइदिएको टिकाको रङ्ग अनि बिहानको घामले जन्माउने लाली एकै पटक म हुँदै कतै गैरहेझैँ लाग्याे ।
मलाई सिन्दुर लगाइदिने त्यो जुङ्गेवाल मान्छे जो सानो छँदा म आमासङ्ग सुतेझैँ मसङ्गै सुथ्यो र सासुआमाले उसलाई 'हजुर' भन्न लगाएकी थिइन् जुन मलाई पटक्क मन पर्दैन थियो ।एकदिन उनै हजुर आँगनमा बिँडी तान्दातान्दै हुलुक्क रगत बान्ता गरेर ढले अनि कहिल्यै उठेनन् ।जब सबै मिएर मैले हातभरी लागाएको रातो चुरा फुटाए,टाउकाको सिन्दुर पखालिदिए, घाँटीको रातो झुत्तो पोते चुँडाए, अनि अघिल्लो सालको तिज मा बाले ल्याईदिएको गुन्युँ खोल्न लगाएर तेस्रो धोती जस्तो सेतो-हैन रङ्ग हिन लुगा मलाई बेराइदिए, त्यस बखत म कान थुनेर चिच्याएकी थिएँ ।मेरा आँखाबाट एक हरेक रात सिरानी भिज्ने गरी आँशु झारेको थियो ।मान्छेहरु भन्थे रे ''सारै सोकमा परी सानै उमेरमा बुझ्ने भैछ, माया पनि उल्कै गर्थी ।''
मेरो जिन्दगीमा थपिएको अर्को रङ्ग जसलाई बचाउन हरेक महिना मलाई पहाड उचाले झैँ हुन्छ ।थाहै नपाइ यदाकदा मभित्रको बैमानी रातो रङ्गले मेरा फरियाको कुनै कुना रङ्गाइदिन्छ,सगैँ काउकुती लगाएर बिदा हुन्छ ।आज पनि मभित्रका हरपल मसगैँ हुने एक कलम रातो रङ्गले मैले बाँचेको सेफद समयमा आफ्ना राता सपनाहरु कोर्ने गर्दछु ।